+
+

भर्चुअल बैठकमा सीले बाइडेनलाई भने- मेरो पुरानो साथी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ९:५१

३० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङले आफूहरूको पहिलो द्विपक्षीय बैठक सुरु गरेका छन् ।

हाल भिडियो कन्फेरेन्समार्फत् बाइडेन र सीले कुराकानी गरिरहेका छन् । ताइवान, हङकङ र उइगुर मुस्लिमलाई लिएर जारी तनावबीच दुबै नेताले भर्चुअल बैठक सुरु गरेको अलजजिराले जनाएको छ ।

दुबै नेताबीचको भर्चुअल बैठक केही घण्टासम्म चल्ने बताइएको छ ।

बाइडेनले भर्चुअल बैठक सुरु गर्दै शक्तिशाली मुलुकका नेताको रुपमा चीन र अमेरिकाबीच जारी तनाव द्वन्द्वमा परिणत हुनबाट रोक्नुपर्ने जिम्मेवारी आफूहरूको रहेको बताएका छन् ।

बेइजिङबाट बाइडेनसँग कुराकानी गरेका सीले दुबै मुलुकसामु कैयौं चुनौती रहेको बताए । उनले बाइडेनलाई ‘मेरा पुराना साथी’ भन्दै सम्बोधन समेत गरेका छन् ।

प्रतिस्पर्धीको रुपमा रहेका अमेरिका र चीनले थप निकट भएर सहकार्य गर्नुपर्ने समेत सीको भनाइ छ । ‘चीन र अमेरिकाले संवाद र सहकार्य बढाउन आवश्यक छ’, सीलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

जनवरीमा बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि दुबै नेताले यसअघि २ पटक फोनमा कुराकानी गरिसकेका छन् ।

बाइडेन र सीबीच भर्चुअल बैठक हुनुपूर्व अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोनमा कुराकानी भएको थियो । उक्त कुराकानीमा चिनियाँ विदेशमन्त्री यीले ताइवान नै मतभेदको प्रमुख कारण भएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?