+
+
साहित्य :

पहिलो पुस्तकको कथा : सबै प्रति प्रेसबाटै जफत गरियो

विद्रोहीले त्यही प्रेसमा आफ्ना पर्चा तथा पुस्तक छाप्ने गर्छन् भनेर सरकार पक्षले छापा मारेको रहेछ । दुर्भाग्यवश, त्यहीबेला मेरो पनि छापिएका सबै कविताका किताब जफत गरी जलाइएछ ।

अविनाश श्रेष्ठ अविनाश श्रेष्ठ
२०७८ कात्तिक २७ गते २०:२०

मेरो पहिलो पुस्तक प्रकाशनको घटना निकै रोचक छ । धेरै लेखकको जीवनमा यस्तो घटना नहुज पनि सक्छ तर मेरो जीवनमा भने पहिलो पुस्तकको संस्मरण अविष्मरणीय छ ।

सन् ७० को दशकमा दार्जिलिङमा ‘नेपाली साहित्य सञ्चयिका’ भन्ने प्रकाशन संस्था थियो । त्यसका संस्थापक शिवराज शर्मा आफैं घरघर गएर ग्राहक बनाई पुस्तक बिक्री गर्नुहुन्थ्यो । लेखकहरूलाई हौस्याएर पुस्तक प्रकाशन गर्नुहुन्थ्यो । साहित्यिक माहोल तयार पार्नुहुन्थ्यो ।

एकदिन शर्माजी गुहावटी आएको बेला मैले उहाँको लागि दुई सय जनाजति ग्राहक बनाइदिएँ । सहयोगपछि प्रशन्न भएर उहाँले ‘अविनाशजी तपाईले मलाई धेरै सहयोग गर्नुभयो यसका लागि धन्यवाद । म तपाईंको कवितासंग्रह प्रकाशन गर्न चाहन्छु भन्नुभयो ।’

त्यतिबेला म बिएस्सी अन्तिम वर्ष पढ्दै गरेको विद्यार्थी थिएँ । आफूले लेखेका कविताहरू जम्मा पारेर एउटा पाण्डुलिपि तयार राखेको थिएँ । शर्माजीको आग्रहलाई स्वीकार गरेर उहाँको हातमा त्यो पाण्डुलिपि थमाएँ ।

शर्माजी दार्जिलिङ फर्किनुभयो । मैले त दुईचार महिनामा मात्र प्रकाशन होला भन्ने सोचेको थिएँ । उहाँले एक सातामै कविता प्रेसमा पठाएर आठ थान नमुनो फर्मा पठादिनुभयो ।

चिल्लो कागजमा छापिएको ‘परेवा : सेता-काला’ को फर्मा पाउँदा म यतिविघ्न खुसी भएँ कि गुहावटी वरपरका साथीभाइलाई आफ्नो कवितासंग्रह छिटै प्रकाशन हुने बताएँ । चिनेजानेका सबैलाई आफ्नो कविताकृति आउन लागेको खबर सुनाउन भ्याएँ ।

तर कवितासंग्रह नै आउन त त्यो फर्मा कपि प्रेसमा गई छापिनुपथ्र्यो । जसका लागि केही समय लाग्थ्यो । उता शर्माजीले मेरो कवितासंग्रहसहित आफ्ना अन्य छाप्नुपर्ने पुस्तक बनारस नवेश्वरको दीपक प्रेसमा पठाउनुभएछ ।

प्रेसमा पनि धमाधम छाप्ने काम भइरहेको थियो । तर दुर्भाय के भयो भने, एकदिन प्रेसमा प्रहरीले छापा मार्यो । त्यतिबेला इन्दिरा गान्धीले संकटकाल लगाएको समय थियो । शंका लागेर सरकार पक्षले छापा मारेको रहेछ ।

संयोगले त्यहीबेला मेरो पनि छापिन लागेका किताबको फर्मा फेला पर्दा जफत गरी जलाइएछ । बनारसको प्रेसमा सबै किताब जफत भएपनि शर्माजीले मसँग उहाँले पठाएको असी पेजको नमुना कवितासंग्रह धेरै वर्षसम्म सुरक्षित थियो ।

यसरी १९७६ मा बजारमा जानुपर्ने पुस्तकको अध्याय समाप्त भयो । योबीचमा म साहित्यिक गतिविधि र लेखनमा सक्रिय भएँ । पुस्तक प्रकाशन गर्ने सोच यतिकै रहिरहेको थियो ।

सन् १९८१ को जुन महिनामा ‘हरिभक्त कटुवाल स्मृति ग्रन्थ’ प्रकाशन गर्न बनारस गएँ । त्यहाँ असमका मेरा पुराना मित्र डम्बरमणि प्रधानसँग भेट भयो । गफगाफ हुँदा प्रधानजीले भन्नुभयो, ‘अविनाशजी तपाईंको कवितासंग्रह प्रकाशन गर्न ढिला भएन र ? किन प्रकाशन नगर्नुभएको ?’

उहाँको प्रश्नले म झस्किएँ । लेखेका कविताहरू त निकै भइसकेको थियो तर संग्रह नै प्रकाशन भएको थिएन । यसैले मैले आफ्ना सबै किताब छापिँदाछापिँदै जफत भएको घटना उहाँलाई सुनाएँ ।

यता देहरादुनमा अखिल भारतीय नेपाली भाषा समितिको तेस्रो महाधिवेसन हुँदै थियो । त्यहाँ कवितासंग्रह पुर्याउन सकियो भने राम्रो संख्यामा बिक्री हुन्छ भनेर डम्बरमणिजीले जोड गरेपछि मेरो अर्को कवितासंग्रह प्रकाशन गर्ने तयारी सुरु भयो । मैले पनि कविताको प्रुफ हेर्न हुन्छ भनेर पाण्डुलिपि बोकेर बनारस गएको थिएँ ।
अन्ततः दुई सातासम्म डम्बरमणि प्रधानजीकै सक्रियतामा धमाधम कविता प्रकाशनको काम गरियो ।

‘संवेदना/ओ संवेदना’ नाम गरेको कवितासंग्रह ‘मणितारा’ प्रकाशन ग्वालपारा असमको नामबाट २२ सय प्रति छापियो ।

म कामविशेषले देहरादुनको महाधिवेसनमा जान सकिनँ । मलाई एकसय प्रति पुस्तक छाडेर डम्बरमणिजीले बाँकि पुस्तक देहरादुन लगेर बेचिदिनुभयो ।

समय बित्दै गयो । १९८४ मा ‘नेपाली साहित्य परिषद् असम’बाट मेरो जफत गरिएको पहिलो संग्रह ‘परेवा : सेता-काला’ प्रकाशन गर्ने भनियो । बल्ल मलाई राहत महसुस भयो कि, मेरो हातमा प्रेसबाट आइनपुगेको कवितासंग्रह फेरि आउने भयो ।

आज कसैले तपाईंको जीवनको पहिलो पुस्तक कुन हो भनेर सोध्दा झस्किन्छु । परेवा : सेता-काला भनौं कि संवेदना/ओ संवेदना पहिलो पुस्तक हो भनेर म छुट्याउन सक्दिनँ । अहिले ‘परेवाः सेता-काला’को दोस्रो संस्करण प्रकाशित भइसकेको छ ।

यो प्रसंग थाहा पाएपछि पाठकहरूले आफैं बुझ्नुहुनेछ भन्ने आशा गर्दछु ।

(कथाकार, कवि एवं साहित्यिक सम्पादक श्रेष्ठसँग निर्भीकजंग रायमाझीले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?