+
+

२५ वर्षीय युवकको अनौठो डलर धन्दा, ३८ करोड रुपैयाँको मुद्दामा मुछियो परिवार

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ ११ गते २०:५०

११ माघ, काठमाडौं । झण्डै ३५ दिनअघि राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी अनौठो सूचना पायो, ‘२५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।’

कच्चा सूचनाका आधारमा विभागले गरेको पाँच साता लामो अनुसन्धानले प्रविधिको प्रयोग गरेर नेपालमा हुने अवैध अमेरिकी डलर अपचलनको नयाँ खालको अपराध उदाङ्गो गरेको छ । जसलाई विभागका अनुसन्धान अधिकारीहरु नै अनौठो र अचम्मको घटना भन्छन् ।

नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर मोबाइल एप मार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको आरोपमा सोमबार राजस्व अनुसन्धान विभागले कैलालीका २५ वषिर्य युवक दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरवहादुर खड्का र केटी साथी अनिता धितालविरुद्ध जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्धा दर्ता गरेको छ । कुल ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

आरोपितहरुले तीन महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १०० सय नेपाली रुपैयाँलाई ३१ लाख २७ हजार ८९६.७९ सेन्ट डलरमा रुपान्तरण गरेर अनलाइनमार्फत स्रोत नखुलेको ठाउँमा भुक्तानी गरेको विभागले जनाएको छ ।

राष्ट्र बैंकको स्वीकृति नभएको अवैध कारोबारमा संलग्न भएको आरोपमा विभागले उनीहरुलाई तीन वर्षको जेल सजाय र सोही रकम बराबरको विगो भराउने माग दाबी गरिएको आरोप पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

एपमार्फत डलरमा अज्ञात भुक्तानी

दिनेश र उनको आफन्तको नेपाली बैंकमा रहेको खातामा विभिन्न व्यक्तिबाट भएको नेपाली रुपैयाँ निक्षेपलाई दिनेशले एपमार्फत डलरमा विनिमय गर्ने र स्रोत नखुलेको स्थानमा भुक्तानी गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइ छ ।

दिनेशको नाम र बैंक खाताबाट सुरु भएको अनुन्धान क्रमममा अचम्मको बैंकिङ कारोबार भेटिएको विभागका एक अधिकारीले बताए । ‘कुनै ठूलो आय स्रोत पनि नभएको र व्यापार व्यवसायमा पनि नलागेको परिवारका तीन जना र दिनेशको केटी साथीको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला पर्‍यो,’ ती अधिकारीले भने ।

ग्लोबल आइएमई बैंकमा रहेको दिनेशको खातामा ९ करोड ८९ लाख ९८ हजार ५८१ रुपैयाँ ७७ पैसाद र सोही बैंकमा रहेको उनका बुबा नरेशबहादुर खड्काको खातामा एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ ३५ पैसा रकम डिपोजिट भएको पाइएको विभागले जनाएको छ ।

यस्तै दिनेशकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खातामा २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र दिनेशकी केटी साथी अनिता धितालको नाममा लक्ष्मी बैंकमा रहेको खातामा ५ करोड ७७६ लाख ६ हजार ८२६ रुपैयाँ तीन महिनाको बीचमा डिपोजिट भएको देखिएको थियो ।

अनुसन्धानका क्रममा प्राप्त मोबाइल, ल्यापटप र अन्य प्राविधिक उपकरणअनुसार ती खातामा भएको रकमलाई दिनेशले ईस्क्रिल र बिन्यासमार्फत लोड तथा अनलोड गरी डलरमा भुक्तानी गर्ने गरेको भेटिएको थियो ।

कयौं मानिसहरुबाट आरोपितको खातामा नेपाली रुपैयाँ डिपोजिट भएको देखिए पनि त्यो रकम कुन प्रयोजनमा कहाँ भुक्तानी भयो भन्ने अझै अनुसन्धानको चरणमा रहेको विभागले जनाएको छ ।

‘स्वदेशमा कुन ठाउँमा वा विदेशमा कुन गेटवे प्रयोग गरेर यो रकम भुक्तानी भयो भन्ने कुनै तथ्य फेला परेको छैन, हामी अनुसन्धान गर्दैछौं,’ ती अधिकारीले भने ।

क्रिप्टोकरेन्सी कारोबारको आशंका

मुद्धा दायर भएका मध्ये मुख्य आरोपी दिनेशले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बीटक्वाईनको मूल्यबारे अधिक चासो व्यक्त गरेको देखिन्छ । बीट क्वाईनको मूल्यबारे उनले पटकपटक गरेको टीप्पणी र यो प्रकरणमा प्रयोग  भएको  एप विन्यासको प्रकृति मेल खाने विभागका अधिकारीहरुको आशंका छ ।

क्रिप्टोकरेन्सी कारोबारको भुक्तानी होकी हो कि भन्ने कोणबाट गरिएको अनुसन्धान पुष्टि हुन बाँकी रहेको र कारोबार तथा एसएमएस सूचनाहरु हेर्दा हुण्डी हो कि भन्ने आशंका गर्ने ठाउँ पनि बलियो देखिएको विभागले जनाएको छ । आरोपित पक्राउको २९ दिनभित्र मुद्दा बुझाउनु पर्ने बाध्यताले थप अनुसन्धान गर्न बाँकी रहेकाले अझै थप विषयहरु खुल्दै जाने विभागले जनाएको छ ।

अनुसन्धान रोक्न राजनीतिक दबाव

डलरको अवैध कारोबारमा संलग्न खड्का परिवार नेकपा एमाले सम्बद्ध भएको पाइएको छ । डलरको अपचलनमा संलग्न दिनेश नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाई सदस्य हुन् भने उनको बुबा नरबहादुर नेकपा एमालेको सुदुर प्रदेश कमीटी सदस्य हुन् ।

एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा नरबहादुर कैलालीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । यसअघि उनी कैलाली एमालेका निर्वाचित जिल्ला कमिटी सदस्य थिए ।

जिल्ला नेताको परिवार नै डलर अपचलनमा परेपछि अनुसन्धान फितलो बनाउन र मुद्दा रोक्न अनेकन दबाव दिइएको विभाग स्रोतले बतायो ।

‘अनुसन्धान प्रभावित बनाउन सबै हर्कत भयो, तर हामी प्रारम्भिक अनुसन्धान सकेर मुद्दा दर्ता गर्न सफल भयौं,’ एक अधिकारीले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?