+
+

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउला ? के भन्छन् ट्रम्प ?

रावेल मोहिदिन रावेल मोहिदिन
२०८० चैत २३ गते १०:२६

काठमाडौं । डिजिटल बहस र सोसल मिडियाको क्षेत्रमा आफ्ना छोटो आकारका भिडियो तथा भाइरल ट्रेण्ड मार्फत् टिकटक वास्तवमा एउटा सांस्कृतिक परिघटनाकै रुपमा उदाएको छ । तथापि अमेरिकामा राष्ट्रिय सुरक्षाको कारणबाट टिकटकमाथिको सम्भावित प्रतिबन्धको हल्लाले यो एपको भविष्यमाथि बादल मडारिदिएको छ ।

तर अमेरिकामा टिकटमाथि पूर्णरुपमा प्रतिबन्ध लाग्ने सम्भावना चाहिँ कति छ ?

वास्तवमा अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले टिकटक बारेको आफ्नो रबैयामा गरेको १८० डिग्रीको युटर्नमा यसको उत्तर आश्रित हुनसक्छ ।

जब तत्कालीन राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश मार्फत् सन् २०२० मा अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने प्रस्ताव गरे तब त्यसलाई अनुचित भनिएको थियो, किनभने मेटा तथा एप्पलजस्ता दिग्गज अमेरिकी कम्पनीहरुले प्रयोगकर्ताका जस्ता विवरणहरु संकलन गर्दछन् टिकटकले पनि त्यसै गर्ने गरेको थियो ।

ट्रम्प प्रशासनको आरोप थियो कि टिकटकले संकलन गर्ने अमेरिकी प्रयोगकर्ताका विवरणहरु आफ्नो मातृ कम्पनी बाइटडान्स मार्फत् चीन सरकारलाई शेयर गर्दछ । तथापि त्यसको प्रमाण भने खासै थिएन । अझ रोचक त के भने फेसबुकको मातृ कम्पनी मेटाले टिकटकको कपीक्याटको रुपमा रहेको भिडियो शेयरिंग प्लाटफर्म रील्स सार्वजनिक गरेको भोलिपल्टै टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेश आएको थियो ।

ट्रम्पको त्यस्तो कदमबाट यस्तो प्रतित हुन्थ्यो कि एउटा डिजिटल किटाणुबाट पूरै अमेरिकी वातावरण खतरामा छ र त्यसलाई अस्वीकृति गर्नका लागि सबै एकजुट भएका छन् । तर टिकटक प्रतिबन्धको कदम कहिल्यै सफल भएन । त्यसपछि पनि अमेरिकामा टिकटक निरन्तर विस्तार भैरह्यो र लोकप्रिय अमेरिकी संस्कृतिको अभिन्न हिस्सा बन्नुका साथै संगीत, फेसन र मनोरञ्जनको ट्रेण्डलाई प्रभावित गरिरहेको छ । तर पछिल्लो दिनमा यसको एउटा ठूलो राजनीतिक प्रभाव परेको छ, जसले टिकटकमाथि प्रतिबन्ध लगाउने आव्हानको पुनरुत्थानसँग गहन सम्बन्ध राखेको देखिन्छ ।

पेउ रिसर्च सेन्टरको तथ्यांक अनुसार १८ देखि २९ वर्ष उमेर समूहका एक तिहाइ अमेरिकीहरुले नियमित रुपमा समाचारहरु प्राप्त गर्ने माध्यमको रुपमा टिकटकलाई नै लिने गरेका छन् । जसका कारण टिकटक युवाहरुका लागि निरन्तर रुपमा प्रभावशाली समाचार श्रोतका साथै अनलाइन सर्च इन्जिनको रुपमा स्थापित भैसकेको छ ।

यो वर्ष अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा १ करोड ६० लाख भन्दा धेरै मतदाताहरुले पहिलोपटक भोट हाल्दैछन् । एक अध्ययन अनुसार १८ देखि २९ वर्ष उमेरका ५ करोड ४० युवा मतदाताले पहिलो वा दोश्रोपटक चुनावमा भोट हाल्न लागेका छन् । उनीहरु निःसन्देह अधिक उदार छन्, जुन वर्तमान डेमोक्रेटिक दलको सत्ताका लागि सम्भवतः सुखद कुरा हो ।

जो बाइडेन र डोनाल्ड ट्रम्प

यो कुरा बाइडेनको चुनावी अभियानको एउटा कदमले पनि पुष्टि गर्दछ । युवा मतदातालाई आकर्षित गर्नका लागि फेब्रुअरीमा बाइडेनले टिकटक अकाउन्ट खोलेका छन् ।

मार्च महिनाको सुरुवातमै अमेरिकी तल्लो सदनले डेमोक्रेट तथा रिपब्लिकन दुबै दलका सांसदको समर्थनसँगै भारी बहुमतले एउटा विधेयक पारित गर्यो । उक्त विधेयक अनुसार आगामी ६ महिनाभित्रमा बाइटडान्स कम्पनीले अमेरिकामा टिकटकलाई बिक्री गर्नुपर्नेछ । अन्यथा टिकटकमाथि प्रतिबन्ध लगाइनेछ ।

हुनत रिपब्लिकन नेताहरुले ऐतिहासिक रुपमै अमेरिकी सुरक्षा उद्देश्यको प्राप्तिका लागि पैरवी गर्दै आएका छन् । तर आफ्नै पार्टीलाई स्पष्ट रुपमा फाइदा पूराउने एपलाई दबाउनका लागि डेमोक्रेटिक सांसदहरुले किन बल गरिरहेका छन् ?

यस सन्दर्भमा बाइडेनले हालै खोलेको टिकटक अकाउन्टमा तत्कालै आएका विरोधका स्वरहरुको बाढीलाई हेरौँ । उनको टिकटक अकाउन्ट खोल्ने बित्तिकै प्रयोगकर्ताहरुले गाजामा जारी इजरायलको आक्रमणका सन्दर्भमा अमेरिकी भूमिकाको विरुद्धमा विरोध बुलन्द पारे । ती प्रतिक्रियाहरु चुनावी अभियानको बाटोमा बाइडेनले भोगेका अवरोधहरुको डिजिटल अभिव्यक्ति मान्न सकिन्छ । त्यहाँ जो बाइडेनलाई ‘जेनोसाइड जो’ अर्थात् ‘नरसंहारकारी जो बाइडेन’ भनिएको छ ।

टिकटकमाथि नयाँ शिराबाट सुरु गरिएको जाँचको यो समयले राजनीतिक अभिप्राय तथा रणनीतिक चालबाजीका बारेमा प्रश्न खडा गरेको छ । यसलाई विशेष रुपमा अमेरिका वा विश्वभर नै असन्तुष्टिका आवाजहरुलाई चुप गराउने एउटा फराकिलो ढाँचाको हिस्सा ठानिएको छ ।

तर अवसरवादी रहेका ट्रम्प भने यो मौकालाई उपयोग गर्दै टिकटकको समर्थनमा उत्रिएका छन् र टिकटकमाथिको बन्देजले केवल मेटाको व्यापारलाई दोब्बर पार्ने उनको दाबी छ । अमेरिकी चुनावमा आर्थिक सहयोग गर्ने कार्यमा मार्क जुकरबर्गको संलग्नताको पृष्ठभूमिमा ट्रम्पले फेसबुकलाई प्रजातन्त्र माथिको खतरा बताउने गरेका छन् ।

तर यहाँनेर के सम्झनै पर्छ भने ट्रम्पले पहिलोपटक टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास त्यस्तोबेला गरेका थिए जतिबेला मेटाले टिकटकजस्तै भिडियो प्लाटफर्म रील्स सार्वजनिक गरेको एकदिन मात्रै बितेको थियो । त्यसैले यो प्रष्ट छ कि टिकटकका विषयमा ट्रम्पको युटर्न मेटालाई झनै राम्रो गर्नबाट रोक्नका लागि होइन कि आसन्न चुनावमा बाइडेनलाई राम्रो नतिजा ल्याउनबाट रोक्नका लागि हो ।

मत सर्भेक्षणहरुका अनुसार इजरायल प्यालेस्टाइन द्वन्द्वलाई लिएर खासगरी अमेरिकी डेमोक्रेट तथा युवापुस्ताको आमधारणामा उल्लेख्य परिवर्तन आएको छ ।

गाजामा इजरायलको जारी युद्ध सुरु हुनु अगावैबाट प्यालेस्टाइनीहरुको पक्षमा अमेरिकीहरुको बीचमा बढ्दो सहानुभूतिको ट्रेण्ड थियो । युद्धको फैलावटले यस्तो सहानुभूतिलाई बढाइदिएको छ । अक्टोबरदेखि नोभेम्बरको अवधिमा युवा अमेरिकी मतदाताहरुमा प्यालेस्टाइनीहरुप्रतिको समर्थन दोब्बरले बढेको छ । गजा संघर्ष निःसन्देह रुपमा बाइडेन प्रशासनका लागि एक चिन्ताजनक मुद्दा बनेको छ, जसले राजनीतिक परिदृश्यलाई अप्रत्याशित तरिकाले जटिल बनाइदिएको छ ।

प्यालेस्टिनीको पक्षमा न्यूयोर्कमा गरिएको प्रदर्शन

टिकटकले सरोकारवालाहरुलाई आफूले प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनहरुलाई बढावा नदिने भनेर आश्वस्त पारेको अवस्थामा बाइडेन प्रशासन भने एक अनिश्चित स्थितिमा फसेको छ र महत्वपूर्ण असर पार्ने एक द्विविधाको सामना गरिरहेको छ ।

यो निर्णयको समय यस्तो छ कि टिकटक बन्द गर्दा एउटा महत्वपूर्ण मतदाताको हिस्सालाई गुमाउने जोखिम छ भने टिकटकमाथि बन्देज लगाउने कार्यबाट पछि हट्दा इजरायलसँगको सम्बन्ध चिसिने सम्भावना छ । अझ टिकटकका विषयमा ट्रम्पको ठीक विपरीत अभिव्यक्तिले डेमोक्रेटहरुले सामना गरिरहेको दबाबलाई दोब्बर बनाएको छ ।

तल्लो सदनले पारित गरेको टिकटक प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षरका लागि राष्ट्रपति बाइडेन समक्ष पठाउनु अगाडि त्यसलाई डेमोक्रेटको बहुमत रहेको माथिल्लो सदन सिनेटले पारित गर्नुपर्नेछ ।

सिनेटमा बहुमत नेता चंक शुमरले इजरायलमा नयाँ चुनाव गर्न वा अछूत बन्ने जोखिम मोल्नका लागि गरेको आव्हान विवादित मात्र बनेको छैन त्यसलाई यो वर्ष हुने राष्ट्रपति चुनावका विषयमा डेमोक्रेटहरुको हतासालाई दर्शाएको छ ।

यस्ता चेतावनीहरु बाइडेन लगायतका शीर्ष डेमोक्रेटिक नेताहरुबाटै आउन थालेका छन् ।

निश्चित रुपमा, युवा मतदाताहरु डेमोक्रेटका लागि निकै महत्वपूर्ण छन् । वाक स्वतन्त्रता, खुल्ला बजार तथा अन्य बहानाको आवरणमा आफ्नो अभिप्रायलाई लुकाउने प्रयास गरेपनि सम्भवतः अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछैन ।

–साउथ चाइना मर्निङ्ग पोष्टबाट
(रावेल टर्कीको इस्तानबुलस्थित टिआरटी वल्र्ड रिसर्च इन्स्टिच्यूटमा कार्यरत शोधकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?