
२२ कात्तिक, काठमाडौं । शनिबार (भाइटीका) को दिन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच धकेलाधकेल भएको छ । तर, दुबै पक्षले एक–अर्काका कारण घटना भएको दाबी गरेका छन् ।
लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगै नेपाल फर्किएका सीईओ रेग्मी र भन्सार चेकिङमा बसेका कर्मचारीबीच धकेला–धकेला भएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले डा. रेग्मीले हातपात गरेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डका सीईओ रेग्मीलाई त्रिभुवन भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । भन्सार कार्यालय प्रमुख महेश भट्टराईले भने, ‘म व्यक्ति को हो चिन्दिन, तर भन्सार कर्मचारीमाथि दुर्व्यवहार भएपछि जरिवाना तिराइएको छ ।’
पर्यटन बोर्डका सीईओ डा. रेग्मीले भन्सार कर्मचारीसँग विवाद भएको स्वीकार गरे । विमानस्थलमा अवतरण भएपछि कर्मचारीको तुच्छ व्यवहार र बोली सहन नसकेपछि आफूले आवाज उठाउन खोज्दा मापसे गरेको भन्दै आफूलाई फसाउन खोजेको उनले अनलाइनखबरसँग बताए ।
रेग्मीले भने भन्सार चेक पार गरिसकेपछि आफूलाई ‘तँ तँ म म’ भन्दै ‘त्यसलाई रोक’ भनेर कर्मचारीले तान्न खोजेपछि आफूले धकेलेको बताए । ‘अध्यागमनदेखि भन्सार कार्यालयसम्म हरेक दिन विमानस्थलमा जनताले सास्ती पाएका छन्, अरु सर्वसाधारणले बोल्दा कतै सुनिदैन, मैले बोल्न खोजे, इस्यू बनाइयो,’ उनले भने।
मलाई दुर्व्यवहार गरे : सीईओ रेग्मी
डब्लूटीएममा भाग लिएर मन्त्रीज्यू, सचिवज्यूसँग हामी विमानस्थलमा अवतरण गर्यौं । शनिबार बिहान ९ बजे हामी विमानस्थलमा आएका थियौं । मन्त्रीज्यूहरु भिआइपी रुटबाट निस्कनु भयो । निजी क्षेत्रका साथिहरु र बोर्डका साथिहरु गरि ६ जना हामी सँगै थियौं । विदेशबाट आउँदा एक जनाले एक बोतल रक्सी ल्याउन पाउने नियम अनुसार ड्यूटीफ्रीबाट ६ बोतल रक्सी पनि किनेर ल्याएका थियौं । म सीसीएमसी, अध्यागमन कार्यालय र भन्सार कार्यालय तीन वटै ठाउँको चेकजाँच पूरा गरी अगाडि बढिसकेको थिएँ । अरु साथीहरु पछाडि हुनुहुन्थ्यो ।
६ जनाकै रक्सीको ब्याग मैले बोकेको थिएँ । जब म भन्सारको चेकिङ पूरा गरेर अगाडि बढ्न खोजेँ, भन्सारका एक जना कर्मचारीले त्यसलाई समात, भन्दै तँ तँ म म बोल्दै मलाई रोक्न खोजे । त्यो क्रममा मेरो हातमा भएको ब्याग स्वीङ हुने क्रममा उहाँलाई धकेलियो ।
त्यसपछि कर्मचारीलाई निहुँ भइहाल्यो । हात हालियो भन्ने इस्यू बनाइयो । खासमा अन्य साथीहरुको रक्सीको बोतल मैले बोकेका कारण यो भन्सार विपरीत काम भएको भन्नुभयो । मैले यो मेरो मात्र होइन, अन्य साथीहरु इमिग्रेसनको लाइनमा हुनुहुन्छ, उहाँहरुको बोतल मैले बोकिदिएको हो भन्दा मेरो कुरा कसैले पनि सुनेन । त्यसपछि मलाई मापसे सेवन गरेको भनेर रिपोर्ट बनाइयो । मैले हवाइ यात्राभर मदिरा पिएको थिइन ।
१४/१५ घण्टा अगाडि होटेलमै पिएको थियो । तर, मलाई चेकजाँच नै नगरी कसरी मापसे पोजेटिभ रिपोर्ट बनाइयो, म छक्क परेँ । त्यहाँ प्रश्न गर्ने कोही थिएन । म पर्यटन बोर्डको सीईओलाई त के भएको हो भनेर स्पष्टिकरण दिने मौकै नदिई कारवाहीको भागीदार बनाइन्छ भने त्यो स्थानमा हरेक दिन पर्यटक र सर्वसाधारणले कति सास्ती पाउँछन् होला ?
सबैजना बोल्न सक्दैनन्, त्यसकारण चुपचाप कारवाही सहन्छन्, मैले त्यहाँको विकृतिबारे बोल्न खोज्दा कर्मचारीले उल्टो दोषारोपण गरिरहेका छन् । म नेपालमा पर्यटक र यात्रुलाई शिष्ट व्यवहार हुनुपर्छ भनेर सिकाउने निकायको प्रमुख छु । विमानस्थलमा भन्सार, अध्यागमनका कर्मचारीको व्यवहारकै कारण यो घटना भएको हो । मैले यसबारे मन्त्रीज्यू, सचिवज्यू सबैमा आजै ब्रिफ्रिङ गर्छु ।
प्रतिक्रिया 4