+
+

सर्वोच्च अदालत किन भयो एकाएक तनावपूर्ण ?

सर्वोच्च परिसरभित्रै कानुन व्यवसायीले गरे कोणसभा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा कोणसभा गर्न खोज्दा बिहीबार स्थिति तनावग्रस्त बन्यो ।
प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा केही कानुन व्यवसायी सामान्य घाइते पनि भएका छन्

कृष्ण ज्ञवाली रघुनाथ बजगाईं कृष्ण ज्ञवाली, रघुनाथ बजगाईं
२०७८ कात्तिक २५ गते १५:५६

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा कोणसभा गर्न खोज्दा बिहीबार स्थिति तनावग्रस्त बन्यो ।

प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गर्दा केही कानुन व्यवसायी सामान्य घाइते पनि भएका छन् । त्यसको विरोधमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध चर्को नाराबाजी गरे ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरेर घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत कानुन व्यवसायीले दुई हप्तायता सर्वोच्च अदालत परिसरको एक छेउमा धर्ना दिइरहेका थिए ।

बारको कार्यालयबाट क्यान्टिन छेउको ढोका प्रयोग गरेर सर्वोच्च अदालत परिसरमा प्रवेश गरी कानुन व्यवसायीले एक घण्टा धर्ना दिन्थे र, त्यसपछि बारकै प्रांगणमा फर्किएर प्रदर्शन र कोणसभा गर्थे । पछिल्ला दिनहरुमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको संख्या समेत बढाइएको थियो ।

कानून व्यवसायीहरुले सुरक्षाकर्मी बढाएकामा विरोध जनाउँदै बार परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका थिए । बिहीबार विहान पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिए । धर्ना सकिएपछि त्यहीँ कोणसभाको तयारी भयो । सर्वोच्च परिसरभित्र क्यान्टिन नजिक माइक अड्याउने पोडियम मिलाएर राखियो । माइक मिलाउन थालेपछि भने त्यहाँ खटिएका प्रहरी अधिकारीले माइक र पोडियम हटाउन आग्रह गरे ।

कानून व्यवसायीले पोडियम हटाउन इन्कार गरे । कानुन व्यवसायी र प्रहरीबीच करिब १० मिनेट यही विषयमा गलफत्ती चल्यो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेलले छेउमा कोणसभा गर्ने भन्दै सहयोग गर्न प्रहरीलाई आग्रह गरिरहेका थिए ।

केही कानुन व्यावसायीहरु शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै कराउन थाले । बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले कानून व्यवसायीलाई शान्तिपूर्वक बस्न र प्रहरीलाई एक कदम पछि हटेर सहयोग गर्न पटक–पटक आग्रह गरिरहे । बारका अन्य पदाधिकारीले सम्झाएपछि प्रहरी केहीबेर चुप लागेर बस्यो ।

प्रहरीले आदेश पाएपछि धकेलाधकेल

त्यहीबेला सर्वोच्च परिसरमा खटिएका प्रहरी अधिकारीले कसैसँग फोन संवाद गरे । त्यसपछि भने प्रहरी आक्रामक भएर आयो र पोडियम हटाउन थाल्यो । आक्रोशित कानून व्यवसायीलाई पनि प्रहरीले पोडियम निकाल्न थाल्नु बहाना बन्यो । प्रहरी पोडियम निकाल्न खोज्दै गर्दा कानुन व्यावसायीहरुले प्रहरीलाई धकेलेर धर्नास्थलको घेरा तोडे र सर्वोच्च अदालतको मूल गेटतर्फ अघि बढे ।

प्रहरीले कानुन व्यवसायीलाई रोक्न सामान्य लाठीचार्ज गर्‍यो । केहीमाथि लछारपछार समेत भयो । त्यस क्रममा आफूसहित ६ जना सामान्य घाइते भएका बार महासचिव पौडेलले बताए ।

महासचिव पौडेलका अनुसार बिहीबार सर्वोच्च अदालतको परिसर छेउमा कोणसभा गर्ने तयारी थियो । सोही अनुसार पोडियम राखिएको थियो । प्रहरीको हस्तक्षेपले परिसरको बीचसम्मै पुगेर कोणसभा गर्ने अवस्था बन्यो ।

सर्वोच्च परिसरको बीचमा कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरे । प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाए । उनीहरुले सोझै ‘भ्रष्ट प्रधानन्यायाधीश, राजीनामा दे’ भन्ने नारा लगाए । सर्वोच्च अदालतको मूल भवनबाट एनेक्स भवनतर्फ ओहोरदोहोर गर्ने क्रममा केही न्यायाधीशले आन्दोलनको दृश्य हेरेका थिए ।

शुरुमा हस्तक्षेप गरेको प्रहरीले पछि भने संयमता अपनायो । फेरि कानून व्यवसायीहरु उत्तेजित देखिए । प्रहरीले माइकिङ गरेर पछि हट्न पटक पटक आग्रह गर्‍यो ।
त्यतिञ्जेल सर्वोच्च अदालत परिसरमा प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोली पनि आयो ।

कानून व्यवसायीहरुले प्रधानन्यायाधीशलाई साथ दिने केही कानून व्यवसायीप्रति संकेत गर्दै ‘मतियारहरु होसियार’ भन्दै नारा लगाए । नाराबाजी केही मत्थर हुन थालेपछि सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य प्रदर्शनकारीको अघिल्तिर आए र मन्तव्य दिन थाले । उनले प्रधानन्यायाधीश जबरा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै राजीनामाको विकल्प नभएको बताए । अनि उनैले नाराबाजीको नेतृत्व गरे र भने, ‘भ्रष्ट प्रधानन्यायाधीश, राजीनामा देऊ ।’

त्यहीबेला बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई प्रधानन्यायाधीश जबराले भेट्नका लागि बोलाएको खबर आयो । धर्नामा बसेका कानून व्यवसायीहरुबीच त्यो सूचना तत्काल फैलियो । धर्नामा बसेका कानून व्यवसायीहरुले ‘एक्लै जान नहुने र सामूहिक निर्णय गर्नुपर्ने’ भन्दै खबरदारी गरे । उनीहरुले फेरि जबराविरुद्ध नारावाजी गरिरहे । अध्यक्ष श्रेष्ठले पनि आफू एक्लै नजाने बाचा गरे ।

आन्दोलनको समर्थनमा लौरो टेकेर आएका बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूले कुनै पनि न्यायाधीशका विरुद्ध यसरी नाराबाजी भएको नसुनेको बताए ।

‘हाम्रा पालामा त यस्तो हुदै हुदैनथ्यो । न्यायमूर्तिमाथि एउटा श्रद्धा र सम्मान प्रकट हुन्थ्यो । सामान्य विवाद आएपछि न्यायाधीशहरु अलग भइहाल्थे’ उनले भने, ‘अहिले त औंला ठड्याएर भ्रष्टाचारी भन्दासमेत लाजसरम छैन । यस्तो प्रधानन्यायाधीशले नेतृत्व गरेपछि कसरी न्यायपालिकाप्रति आम मान्छेको आस्था बढ्छ ?’

अरु कानून व्यवसायीले पनि नाराबाजीसहित विरोध प्रदर्शन गरेपछि बारका पदाधिकारीहरुले विरोधसभालाई सम्बोधन गरे । महासचिव लिलामणि पौड्यालले बिहीबारको हस्तक्षेपको विरोधमा शुक्रबार कुनैपनि मुद्दामा बहस नगर्ने घोषणा गरे । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले शान्तिपूर्ण आन्दोलनमा भएको हस्तक्षेपको विरोध गरे ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले सहयोगका लागि सुरक्षाकर्मीहरुलाई आग्रह गरे । उनले भने, ‘तपाईंहरुले हामीलाई रोक्नुभयो, (प्रधानन्यायाधीशतर्फ लक्षित गर्दै) भागेर विदेश जादैछन्, सक्नुहुन्छ भने रोक्नुपर्ने उनलाई हो । हामीलाई होइन ।’

उनले शुक्रबार विहान धर्नास्थलमै भेला हुन र प्रधानन्यायाधीश जबरा विरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन आग्रह गरे । उनले शुक्रबार पेशी तोक्ने काममा असहयोग गर्न सर्वोच्च अदालतका कर्मचारीहरुलाई आग्रह गरे । अनि इजलासमा नबस्न न्यायाधीशहरुलाई पनि अनुरोध गरे । अनि सुरक्षाकर्मीतर्फ फर्केर भने, ‘प्रधानन्यायाधीशज्यूलाई पदच्यूत गर्न भोलिदेखि सुरक्षाकर्मी साथीहरुले पनि धर्नामा बसेर साथ दिनुहोस् ।’

त्यसपछि कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको परिसरमा फर्किए । सर्वोच्च अदालत प्रशासनले सञ्चारकर्मीहरुलाई सर्वोच्च अदालत प्राङ्गणमा भिडियो खिच्न दिएको थिएन । भिडियो पत्रकारहरुले नेपाल बार एशोसिएसनको जालीयुक्त तारबार बाहिरबाट सर्वोच्च अदालत परिसरको दृश्य खिचेका थिए । बार प्राङ्गणमा भिडियो क्यामेरासहित पत्रकार देखेपछि कानूनव् यवसायीहरुले फेरि नाराबाजी र कोणसभा गरे । अनि विहीबारको विरोध कार्यक्रम टुंग्याए ।

तस्वीरहरु : विकास श्रेष्ठ र आर्यन धिमाल

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?