+
+

बतासले होटल चलाएको धर्मशालाबारे अध्ययन गर्न अर्को समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते २०:१६

११ माघ, काठमाडौं ।  पशुपति क्षेत्रको ‘नेपाल-भारतमैत्री धर्मशाला’मा कानुनविपरीत चलिरहेको  बतास समूहको ‘आनन्द होटल’माथि  कस्तो कारवाही गर्ने भन्नेबारे सिफारिस गर्न अर्को  समिति गठन भएको छ । मंगलबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको बैठकले कोषका सदस्यसचिव मिलन थापाको नेतृत्वमा अर्काे समिति बनाएर थप छानबिन अघि बढाउने निर्णय गरेको  बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले यसमाथि छानबिन गर्न कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठन गरेको समितिले माघ ३ गते बुझाएको प्रतिवेदनमा धर्मशालामा सम्झौताविपरीत कार्य भएको र सम्झौता नै गैरकानुनी रहेकाले रद्ध गर्नुपर्ने ठहर गरिएको थियो ।

त्यतिबेला मन्त्री आले कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकोले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाइएको थियो । मंगलबार मन्त्रालयमा मन्त्री आलेको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकमा सो अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो । अन्तमा बैठकले सो सम्झौता र त्यहाँ भएका कार्यहरु र छानविन समितिको प्रतिवेदनमा थप अध्ययन गरेर कारवाहकिा लागि सिफरिस गर्न थापाको नेतृत्वमा अर्काे समिति गठन गरेको हो ।

मंगलबारको बैठकमा छानबिन समितिले यसअघि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको छानबिन समितिको प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको थियो । मन्त्रीको अध्यक्षतामा बस्ने सञ्चालक परिषद्ले सो प्रतिवेदनमा ठहर भएबमोजिम सम्झौता खारेज गर्ने प्रकि्रया अघि बढाउने एवम् बतास समूहसँग पनि यस विषयमा छलफल गरेर प्रतिवेदन बुझाउनको लागि थापाको अध्यक्षतामा समिति गठन गरिएको ती अधिकारीले जानकारी दिए ।

तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले बतास समूह अन्तर्गतको आनन्द होटलसँग धर्मशाला सञ्चालन गर्ने विषयमा सञ्चालक परिषद्सँग छलफल नै नगरी सम्झौता गरेका थिए । सो सम्झौता गैरकानुनी रहेको भन्दै छानबिन समितिले सम्झौता रद्द गर्न सिफारिस गरेको थियो ।

बताससँग सम्झौता हुँदा हालका सदस्यसचिव थापा कोषका कोषाध्यक्ष थिए । तत्कालीन पदाधिकारीको हिसाबमा छानबिन समितिको प्रतिवेदनले थापालाई पनि कुनै न कुनै हिसाबले दोषी ठहर गरेको छ । तर, अहिले सञ्चालक परिषद्ले उनै थापाको संयोजकत्वमा अर्का समिति गठन गर्ने निर्णय गरेको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?