+
+

अब हरेक वर्ष ३ जनालाई ‘गण्डकी रत्न’ विभूषण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १८:०५

२८ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूबाट बर्सेनी ३ जनालाई गण्डकी रत्नले विभूषित गर्ने भएको छ ।

त्यसका लागि प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ गत सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

सुनचाँदी जडित गण्डकी रत्न सम्मान पाउने व्यक्तिलाई सरकारले सार्वजनिक समारोहमा प्रदेश सांसद् सरहको मर्यादा प्रदान भने स्वास्थ्य संस्थामा नि:शुल्क उपचार र आवश्यक परेमा संरक्षणसमेत गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

‘प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी आफ्नो क्षेत्रमा विशिष्ट योजना गरेको र सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा उदाहरणीय रुपमा कार्यसम्पादन गरेको व्यक्ति गण्डकी रत्नका लागि योग्य हुनेछ,’ कार्यविधिमा उल्लेख छ, ‘कुनै साहसिक वा वुद्धिमतापूर्ण कार्य गरी सार्वजनिक हितका लागि विशेष योगदान पुर्‍याएको हुनुपर्ने छ ।’

प्रदेश सरकारले विभिन्न ८ क्षेत्रका व्यक्तिलाई गण्डकी रत्न प्रदान गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि तथा सहकारी, उद्योग, ब्यापार, पर्यटन तथा वातावरण संरक्षण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, विज्ञान, प्रविधि सूचना सञ्चार तथा नवप्रवर्तन, भाषा, संस्कृति, साहित्य र कला, सार्वजनिक प्रशासन तथा सुशासन र समाजसेवा, सामाजिक समावेशिता, सामाजिक सद्भाव र मानव अधिकार संरक्षणमा काम गरेको व्यक्तिलाई गण्डकी रत्नका लागि छनोट गर्नेछ ।

गण्डकी रत्न पाउने व्यक्ति छनोटका लागि प्रदेश सरकारको वरिष्ठम मन्त्रीको अध्यक्षमा सिफारिस समिति गठन गर्ने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी दिए । सम्मान पाउने व्यक्तिले पाएको सम्मान मृत्युपश्चात परिवारले सरकारलाई फिर्ता गर्न सक्ने छन् भने अयोग्य ठहरिए सरकारले फिर्ता लिन पनि सक्ने कार्यविधिमा उल्लेख छ ।

प्रदेश सरकारले बनाएको सिफारिस समितिले छनोट गरेका तीन जनालाई सम्मान गर्ने मन्त्री खड्काले बुधबार जानकारी दिए । नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएबमोजिम विशिष्ट व्यक्तिलाई सम्मान गर्ने गरी कार्यविधि बनाइएको उनले बताए । त्यसमध्ये गण्डकी प्रदेशभित्र बसेर योगदान पुर्‍याउने प्रदेशकै तीन जना बासिन्दा हरेक वर्ष विभूषित हुने छन् ।

‘यसलाई प्रदेशकै ठूलो सम्मानको रुपमा व्याख्या गरेका छौँ,’ प्रवक्ता खड्काले भने । गण्डकी प्रदेश सरकारले यसअघि वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई सम्मान गर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?