काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।
बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।
सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4