+
+

छायांकन नसकिँदै ‘आँधी तुफान २’का निर्माता र निर्देशकबीच खटपट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:५७

निषेधाज्ञापछि सबैभन्दा पहिले छायांकनमा गएको चलचित्र हो, ‘आँधी तुफान २’ । यो चलचित्रको एक गीतको छायांकनका लागि यसका निर्माता तथा लेखक मौनता श्रेष्ठ र चलचित्रका मुख्य कलाकारहरु भारतको गोवा पुगेका छन् ।

तर, निर्माता र कलाकार गोवा पुगे पनि निर्देशक मदन घिमिरेलाई भने यसको औपचारिक जानकारी छैन । अझ मदनलाई त गोवामा छायांकन भइरहेको गीतको भिडियोको कोरियोग्राफी कसले गरिरहेका छन् भन्ने पनि थाहा छैन ।

निर्माता श्रेष्ठले आफ्नो बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप गरेको निर्देशक घिमिरेको आरोप छ । ‘चलचित्रको छायांकनका क्रममा पनि उहाँले केही कलाकार परिवर्तन गर्नुभयो । तर, नेपाली चलचित्र क्षेत्र चलायमान बनाउनपर्छु भन्ने सोचेर मैले केही पनि बोलिनँ,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘उहाँले बारम्बार काम गर्ने क्रममा निर्देशकको काममाथि नै हस्तक्षेप गर्न खोज्नुभयो । अहिले चलचित्रको गीतको छायांकनका लागि गोवा पुग्नुभएको छ । यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गर्ने विषयमा मैले कुरा गरिसकेको थिएँ । तर, अहिले उहाँले कुन नृत्य निर्देशक लिएर गोवा पुग्नुभयो भन्ने मलाई थाहा छैन ।’

उनले मौनता श्रेष्ठले निर्माण गर्ने कुनै पनि चलचित्रको अब आफूले निर्देशन नगर्ने समेत बताए । यो चलचित्रको बाँकी कामको विषयमा निर्माता श्रेष्ठ नेपाल फर्किएपछि कुरा गर्ने उनको भनाइ छ । ‘मैले निर्माता संघ, निर्देशक समाजसँग पनि कुरा गरिसकेको छु । चलचित्रको सम्पादनको काम सकिएको छ । अब डबिङको काम मात्र बाँकी हो’ उनले अगाडि भने, ‘तर, मौनताजी नेपाल फर्किएर कुरा गरेपछि मात्र बाँकी काम अगाडि बढ्छ । उहाँले निर्देशकको बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप गर्नुभएको छ ।’

यता, नृत्य निर्देशक कमल राईले पनि गीतको कोरियोग्राफीका लागि आफूसँग निर्माता श्रेष्ठ र निर्देशक घिमिरेले २–३ चरणको कुरा गरेको बताए । उनले भने, ‘मैले नायिकाहरुको ड्रेसको डिजाइन समेत गरिसकेको थिएँ । गोवामा कुन शैलीमा भिडियो खिच्ने विषयमा पनि फाइनल कुरा भइसकेको थियो । तर, पछि मौनताजी र कलाकारको टिमलाई भारतको रेलमा देखेपछि आफैं छक्क परें ।’

राईले आफूले ३५ वर्षभन्दा लामो समय यो क्षेत्रमा बिताएको भन्दै लिखित सम्झौता गरेर काम नगरेको बताए । निर्माता मौनता श्रेष्ठले भने निर्देशक घिमिरेले लगाएको आरोपको विषयमा नेपाल आएपछि आफूले जवाफ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?