
१९ मंसिर, काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।
पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै सिंहले अध्यक्ष मिश्रलाई कलेज तथा विश्वविद्यालयबाट राजनीति रोक लगाउन चुनौती दिएकी हुन् । शनिबार मिश्रले कार्यक्रम गर्दै कलेज तथा विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठन खारेज गर्ने बताएका थिए ।
उनले सडकमा अखिल क्रान्तिकारी, नेविसंघ, अखिल र समाजादी बिध्यार्थी यूनियनसहित दर्जनौ विद्यार्थी संगठनसहितका मुलुकको पौने एक करोड विद्यार्थीहरुको संगठनको तागतलाई कम नआक्न मिश्रलाई चेतावनी दिइन् ।
उनले भनिन्, ‘रवीन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वबिद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानरअघि उभिएर कलेज र विश्वविद्यालयबाट विद्यार्थी राजनिती हटाउने कुरा गर्नुभएछ । म चुनौतीका साथ भन्न चाहन्छु, सक्नुहुन्छ भने रोक लगाएर देखाउनुस्।’
अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले सम्हालिरहेको उनले जिकिर गरिन्। यसका साथै साझा विवेकशीलका अध्यक्ष मिश्रलाई विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न समेत सुझाव दिइन् ।
प्रतिक्रिया 4