
१६ मंसिर, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युक्रेनविरुद्ध आक्रामक कदम चाल्ने रुसको योजना रहेको बताएका छन् ।
बुधबार लात्भियाको रिगामा सम्पन्न नेटोका विदेशमन्त्रीको बैठकपछि पत्रकारसँग कुरा गर्दै ब्लिङ्केनले युक्रेनविरुद्ध ‘महत्वपूर्ण आक्रमक कदम’ चाल्ने रुसको योजना रहेको बताएका हुन् ।
‘रुसले युक्रेनविरुद्ध महत्वपूर्ण आक्रामक योजना बनाएको प्रमाण भेटिएपछि’ अमेरिका निकै चिन्तित बनेको पनि ब्लिङ्केनको भनाई थियो ।
बिहीबार स्विडेनमा हुने युरोपेली रक्षा एवं सहयोग संगठन (ओएससीई) को बैठकका क्रममा ब्लिङ्केनले रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभसँग भेट्ने कार्यतालिका छ । ल्याभरोलाई भेट्नुभन्दा एक दिन अगाडि ब्लिङ्केनको अभिव्यक्ति आएको अलजजिराले जनाएको छ ।
पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध निकै तनावपूर्ण बन्दै गइरहेको छ । रुसले युक्रेनी सीमा नजिकै भारी मात्रामा सैनिक र अत्याधुनिक हतियार तैनाथ गरेपछि तनाव थप चर्किन पुगेको हो ।
तनाव चर्किँदै गएपछि दुवै मुलुकले एकअर्काका कुटनीतिज्ञलाई देश छोड्न भनेका छन् ।
बुधबार रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभाले विगत तीन वर्षदेखि मस्कोस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीलाई देश निकाला गरिने बताएकी थिइन् । अमेरिकाले २७ जना रुसी कुटनीतिज्ञलाई देश छोड्न भनेपछि रुसले पछिल्लो कदम चालेको हो ।
प्रतिक्रिया 4