
१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।
आइतबार राजेन्द्र लिङदेन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने वित्तिकै ‘म ठूलो भएँ’ भन्ने भावना पाल्न नहुने बताए । उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टी भित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए।
निवर्तमान अध्यक्ष लोहनीले एक वर्ष भित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभएपनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान संचालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए।
उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढने विश्वास समेत व्यक्त गरे । ‘हाम्रो उद्देश्य भनेको यो पार्टीलाई बनाउनु हो । यो पार्टीलाई राष्ट्रको एउटा अग्रणी शक्तिको रुपमा नेपालको रुपान्तरण गर्ने शक्तिको रुपमा स्थापित गर्नु हो ।’ निवर्तमान अध्यक्ष लोहनीले भने, ‘नेता हुने वित्तिकै म ठूलो भएँ। मैले भनेको जे पनि चल्छ, होइन । पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने। कार्यकर्तालाई नेताले माया गर्ने । म ठूलो, तँ सानो भनेर न्यूनिकरण गर्ने काम नगरौं ।’
निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4