+
+

‘२८ पटक सर्वोच्च धाएँ, न्याय नपाएसम्म श्रीमानको शव उठाउन्नँ’

वीर अस्पतालदेखि सर्वोच्च अदालतसम्म २८ पटक जाउआउ गरिसकें । आज पेशी हुन्छ कि, भोलि भन्दै २८ चोटि गेटमा इन्ट्री गराएर अदालत छिरिसकें । खुट्टा सुन्निएर गाह्रो भएको छ । तर, अझैसम्म मुद्दा पेशीमा चढेको छैन ।

गंगामाया अधिकारी गंगामाया अधिकारी
२०८१ वैशाख १४ गते ११:१२

अपराधीहरूको प्रभाव र दबाबबीच विभिन्न अदालतबाट मेरो छोराको मुद्दा फैसला गर्दै त्यो अहिले सर्वोच्च अदालतमा आइपुगेको छ । सर्वोच्चमा पनि मुद्दा दर्ता भएको धेरै भइसक्यो । तर, अहिलेसम्म एकपटक पेशी चढेको छैन ।

छविलाल पौडेल भन्ने दोषी व्यक्ति डिल्लीबजार कारागारमा थियो । तर, बाबुराम भट्टराई र प्रचण्ड गएर छुटाए । अदालतमा कहिलेकाहीं पौडेलका छोरीहरू मलाई हेर्दै मुसुमुसु हाँस्दै हिंड्छन् ।

मैले गोरखा जान सक्ने अवस्था छैन । अपराधीले सबै कब्जा गरेर कुटेर हामीलाई लखेटेको हो । मैले पालेको १२ वटा पशुचौपाया पनि उनीहरूले मारे । मेरो छोरा खोसे । अहिले त्यहाँ कसरी जाने हो र ?

श्रीमान् नन्दप्रसाद अधिकारीको लास त्रिवि शिक्षण अस्पतालमा बाक्सामा बन्द गरेर राखेको छ । म वीर अस्पतालमा सधैं प्रहरीको निगरानीमा छु । मैले भात नखाएको १२ वर्ष भयो । दाल र दूध खान्छु । अहिले थाइराइड बढेर अर्थोक खान पनि सक्दिनँ । बरु कहिलेकाहीं जुस खान्छु ।

वीर अस्पतालदेखि सर्वोच्च अदालत मात्रै २८ पटक जाउआउ गरिसकें । न्याय माग्न मैले आज पेशी हुन्छ कि, भोलि हुन्छ कि भन्दै २८ चोटि बाहिर गेटमा इन्ट्री गराएर छिरिसकें । खुट्टा सुन्निएर कस्तो गाह्रो भएको छ । अझैसम्म मुद्दा पेशीमा चढेको छैन ।

तर, खुट्टा सुन्निएर गाह्रो छ । तैपनि खोच्याउँदै बस्दै हिंड्दै गरेर सर्वोच्च आउजाउ चाहिं गर्न सक्छु । टाढा आउजाउ गर्नुपर्‍यो भने गाडीमा जान्छु ।

बिदामा हजुरबा भेट्न जाँदा मारियो छोरो

मेरो बच्चालाई अपराधीले मारेको २४ जेठ २०६१ सालमा हो । त्यो दिन छोरा कृष्णप्रसाद अधिकारी (त्यसबेला १७ वर्ष) चितवनमा हजुरबुबा घनप्रसाद अधिकारीलाई भेट्न गएको थियो । एसएलसी दिएपछिको छुट्टीमा २१ जेठमा ऊ गोरखाको फुजेलबाट हजुरबुबा भेट्न गएको थियो ।

अनि, त्यो दिन घरबाट एक जोर जुत्ता किनेर ल्याउँछु भनेर ऊ चोकतिर निस्किएको रहेछ । त्यही चोकबाट पक्राउ गरेर कता हो, बयर खोलो भन्ने ठाउँमा लगेर हात भाँचिदिएर रडले हानेर, काँटी टाउकोमा ठोकेर अपराधीले मरणासन्न बनाएछन् ।

हात, खुट्टा भाँचेपछि ऊ त्यत्तिकै लडेछ । त्यसपछि बाइकमाथि चढाएर रगत नै रगत पारेका रहेछन् । यति बिजोग गरी मेरो बच्चालाई मारेका छन् नि ! रगतपच्छे बनाएर एकदम बिजोग बनाएर मारे ।

अहिलेसम्म अपराधीहरूले हस्तक्षेप गरेर मैले न्याय पाएको छैन । बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला सक्छौं भने मलाई गिफ्तार गर भनेर आफैंले भनेका थिए । तर, मैले मेरो गाउँका छविलाल पौडेल, भीमसेन पौडेल, पर्शुराम पौडेल, जानुका पौडेल, रामप्रसाद अधिकारी विरुद्ध जाहेरी दिएकी छु । तर, पक्राउ पर्दै भगाउँदै लैजाँदै गरे । उनीहरूकै सत्ता भएर निकाले ।

भट्टराई र प्रचण्ड गएर डिल्लीबजार कारागारबाट छविलाल पौडेललाई निकालेका हुन् । त्यतिबेला १३ जनालाई समातेर अनुसन्धानमा ल्याएर २४ दिन हिरासतमा राखेर धरौटीमा अपराधीहरूलाई छाडियो । कसैले २० हजार, कसैले २५ हजार रुपैयाँ तिरेर छुटे ।

अपराधीलाई जिताउँदै मेरो बिल्लीबाठ बनाएका छन् । म जस्तो पीडितलाई न्याय नदिई अपराधीलाई छुटाउनेलाई पनि म अपराधीको रूपमा हेर्छु ।

अनशनस्थलमै श्रीमान्को निधन

बुबाले २२ माघ २०६९ सालबाट काठमाडौंमा अनशन बस्न सुरु गर्नुभएको थियो । त्यतिबेलादेखि सँगै बसेको हो । बालुवाटारबाट प्रहरीले १६ साउन २०६९ मा जबर्जस्ती उठाएर हामीलाई त्रिवि शिक्षण अस्पताल लगेको थियो । त्यतिबेला इमर्जेन्सी भनेर टिचिङमा लगेको थियो ।

त्यतिबेला अस्पतालका निर्देशक डा.भगवान कोइरालाले अनशन बसेको मान्छेलाई यहाँ ल्याउने होइन, कहाँ लगेर माग पूरा गराउने हो त्यहाँ लैजाने भनेका थिए । शिक्षण अस्पतालमा नराखेपछि वीर अस्पतालमा बुलन्द थापा कार्यकारी निर्देशक थिए । उनले जिम्मा लिएर राखे । उनी पनि माओवादी समर्थक नै रहेछन् ।

जेहोस् एक वर्ष हुनलाई एक महिना बाँकी थियो, पानी पनि नखाएको । एकैदिनबाट नखाई बसेका थियौं, २३४ दिनमा बुबालाई मर्न बाध्य बनाइदिए । त्यतिञ्जेलसम्म दुवै जनाले केही नखाई अनशन बसेका थियौं । उहाँ ६ असोज २०७१ सालमा बित्नुभयो ।

म चाहिं के भयो, बाँचें । कपासबाट पानी चुहाएर ओठ भिजाएर बचाएको हो । यो इतिहास भनेर साध्य लाग्दैन । बुबाको वीर अस्पतालमा प्राण गइसकेपछि त्रिवि शिक्षण अस्पताल लगेका थिए । राख्न, थन्काउन, पोस्टमार्टम गर्न लगेका थिए होलान् ।

त्यतिबेला छोरो नुरप्रसाद अधिकारी न्याय माग्न अदालत गयो, त्यहाँ हुलदंगा गर्‍यो भनेर जेलमा हालेका थिए । मैले जसरी न्याय माग्न विभिन्न ठाउँ जान्छु भन्छु त्यसैगरी जेठो छोरा नुरप्रसाद अधिकारीले पनि आवाज उठाइराख्थ्यो । त्यही न्याय माग्यो भन्ने भएर उनीहरूले जेल हालेका हुन् ।

एकपटक धकेलाधकेल भयो, त्यसपछि हुलदंगा गर्‍यो, यसले शान्ति सुरक्षामा असर पर्छ भनेर सर्वोच्च अदालतबाटै समातेका हुन् । २८ महिना जेलमा राखेपछि पोहोर मात्रै उसलाई निकालेको हो । अहिले चाहिं कता सडकमा छ ऊ पनि । कहिलेकाहीं कुरा हुन्छ, के छ ? भन्छ, म पानी मात्र खाएर भए पनि मुद्दा लड्छु भन्छु ।

उसको मोटरसाइकल चलाउँदा ओढ्ने रेनकोट पनि लुटिएको थियो । भाइ मारेर ज्यान मार्ने अपराधीहरूले सुरुमा मोटरसाइकल पनि लगेका थिए । एउटा छोरा मात्र मारेर नपुगेर वर्षदिन पनि नपुग्दै फेरि मेरै भाइलाई अपहरण गरेर लिएर गएका थिए ।

मेरै छोरा नुरप्रसादले जानुका पौडेलको हातबाट खोसेर ल्याएको हो । मलाई सहयोग गर्‍यो भनेर तारो बनाएका थिए ।

‘न्याय नपाएसम्म शव उठाउन्नँ’

बुबा वितेका बेला म पनि साह्रै थिएँ । एक समय दूध, कहिले हर्लिक्स पानी, दाल चम्चाले हालिदिएर बचाएका रहेछन् । कपासले भिजाएर बचाएका रहेछन् । स्लाइन पानी छाडेका थिएनन् । मानवअधिकारकर्मी सुदीप पाठक लगायत आएर मलाई पानी हालेर बचाएका रहेछन् ।

६ असोज २०७१ मा उहाँ बित्नुअघि मेरो नजिकैको बेडमा राखेको थियो । मैले बोल्न नसके पनि आँखा हल्का हेर्न सक्थें । बुबाको प्राण गएको पनि देखें । पछि सुदीप पाठक, कनकमणि दीक्षित र सुबोध प्याकुरेलले मेरो बुढाको लास लगेका थिए । मलाई सोध्दा पनि नसोधी लगे ।

म रुन, चिच्याउन, कराउन सक्दिनथें । डाक्टर आएर केही भएको छैन है नानी भनिरहन्थे । बुबालाई केही भएको छैन भन्थे । सुशील कोइरालाको नेतृत्वमा सरकार भएका बेला कानुनमन्त्री नरहरि आचार्य थिए । म वीर अस्पतालको आईसीयूमै थिएँ ।

मलाई अनशन तोडाएको केही थाहा थिएन । १० हो कि ११ दिनपछि ओठामा नुनिलो नुनिलो भयो । छेउमा पुलिस नानी थिइन् । मैले मलाई के खुवाएको हो नानी भनें । ‘ल आमा तपाईंलाई त दाल खुवाएको हो नि’, भनिन् उनले । किन खुवाएको भनेर सोध्दा मानवअधिकारकर्मीहरू आएर बाबालाई के के भयो भयो, आमालाई बचाउनुपर्छ भनेर खुवाएको हो भनिन् ।

अहिलेसम्म थाहा पाउनुभएको छैन भनेर भनिन् । किन खुवाएको नखुवाउनुपथ्र्यो नि भन्दा ‘त्यत्रा ठूला मान्छेले नापेर अड्कलेर जानुभएको छ’ भनिन् । त्यस्तो गरेर बाँचें । अहिले बाँचेर आफैं नातिको कमाइ खाएर बस्नुपर्ने अवस्थामा छु ।

सर्वोच्चमा यत्तिका पटक जाँदा पनि कि बरु न्यायाधीशले न्याय दिन सक्दिनँ भनेर लेखिदिएहुन्थ्यो, बाबु । त्यसरी लेखेर दिए, म अन्तर्राष्ट्रिय अदालत जान्थें । यहाँ पनि म यसै भोकहड्ताल गरेर मर्ने, बरु त्यहीं गएर म अनशन बस्थें ।

उनीहरूले दिन्न पनि भन्न नसक्ने । न्याय दिन पनि नसक्ने । कसले छेकेर नदिएको हो । प्रचण्डले विज्ञहरूले बसेर वार्ता गरेर पेशी राख्नुपर्छ भनेका थिए रे ! विज्ञ भनेको को हो ? प्रचण्ड ? भट्टराई ? भनेर मैले प्रश्न गरेकी थिएँ ।

मेरो श्रीमान् बितेको १५ दिनजति भएको थियो होला, तत्कालीन कानुन मन्त्री नरहरि आचार्य आए । नहुनुथियो, भइहाल्यो । म कानुन मन्त्री हो । विश्वमा नभएको घटना भयो, तर बुढाको शव राखेर फाइदा पनि छैन । शवलाई सद्गति गर्नलाई हस्ताक्षर र ल्याप्चे गरिदिनुपर्‍यो भने ।

कानुन मन्त्रीले त्यसो भनेपछि मलाई के भयो भयो, मैले एकोहोरो बोलें– ‘यही छ कानुन नेपालमा ? सुरुमा मान्छे मार्ने अनि सम्मानका साथ श्रद्धाञ्जली चढाएर मलामी जाने भन्ने ?’ उनले सलामीका साथ सद्गत गरौं भनेका थिए । कानुन मन्त्री आउँदा उनका पीए, सल्लाहकार सबै गरेर आईसीयूभरि मान्छे नै मान्छे थिए । मैले यही छ कानुन नेपालमा ? भनेर सोधें ।

छोराको फोटोको माला लगाएर बसेकी थिएँ । मैले छोराको हत्यारालाई कारबाही गर भन्दा बुबाले मर्नुपर्ने भनेर सोधें । तपाईंहरू भएको भए मर्नुपर्थ्यो ? भनें ।

हामी दुर्गम ठाउँका अनपढ, गरिब भएकाले यस्तो गरेको ? बच्चा मार्नेलाई कारबाही गर भनेको हो हामीले । अरू केही मागेको छ ? धन, सम्पत्ति लेऊ भनेका थियौं ? मेरो बुढालाई के हैसियतले तिमी पोल्न आएको ?

मेरो बुढालाई म आफैं पोल्छु । मेरो बुढाले दिएको सिन्दुर पोते, म फिर्ता गरौंला भनेर पोको पारेर राखेको छु । बुढा मरेको दिनदेखि मैले मेरो चुरा र पोते खोलिदे भनेर राखेको छु । चढाउन जान्छु मेरो बुढालाई । तर, तिमी चाहिं मेरो बुढालाई पोल्छु भन्ने को हौ ? भनेर मैले भनें ।

मलाई न्याय देऊ । तिमी कानुन मन्त्री भए, कानुन मन्त्रीले अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्दैन ! एउटा छोरा मारे पनि अर्को छोरा छ । मेरै छोराले दागबत्ती दिन्छ । तिमीले दिनुपर्छ ? तिमी को हौ ? मलाई यस्तो भन्न आएछ । भगवानले बकाएको हो । त्यस्तो भन्नुपर्छ भन्ने पनि थाहा थिएन ।

कानुन मन्त्री आचार्य उभिएर हेरेर बसिरहे । अरू केही बाँकी छ ? घ्यू ल्याउनुभएको छ कि तेल ? अरू पनि केही भन्न बाँकी भए भन्नुहोला नत्र भने गए हुन्छ भनें । मैले अपराधीलाई कारबाही गर्न माग गरिरहेकी छु । उनी चाहिं सद्गत गर्नुपर्‍यो भन्ने । यस्तो गरेको छ अनि मलाई न्याय नदिई सद्गत गर्न खोज्ने ?

बुबालाई त्रिवि शिक्षण अस्पतालमा राखेयता म एकपटक पनि त्यहाँ गएको छैन । कहाँ लगेर राखेको छ ? कसरी राखेको छ ? कस्तो भएको छ ? मलाई केही थाहा छैन । देखेको छैन ।
कात्रो ओढाएर लगेको देखेको हो । त्रिवि शिक्षण अस्पतालमा लगेको पनि मानवअधिकारकर्मीहरूले भनेका छन् । छोरो पनि गएको छैन । पछिल्लो समय कसैले शव उठाउँ भन्न पनि आएको छैन । मलाई त न्याय चाहिएको हो ।

न्याय दिने वित्तिकै मेरो बुढाको लास म आफैं पोल्छु । न्याय त चाहियो नि पहिले ! न्याय मागेको लास हो नि त्यो ।

(छोराको न्यायका लागि अनशन बसेको अवस्थामा निधन भएका स्व. नन्दप्रसाद अधिकारीकी श्रीमती गंगामायासँग वीर अस्पतालमा अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?