+
+

लमजुङमा जिप पल्टिंदा ३ जनाको मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १३:३७

२३ मंसिर, पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका-८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गर्दा जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङका डीएसपी कृष्ण कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?