+
+
साताका १० गीत  :

पछिल्लो साता युट्युबमा आए यस्ता गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १७:२७

९ माघ, काठमाडौं । पछिल्लो साता अघिल्लो साताको तुलनामा केही कम म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । रामप्रसाद खनाल, निशान भट्टराईदेखि शान्तिश्री परियार, अस्मिता अधिकारी, रचना रिमालसम्मको स्वर रहेका गीतहरु युट्युबमा आए ।

सार्वजनिक भएका म्युजिक भिडियोमा अभिनेता पल शाह, नाजिर हुसेनदेखि अभिनेत्री केकी अधिकारी, मोडल गरिमा शर्मासम्मको अभिनय रहेको छ । यद्यपि, सार्वजनिक भएका अधिकांश म्युजिक भिडियोले युट्युबमा राम्रो भ्युज पाउन सकेका छैनन् । चलेका कलाकारहरुको गीतको भ्युज पनि निकै कम छ । गत आइतबारदेखि शनिबारसम्म सार्वजनिक भएकामध्ये १० गीत यस्ता छन् ।

सुनिलको ‘तिमी आउँछौ कि भनी’ फिमेल भर्सनमा

गायक सुनिल गिरीले शुक्रबार ‘को होला त्यो २- तिमी आउँछौं कि भनी’ गीतको फिमेल भर्सन सार्वजनिक गरेका हुन् । उनले तीन वर्षअघि आफ्नै स्वरमा यस गीतको मेल भर्सन सार्वजनिक गरेका थिए, जसलाई स्रोता-दर्शकले निकै रुचाएका थिए ।

गिरीकै शब्द तथा संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको फिमेल भर्सनमा सुमन गुरुङको स्वर छ । सुनिल गिरीको कथा एवं कन्सेप्ट, अनिलकृष्ण मानन्धरको निर्देशन एवं छायांकनमा खप्तड राष्ट्रिय निकुञ्जमा मनोरम दृश्यहरुमा भिडियो छायांकन गरिएको छ ।

भिडियोमा अभिनेता पल शाह र मोडल कृष्टिना थापाको अभिनय छ । मनोज कार्कीको सम्पादन रहेको भिडियोले युट्युबमा राम्रै भ्युज पाइरहेको छ । आइतबार दिउँसोसम्म भिडियोलाई युट्युबमा ३ लाख ९२ हजार बढीले हेरिसकिएको छ ।

रमेश बीजीको शब्दमा मार्मिक गीत ‘आउन आमा’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बीजीको शब्द रहेको ‘आउन आमा’बोलको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो ।  गायक पशुपति शर्माको संगीत र विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा शान्तिश्री परियार र बाल गायिका आयुषा गौतमको स्वर छ ।

दुर्गा पौडेलको कन्सेप्ट तथा निर्देशनमा तयार भिडियोमा दृष्टिबिहीन भएका कारण बाबुआमाबाट सानैमा सडकमा अलपत्र छाडिएकी बालिकाको मार्मिक कथा प्रस्तुत गरिएको छ ।

भिडियोमा बालगायिका आयुषाले दृष्टिबिहीन बालिकाको रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । साथमा सुशील पोखरेल अन्शु महर्जन, डिसेन्ट पौडेल र सबिता पौड्यालको अभिनय छ ।

अजय रेग्मी, शिवशरण न्यौपाने र रोशन श्रेष्ठको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । आइतबार दिउँसोसम्म यस गीतको भिडियोलाई युट्युबमा ३ लाख ९० हजार बढीले हेरेका छन् ।

 

बाँचे आउँला फर्केर’मा टीका सानुको शब्द, शान्तिश्रीको स्वर

‘बाँचे आउँला फर्केर’ बोलको लोकदोहोरी गीतको भिडियो गत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । गायिका टीका सानुको शब्द रहेको यस गीतमा शान्तिश्री परियार र प्रदीप त्रिपाठीले स्वर दिएका छन् ।

गीतमा प्रदीप त्रिपाठीको लय, सञ्जीव न्यौपाने ‘समर’को थेगो, कृष्ण केसीको एरेञ्ज छ । कपिल लामा निर्देशनमा तयार भिडियोमा समीर न्यौपाने, साया भण्डारी, सुरेन्द्र लामिछाने, बालकलाकार खुशी गुरुङ, रिदिक रानाभाट लगायतको अभिनय छ । दैनिक ज्याला मजदुरी गरेर खुशीसाथ चलिरहेको परिवारमा दुर्घटनापछि श्रीमान अशक्त हुन्छन् । त्यसपछि श्रीमतीले परिवारका लागि गलत काम गर्न बाध्य भएको कथामा भिडियो निर्माण गरिएको छ । विपिन चौलागाईंको छायांकन, शिव पौडेलको सम्पादन रहेको भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा १ लाख २५ हजार बढी पटक हेरिएको छ ।

रचनाले ल्याइन् ‘उड्ने रहर’

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले शुक्रबार ‘उड्ने रहर’बोलको गीतको भिडियो आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमा सार्वजनिक गरेकी हुन् । उनले यसअघि ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत ल्याएकी थिइन् ।

किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत रहेको ‘उड्ने रहर’लाई राहुल प्रधानले एरेन्ज गरेका छन् । गायिका रचना स्वयं फिचरिङ भिडियोमा मिराज अर्यालको छायांकन, निर्देशन एवं सम्पादन छ । भिडियोलाई आइतबार दिउँसोसम्म ५६ हजार बढीले हेरेका छन् ।

 

अस्मिताको स्वर, केकीको अभिनयमा ‘जाले रुमाल’

पछिल्लो समयकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको पछिल्लो गीत हो, ‘जाले रुमाल’ । शुक्रबार सार्वजनिक यस गीतमा अस्मिता र गायक अशोक अर्यालको स्वर छ ।

मायाप्रेमको यो गीतमा डा. विष्णुमूर्ति भट्टराई र अशोक अर्यालको शब्द, राजु अर्यालको संगीत रचना, श्यामश्वेत रसाइलीको एरेन्ज छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक अर्यालको अभिनय छ ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा ५४ हजारले हेरेका छन् ।

 

लेखु र मेलिनाको स्वरमा ‘भकारी’

गीतकार तथा संगीतकार लेखु सहयात्री र गायिका मेलिना राईको स्वर रहेको ‘भकारी’ शीर्षकको गीतको भिडियो गत सोमबार सार्वजनिक गरिएको छ ।

अम्बिका गुरुङको शब्द, कोशिश क्षेत्रीको संगीत रहेको गीतलाई उदयराज पौड्यालले एरेन्ज गरेका हुन् । यो मायाप्रेमको गीतको भिडियोलाई निर्देशक शान थापाले पृथक बनाएका छन् । राजीव समीरको कोरियोग्राफी रहेको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल गरिमा शर्माको अभिनय छ ।

बुद्ध थापाको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । युट्युबमा यस गीतको भिडियोको भ्युज भने निकै कम छ । आइतबार दिउँसोसम्म भिडियोले २३ हजार मात्र भ्युज पाएको छ ।

 

प्रिन्स र रोशनी अभिनित ‘जित्यो मायाले’

धु्रव विस्को र सारिका घिमिरेको स्वर रहेको ‘जित्यो मायाले’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । सारिका घिमिरेको शब्द, धुव्र विस्कोको संगीत रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । प्रेमी प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएकोे परिणामको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

धुव्र विस्कोकै कथा तथा निर्देशनमा तयार भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । अभिनेता पुष्प खड्का भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । यस गीतको भिडियोले पनि युट्युबमा अपेक्षित भ्युज पाएको छैन । आइतबार दिउँसोसम्म भिडियोको भ्युज ३१ हजार छ ।

 

निशान भट्टराईको स्वरमा ‘गाउँकी छोरी’

निशान भट्टराई र निशु घिमिरेको स्वर रहेको ‘गाउँकी छोरी’ गीतको भिडियो गत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा भरत बस्नेतको शब्द, संगीत र एरेन्ज छ ।

मायाप्रेमको यो गीतको भिडियोमा अर्जुन सिलवाल, अञ्जली अधिकारी, राजेन्द्र गिरी लगायतको अभिनय छ । अर्जुन सिलवालको कोरियोग्राफी, भरत बस्नेतको निर्देशनमा तयार भिडियोलाई महेश महराले छायांकन र पदम सुवेदीले सम्पादन गरेका हुन् । यस गीतको भिडियोको भ्युज पनि युट्युबमा अपेक्षित छैन । युट्युबमा भिडियोलाई ३८ हजारले हेरेका छन् ।

 

रामप्रसाद खनालको सन्देशमूलक गीत

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक रामप्रसाद खनालले ‘तिम्री आमा, मेरी आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । केही साताअघि भजन गीत सार्वजनिक गरेका उनले गत शुक्रबार यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

खनालकै शब्द र स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत र एरेन्ज छ । गीतमा खनालले घरमा श्रीमान् र श्रीमतीहरूबीच तेरो र मेरो भन्ने भावनालाई प्रतिबिम्बित गरेका छन् । गीतले हरेक दम्पती जोडीलाई सन्देश दिन सफल हुनेछ भन्ने खनालको विश्वास छ ।

निर्मल शर्माको निर्देशनमा बनेको भिडियोमा गायक खनाल आफैं शीर्ष भूमिकामा प्रस्तुत छन् । त्यस्तै, कलाकार कमला रेग्मीले उनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । भिडियोलाई राजु केसीले छायांकन र गौतमराज खड्काले सम्पादन गरेका छन् । युट्युबमा यस गीतको भिडियोको भ्युज पनि कम छ ।

 

अर्जुन, पूजा लगायतको स्वरमा ‘पछ्यौरीले जाडो छेक्छ र ?’

गत सोमबार ‘पछ्यौरीले जाडो छेक्छ र ?’ बोलको दोहोरी गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा अर्जुन सापकोटा, पूजा देवकोटा, यज्ञ सापकोटा, रोशन बीसी र लक्ष्मी दाहालको स्वर छ । मायाप्रेममा आधारित यस रमाइलो गीतलाई दीपक पोखरेल, अभिषेक लम्साल र सरोज आचार्यले लेखेका हुन् । गीतमा महेन्द्र भण्डारीको संगीत तथा सुनिल परियारको एरेन्ज छ ।

मदन खड्काको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन सापकोटा, सोनिया पौडेल, टंक डुम्रे लगायतलाई देखाइएको छ । दीपक गिरीको छायांकन, अनिल रानाको सम्पादन रहेको भिडियोलाई अकलादेखि म्युजिकले प्रस्तुत गरेको हो । भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा १ लाख ३४ हजारले हेरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?