News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनामा सांसद रमेश मल्लले सरकारको शैलीलाई ‘जङ्गली राज’ भने।
- मल्लले यस्तो कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको बताउँदै सरकारको नियतमाथि प्रश्न उठाए।
- उनले सरकारले बचकाना र बहुलठ्ठीपूर्ण व्यवहार बन्द गरी विधिको शासन कायम राख्नुपर्ने बताए।
१२ असोज, काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मल्लले सरकारको यस्तो शैलीलाई ‘जङ्गली राज’ को संज्ञा दिए ।
सांसद मल्लले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित व्यक्तित्वमाथि मध्यरातमा गरिएको कारबाहीले लोकतन्त्र, संविधान र विधिको शासनको उपहास गरेको बताए ।
मल्लले यस्तो प्रतिशोधपूर्ण राजनीतिले भविष्यमा आफैंलाई समेत असर पार्ने चेतावनी पनि दिए ।
‘जहाँ संविधान, कानून र स्थापित विधि मानिँदैन, त्यस्तो राज्यलाई कानुनी राज भन्न सकिँदैन । यो जङ्गली राजको अभ्यास हो । महाअभियोग एउटा संसदीय प्रक्रिया थियो, त्यसको निरुपण संसद्को क्षेत्राधिकार भित्रको विषय हो । तर उज्यालोमा गर्न सकिने सामान्य कानुनी कामलाई मध्यरातमा धरपकडको शैलीमा किन गरियो ?,’ उनले भने ।
यसले सरकारको नियतमाथि प्रश्न खडा गरेको उनको नाइ छ ।
जनताले वर्तमान सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गरेको स्मरण पनि उनले गराए ।
‘आज सत्तामा रहेकाहरूले भोलि प्रतिपक्षमा बस्नुपर्दा वा सम्मानित नागरिकको भूमिकामा रहँदा यस्तै नियति भोग्नुपर्ला । तसर्थ, सरकारले यस्तो बचकाना र बहुलठ्ठीपूर्ण व्यवहार बन्द गरी विधिको शासन कायम राख्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4