+
+

थबाङ : क्रान्तिको किल्लादेखि शान्तिसम्म

युद्ध पर्यटनको गन्तव्य बन्न सक्छ थबाङ

मुलुकमा भएको जनयुद्धको ऐना हो, थबाङ । दशवर्षे जनयुद्धको मनोदशाको चित्रण हो । किनभने थबाङको बीचबाटोमा भेटिएका हरेक मानिससँग जनयुद्धका तीता भोगाइ छन् । युद्धका आ-आफ्ना कथा व्यथा छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ १५ गते १९:३२

१५ माघ, दाङ । सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार इलाका मात्र होइन, क्रान्तिको लालकिल्ला मानिन्थ्यो, रोल्पाको थबाङ । थबाङले दिएको आश्रयमा प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतका माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाए । थबाङलाई नै आधार बनाएर शुरु भएको सशस्त्र जनयुद्ध मुलुकभर फैलियो र १० वर्षसम्म चल्यो ।

स्वयं थबाङवासीहरु माओवादी जनयुद्धमा होमिए र शिखरमा पुर्‍याए भन्दा पनि हुन्छ । राज्य र विद्रोही पक्षबीचको लडाइँले युद्धभूमिमा परिणत भएको थबाङ अहिले भने शान्त छ । कुनै समय बन्दुक र गोला बारुदका गन्ध मात्र आउने थबाङका गाउँबस्तीमा १५ वर्षयता हिंसात्मक गतिविधि भएका छैनन् ।

माओवादीको आधार इलाका 

जनयुद्ध शुरु हुनुअगावै माओवादीले रोल्पा र रुकुमलाई आधार बनाएर क्रान्ति गर्ने तयारी गर्दै विभिन्न अभियान चलाइरहेको थियो । २०५० सालदेखि नै माओवादीले रोल्पालाई आधार इलाका बनाउने रणनीति थाल्यो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०५२ सालमा ‘अप्रेसन रोमियो’ शुरु गर्‍यो । जसले माओवादी विद्रोह बढाउन सघाउ पुगेको मानिन्छ ।

युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउँदाको पीडा थबाङवासीसँग छ । द्वन्द्वले बनाएको आलो घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् । न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ ।

माओवादीले आधार इलाका बनाएपछि थबाङमा सरकारले सुरक्षाफौज पठायो । सुरक्षाकर्मीले थबाङबासीलाई विद्रोहीको नजरले हेर्न थाल्यो । आफूहरुमाथि प्रहरीको ज्यादती बढ्न थालेको उनीहरुले महसुस गर्न थाले । जसका कारण राज्यपक्षमाथि क्रुद्ध बन्दै थबाङवासीले माओवादी विद्रोहलाई सघाउन थाले ।

‘थबाङ इतिहास नै कहिले अन्याय नसहने छ,’ थबाङका कम्युनिष्ट नेता जयप्रकाश बुढा भन्छन्, ‘सत्ताले जब-जब अन्याय गर्न खोज्यो, तब-तब थबाङ सधैं त्यसको विरुद्धमा विद्रोह गर्न तयार भयो ।’ क्रमशः माओवादी बढेपछि थबाङ आधार इलाका बन्न पुग्यो ।

माओवादीको आधार इलाका भएकाले सुरक्षाफौजको नजर सधैं थबाङमा हुन्थ्यो । त्यही कारण युद्धकालीन अवधिभर थबाङमा पटक-पटक सैन्य अपरेसन भए । ‘राज्यका सुरक्षाफौजको तारोमा गाउँलेहरु पर्न थाले,’ कम्युनिष्ट नेता बुढा भन्छन्, ‘पटक-पटक गाउँलेमाथि ज्यादती बढेपछि यसले विद्रोहको रुप लियो । सुरक्षाफौजका ज्यादतीबाट गाउँलेहरू सत्तासँग आक्रोशित भए । त्यसले जनयुद्धलाई ठूलो रुप दिन सघाउ पुर्‍यायो ।’

उनकाअनुसार त्यसबेला सुरक्षाफौजको मानसिकता यस्तो थियो कि उनीहरु थबाङलाई माओवादीको गाउँ भन्थे । ‘युद्ध चर्किंदै गएपछि गाउँमा बस्ने अवस्था आएन,’ थबाङका युवा व्यापक बुढा सम्झन्छन्, ‘कतिबेला प्रहरी र सेनाबाट मारिने हो वा बेपत्ता पारिने पत्तो नहुने राज्यको दमन बढेपछि कि जनयुद्धमा लाग्नुपर्ने भयो कि गाउँ छाडेर भाग्नुपर्ने भयो ।’ ज्यान जोगाउनुपर्ने अवस्था आएपछि थुप्रै युवाले विद्रोहले बाटो समातेको र केहीले भने गाउँ नै छाडेको उनी बताउँछन् ।

शान्तिपछिको थबाङको नयाँ रुप

२०५२ सालमा शुरु भएको माओवादी सशस्त्र द्वन्द्व एक दशक चल्यो । २०६३ मंसिर ५ गते सरकारसँग भएको शान्ति सम्झौतापछि माओवादीले बन्दुक बिसायो । मुलुकमा संविधानसभाको निर्वाचन भयो । संविधानसभाले मुलुकबाट राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निर्णय गर्‍यो ।

युद्धका क्रममा थबाङमा मात्रै ३३ जनाले ज्यान गुमाए । माओवादीको आश्रयस्थल भनिएकाले युद्धकालमा राज्यपक्षको निशानामा यहाँका बासिन्दा परेको थबाङ गाउँपालिका-५ का वडाध्यक्ष वसन्त रोका मगर बताउँछन् । ‘थबाङमा त्यस्तो कोही छैन, जोसँग युद्धको घाउ नभएको होस्,’ उनी भन्छन्, ‘युद्धमा हरेकले परिवारले कोही न कोही, केही न केही गुमाएका छन् ।’

युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउँदाको पीडा थबाङवासीसँग छ । द्वन्द्वले बनाएको आलो घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् । न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ ।

१० वर्षसम्म कहिले जंगलमा लुक्दै त कहिले युद्धमा सरिक हुँदै हिँड्न बाध्य भएका थबाङका बासिन्दाको दिनचर्या हिजोआज भने पूरै बदलिएको छ ।

एक दशकसम्म जंगलमा लुकेर र भागेर हिंड्न बाध्य भएका यहाँका बासिन्दा शान्ति सम्झौतापछि सामान्य जीवनमा फर्किएका छन् ।

नयाँ संविधान जारी भएसँगै मुलुक संघीयताको अभ्यासमा छ । मुलुकका अन्य भूभागमा जस्तै थबाङमा विकास र अन्य आर्थिक गतिविधि भइरहेका छन् । नमुना शान्ति गाउँ, होमस्टे, गुरिल्ला ट्रेकिङ, शहीद मार्ग जस्ता विकासका कार्यक्रमले युद्धले छियाछिया बनेको थबाङको मुहार नै फेरिएको थबाङ होम स्टे समितिका अध्यक्ष धपलाल पुन बताउँछन् ।

‘युद्धले क्षति मात्रै होइन विकास पनि ल्याएको छ,’ उनले भने, ‘जनताको जीवनस्तर नै बदल्ने परिवर्तन नआएपनि विगतको थबाङ हेरेर अहिले केही विकास भएको भन्न सकिन्छ ।’

राज्यबाट जहिल्यै उपेक्षित थबाङमा शान्ति प्रक्रियापछि बाटो पुगेको छ । माओवादी नेतृत्वमा शुरु भएको शहीद मार्गले दाङ-रोल्पालाई जोडेको छ । त्यसअघि बाटो नपुगेको थबाङमा अहिले गाडीसम्म पुग्न थालेपछि सहज भएको पुनले बताए ।

यता शान्ति नमुना गाउँ अन्तर्गत अहिले थबाङको ठूलो गाउँमा सडकमा ढुंगा बिछ्याइएका छन् । बस्तीका सडकमा विछ्याएका ढुंगा हरेक घरसँग जोडिएका छन् । युद्धमा ज्यान गुमाएका शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण गरिएको छ ।

आन्तरिक र वाह्य पर्यटन भित्र्याउन गाउँमै १२ वटा होमस्टे सञ्चालन गरिएको अध्यक्ष पुन बताउँछन् । ‘रोल्पा प्राकृतिक सम्पदाले सम्पन्न छ । नजिकै जलजला छ । पर्यटन प्रवर्द्धन गर्न थुप्रै सम्भावना छन्,’ उनी भन्छन्, ‘युद्ध अध्ययन क्षेत्रका रुपमा पनि विकास गर्न प्रशस्त्र ठाउँ छन् ।’

थबाङ युद्धभूमिमा परिणत भएकाले यसबारे बुझ्न चाहने पर्यटकका लागि उचित गन्तव्य बन्न सक्छ । माओवादी सशस्त्र द्वन्द्वका कथा सुन्न र द्वन्द्वग्रस्त संरचना हेर्न थबाङ पुग्नैपर्ने हुन्छ । यस अर्थमा मुलुकमा भएको १० वर्षे माओवादी जनयुद्धको ऐना हो, थबाङ । दशवर्षे जनयुद्धको मनोदशाको चित्रण हो । किनभने थबाङको बीचबाटोमा भेटिएका हरेक मानिससँग जनयुद्धका तीता भोगाइ छन् । युद्धका आ-आफ्ना कथा व्यथा छन् ।

 

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?