+
+
मन्थन :

यो विश्वास र बहस होइन, बोधको युग हो

वैज्ञानिक निल्स बोहर र वर्नर हाइजेन्वर्गले पूर्वका योगीहरूसँग समस्याका विषयमा परामर्श गरे । योगीहरूले उनीहरूलाई ‘शून्य’को अर्थ बोध गराए । तब भौतिक विज्ञानमा क्रान्तिकारी संश्लेषण भयो । यसले भौतिक विज्ञानको ३०० वर्ष पुरानो बहसलाई समाप्त पारिदियो ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ माघ १७ गते १०:४४

जीवन मूल्यको आधारमा संसारमा दुई खालका मानिस छन्– योगी र भोगी । योगी ती हुन् जसले भौतिक सुखलाई जीवनको ‘साधन’ र आत्मिक सुखलाई ‘लक्ष्य’ मान्दछन् । भोगी ती हुन् जसले भौतिक सुखलाई नै ‘साधन’ र ‘लक्ष्य’ दुवै मान्दछन् ।

भोगीहरू दुई खालका छन् । पहिलो खाले भोगीहरू परलोक भोग (स्वर्ग) लाई लक्ष्य मान्दछन् । दोस्रो खाले भोगीहरू इहलोक भोग (भौतिक सुख) लाई लक्ष्य मान्दछन् । पहिलो खाले भोगीहरू ‘विश्वास’ लाई आदर्श मान्दछन् । दोस्रो खालेहरू ‘बहस’ लाई ।

विगत ३०० वर्षयता विश्वमा भोग दर्शन नै हावी छ । त्यसैले यहाँ कि त ‘विश्वास’ ले मान्यता पाइरहेको छ कि त ‘बहस’ ले । यो वा त्यो प्रकारका भोगी धारणालाई नै ‘वैज्ञानिक’ मानिएको छ । विश्व विद्यालयहरूमा त्यही सुगारटाई चलिरहेको छ ।

तर रोचक कुरा के हो भने मानवीय ज्ञानको खोज अब भोगीहरूको वरिपरि छैन । यो योगीहरूको वरिपरि घुम्न थालेको छ । सारा वैज्ञानिक खोजहरू योगीहरूको वरिपरि घुम्न थालेका छन् । परिणामतः ‘विश्वास’ र ‘बहस’ को ठाउँमा ‘बोध–ज्ञान’ बारे चर्चा हुन थालेको छ । अर्थात् युगले विश्वास र बहसबाट ‘बोधको युग’ मा फड्को मारेको छ । युग परिवर्तनको यो रहस्य थाहा नपाई अब कोही पनि आधुनिक बन्न सक्दैन ।

शाब्दिक अर्थ

सामान्यतया ‘विश्वास’ र ‘बहस’ फरक अर्थ बोकेका शब्द हुन् जस्तो लाग्छ । गहिराइमा यिनीहरू समानार्थी हुन् । विश्वास एक किसिमको समझदारी हो, जसलाई कुनै विषयबारे भित्रैदेखि जानकारी छैन, तर अस्पष्टताकै बीच स्वीकारोक्ति जाहेर गर्न चाहन्छ भने त्यो विश्वास हो । जस्तो कि ईश्वर छ कि छैन ? त्यो ईश्वरवादीले प्रत्यक्ष जानेको हुँदैन । तर उसले मानी दिन्छ । तब त्यो विश्वास भयो ।

बहसमा पनि यही हुन्छ । बहसको स्रोत मानवीय बुद्धि हो । बुद्धिले हरेक कुरालाई द्वैतमा विभाजित गरिदिन्छ । बुद्धिसम्मत ज्ञान जहिल्यै एकाङ्गी हुन्छ । त्यसैले, बहसवाला व्यक्ति अल्पज्ञानी नै हुन्छ । परिणामतः उसका अडानहरू कहीं न कहीं विश्वासमै आधारित हुन्छन् । विश्वासको झिनो त्यान्द्रो समाएर नै ऊ बहस गर्न तम्सिएको हुन्छ । फरक यति हो कि विश्वासले समर्थनमा र बहसले खण्डनमा जोड गर्दछ । यो बाहेक विश्वास र बहस समानार्थी शब्द हुन् ।

बुद्धि (बहस) र बोध बीच आधारभूत अन्तर छ । यो आगो छोयो भने पोल्छ भन्ने बौद्धिक समझदारी र साँच्चै आगोले पोलेपछिको अनुभूतिबीचको फरक जस्तै हो । बोधज्ञान मूलतः अनुभव वा अनुभूतिमा आधारित हुन्छ । मनुष्यले चेतनाको बुद्धिसम्मत तहलाई ‘अतिक्रमण’ गर्दा पैदा हुने अवस्था नै बोध हो ।

बोध ज्ञानको एउटै शर्त छ, विश्वास र बहसभन्दा माथि उठ्दा मात्र यो हासिल हुन्छ । अर्को भाषामा भन्दा मानिसले जति धेरै बुद्धिलाई ‘विघटन’ गर्दछ, त्यति नै बोध ज्ञानको नजिक पुग्दछ । जब मानिस बोध अवस्थासम्म पुग्छ तब विश्वास र बहस, दुवै निरर्थक हुन पुग्छन् ।

यसको दोस्रो शर्त, बोध ज्ञान साधारण भाषामा व्यक्त गर्न असम्भव हुन्छ । यसका लागि कथा, बिम्व प्रतीक जस्ता साधनको सहारा लिनु जरूरी हुन्छ ।

भोगीहरूको शास्त्रमा बुद्धिसम्मत ज्ञानको मात्र चर्चा छ । त्यसैले उनीहरूका लागि बोध ज्ञान असम्भव कुरा हो । सय वर्ष अघिको विज्ञानले पनि यसै भन्थ्यो । तर आधुनिक विज्ञानले बोध ज्ञानको अवधारणा स्वीकार गर्न थालेको मात्र होइन, बोध–ज्ञान नै वास्तविक ज्ञान हो भन्न थालेको छ । वैज्ञानिकहरूका नव आविष्कारहरूमा बोध–ज्ञान अनिवार्य जस्तो देखिन थालेको छ । त्यसैले आजको युग विश्वास र बहस होइन, बोधको युग हो । विधागत क्षेत्रमा यो तथ्य कसरी अभिव्यक्त भइरहेको छ ? हेरौं ।

भौतिकशास्त्र

संसार एक तत्वले बनेको हो कि बहुतत्वले ? शास्त्रीय विज्ञानले यो प्रश्नलाई कुनै टुंगोमा पुग्ने गरी जवाफ दिनसकेको थिएन । त्यसैले यो बहसको विषय बनेको थियो । संसार एक तत्वले बनेको भनेर मान्नेहरू बीचमा फेरि अर्को बहस थियो– कुन कण मूल हो ?

संसारको अन्तिम परिणति के होला ? यो प्रश्नमा पनि भौतिकशास्त्रीहरू दुई कित्तामा विभाजित थिए । शास्त्रीय तापगति विज्ञानका पक्षधरहरू संसारको गतिशीलता एउटा विन्दुमा पुगेर विराम लाग्छ भन्दथे । ‘उद्विकासवादी’ हरू संसार सदाकाल गतिशील भइरहन्छ भन्दथे ।

उन्नाइसौं शताब्दीको अन्त्यसम्म यो विवाद चलिरह्यो । तर बीसौं शताब्दीको शुरूआतसँगै यस्ता बहस निरर्थक सावित भए । विज्ञानले संसार एकतत्व वा बहुतत्व दुवैबाट बनेको होइन, बरु ‘शून्य’ बाट संसार प्रकट हुन्छ र पुनः ‘शून्य’ मै विलय हुन्छ भनिदियो । पदार्थ कुनै पनि चिजको जननी होइन, बरु ‘शून्य’ चाहिं हरेक चिजको जननी हो भन्यो । यसले माथिका सबै प्रश्न एकैचोटि निरर्थक सावित भए ।

यहाँ स्मरणीय छ, शून्यको अर्थ गणितको शून्य होइन । शून्य भन्नु खाली ठाउँ पनि होइन । शून्य भनेको अभौतिक यथार्थ हो । यसको अर्थ ‘स्थान–समय’ शून्यता हो । यो कुरो बुद्धिको तहमा बुझ्न गाह्रो छ । किनकि हाम्रो बुद्धिले त भौतिक यथार्थ मात्र जान्दछ । अभौतिक यथार्थ बुद्धिको वशभन्दा बाहिरको कुरा हो । तैपनि वैज्ञानिकहरूले यो अनौठो यथार्थ स्वीकार गरेका छन् ।

तर शून्यको धारणा विज्ञान जगतमा सजिलै स्वीकार्य भएको होइन । यो स्वीकार्य हुन वैज्ञानिकहरूले निकै उतारचढावपूर्ण मानसिकता व्यहोर्नु पर्‍यो । शून्यको आभास पाउने पहिलो वैज्ञानिक जर्मनीका कार्ल स्वार्जचिल्ड थिए । उनले आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तलाई पक्रिएर सन् १९१६ मै ब्रह्माण्डको अन्तिम नियति ब्ल्याकहोल (शून्यता) हो भन्ने निष्कर्ष निकालेका थिए ।

तर उनको निष्कर्ष गणितीय थियो । त्यसैले उनले यो गणितीय जोडघटाउ मात्र हो, वास्तविकता होइन भन्ने ठाने । आफ्नो खोजमा उनी आफैंलाई विश्वास भएन । अर्थात्, साँच्चै ब्ल्याकहोल हुन्छ भन्ने उनले विश्वासै गर्न सकेनन् । सन् १९७० मा खगोलशास्त्री जोन ह्विलरले थप खोज सहित ‘ब्ल्याकहोल’ लाई ‘वास्तविक’ बनाए । आज ब्ल्याकहोल विज्ञानमा सर्वस्वीकार्य तथ्य हो ।

बीसौं शताब्दीको दोस्रो दशकयता कण–भौतिक विज्ञानको क्षेत्रमा क्रान्तिकारी आविष्कार भए । खोजहरूले देखाए कि कुनै कणहरू वास्तविक होइनन्, ती हाम्रा इन्द्रियहरूको प्रक्षेपण मात्र हुन् । कणहरूलाई कण भन्नु र तरङ्ग भन्नुमा कुनै फरक पर्दैन । कण नै तरङ्ग हो, तरङ्ग नै कण हो । तरङ्ग शून्यबाट पैदा र शून्यमै विलय भइरहेको छ । यसरी कण भौतिक विज्ञानको क्षेत्रमा पनि शून्यले प्रवेश पायो ।

तर कण भौतिकविद्हरूका लागि यो निकै अनौठो र स्वीकार गर्न गाह्रो हुने तथ्य थियो । कारण, यसले विज्ञानको तीन सय वर्ष पुरानो परम्परालाई नै ध्वस्त गथ्र्यो । यो अवस्थामा केही समय वैज्ञानिकहरू अकर्मण्य भए । यद्यपि दुई वैज्ञानिकले क्रान्तिकारी काम गरे । वैज्ञानिक निल्स बोहर र वर्नर हाइजेन्वर्गले यो समस्यामाथि पूर्वका योगीहरूसँग परामर्श गरे ।

योगीहरूले हजारौं वर्षदेखि चलिआएका बिम्व, प्रतीक र कथाहरूको सहाराले उनीहरूलाई शून्यको अर्थ बोध गराए । तब उनीहरूले स्वीकार गरे कि शून्यको धारणा विज्ञान जगतको लागि सान्दर्भिक मात्र होइन, अनिवार्य नै रहेछ । तब भौतिक विज्ञानमा क्रान्तिकारी संश्लेषण भयो । यसले भौतिक विज्ञानको तीन सय वर्ष पुरानो बहसलाई समाप्त पारिदियो । विज्ञानको शास्त्रीय परम्परालाई पनि ध्वस्त पारिदियो । आज क्वान्टम विज्ञानका जति पनि आविष्कार छन्, तिनीहरूलाई तर्क र बुद्धिको तहमा विश्लेषण गर्नु निरर्थक हुन्छ । बिम्व प्रतीकको सहारामा बोध गर्न मात्र सार्थक हुन्छ ।

जीवशास्त्र

जीवनको सर्जक मूल तत्व के हो ? शरीर र मनमध्ये कुन चाहिं निर्णायक हो ? जन्म र मृत्युको सही परिभाषा के हो ? प्राणीमा लाग्ने रोगको कारण के हो ? जीव विज्ञानको क्षेत्रमा बहसका विषय यिनै थिए ।

यो बहसमा एउटा अवधि सेललाई जीवनको मूल तत्व बताइयो । अलि पछि जिनलाई मूल तत्व मानियो । तर एउटै सेल कसरी रगत, हड्डी, मासु, छाला, आँखा आदिमा रूपान्तरण हुन्छ ? यो सवालको निर्विवाद उत्तर हासिल हुन सकेन ।

शरीर र मनको प्रश्नमा होस् वा रोग किन लाग्छ भन्ने प्रश्नमा, जीवशास्त्रीहरू दुई कित्तामा बाँडिए । मेडिकल साइन्सले शरीर निर्णायक हो भन्यो, मनोविश्लेषणवादीहरूले मन निर्णायक हो भने । ‘सेलवादी’ हरू शारीरिक संरचनामा गडबड हुँदा रोग लाग्छ भन्दथे । ‘ब्याक्टेरियावादी’ हरू शरीरमा कीटाणुको प्रवेशले रोग लाग्छ भन्दथे । यी सवालमा निर्विवाद उत्तर हासिल हुन सकेन । जन्म र मृत्युको परिभाषाको विवाद त झन् जटिल हुने नै भयो ।

उन्नाइसौं शताब्दीको अन्त्यसम्म यो विवाद चलिरह्यो । तर बीसौं शताब्दीको शुरुआतसँगै यस्ता बहस निरर्थक सावित भए । कारण, आधुनिक जीव विज्ञानले जीवनलाई हेर्ने यान्त्रिक बिम्वलाई नै अस्वीकार गर्‍यो । जीवनलाई शरीर र मनमा वा सेल वा जिनमा टुक्रा गरेर हेर्ने, जीवनका स्वभावको गणितीय हिसाब गर्ने तरिकालाई इन्कार गर्‍यो ।

अब हामीलाई गणित–ज्ञान र बोध–ज्ञान जरूरी छ, बहस जरूरी छैन । त्यसैले आउनुहोस्, बहस छोडौं, बोध जगाऔं ।

आधुनिक जीव विज्ञान भन्छ– झट्ट हेर्दा जीवनमा दुई आयाम देखिन्छन्– बीज र वातावरणीय । तर जीवनका यी दुई आयामलाई जोड्ने अर्को तत्व छ, कग्निसन, । यी तीन तत्व परिपूरक छन् । यी तीन तत्वमध्ये कुनै एकको अनुपस्थितिमा जीवन असम्भव हुन्छ । रोग र निरोगका पछाडि पनि यी तीन तत्वकै परिपूरक भूमिका हुन्छ । मन र शरीर पनि परिपूरक छन् । मन विनाको शरीर वा शरीर विनाको मन असम्भव छ । कुनै एक तत्वलाई मूल जिम्मेवार ठहर गर्न मिल्दैन ।

दोस्रो कुरा, प्रकृतिलाई सजीव र निर्जीवमा विभाजन गर्नु नै निरर्थक छ । हरेक चिज जीवन हो । जीवन ‘स्थानीय इकाई’ होइन । हरेक जीवन ब्रह्माण्डीय इकाई हो । जीवन र ब्रह्माण्ड परिपूरक छन् ।

आधुनिक जीव विज्ञानको माथिको संश्लेषणले जन्म र मृत्युको परिभाषाका सम्बन्धमा पैदा भएको शताब्दीऔं पुरानो बहस समाप्त पारिदियो । यसले भन्यो, शरीरको जन्म र मृत्यु हुन्छ, जीवनको जन्म र मृत्यु हुँदैन । हरेक जीवन आफैंमा निरपेक्ष (सार्वभौम) हुन्छ ।

आधुनिक जीव विज्ञानका यस्ता मान्यता हाम्रो बुद्धिका लागि अनौठा र अर्थहीन लाग्न सक्छन् । कारण, माथिका मान्यताहरू तर्क र बुद्धिको सहारामा आएका होइनन् । यसका पछाडि वैज्ञानिक र योगीहरूको संवादबाट निर्मित बोधज्ञानले काम गरेको छ । त्यसैले अब जीव विज्ञानलाई पनि आफ्ना मान्यता बुझाउन बिम्व, प्रतीक र कथाको सहारा चाहिने भएको छ ।

मनोविज्ञान

मनुष्यको चेतनाको निर्माणमा नेचर (जन्मजात गुण) ले मूल भूमिका खेल्छ कि नर्चर (सामाजिक प्रभाव) ले ? मनोविज्ञानको क्षेत्रको मूल बहस यसैमा थियो । एकथरीले जन्मजात गुण नै मुख्य हुन्छ भन्नेमा जोड दिए । अर्को थरीले सामाजिक प्रभाव चाहिं मुख्य हुन्छ भने ।

यी दुई धाराहरूबीच केही विषयमा मतैक्यता पनि थियो । दुवै धाराले यो वा त्यो प्रकारले चेतनाको ‘स्टेशन’ हुन्छ भन्नेमा विश्वास गर्दथे । अर्थात् चेतनाको मूल स्रोत मस्तिष्कमा अन्तरनिहित हुन्छ भन्नेमा उनीहरू समान धारणा राख्दथे । दोस्रो मनुष्य जातिका लागि भौतिक सुखको खोज नै जीवनको ‘साधन’ र ‘लक्ष्य’ दुवै हुन सक्छ भन्ने कुरामा पनि मतैक्यता थियो ।

तर बीसौं शताब्दीको उत्तराद्र्धतिर मनोविज्ञानको क्षेत्रमा भएका आविष्कारले माथिको बहसलाई निरर्थक सावित गरिदिए । आधुनिक मनोविज्ञानले भन्यो– मन, बुद्धि र अहंकार, चेतनाको सामाजिक आयाम हो । जुन बाह्य परिवेश अनुसार बदल्न सकिन्छ, बदलिइरहन्छ । उदाहरणको लागि भाषा चेतनाको सामाजिक आयाम हो । व्यक्ति जहाँ जन्मियो, त्यहींको भाषा बोल्छ ।

तर प्राणीको मौलिकपन चेतनाको जन्मजात (निरपेक्ष) आयाम हो । उद्विकासको प्रक्रियामा यो उत्परिवर्तनीय त हुन्छ, तर यसको मूल स्वभाव ‘स्थिर’ हुन्छ । अर्थात्, चेतनाको यो आयामलाई ‘डिस्टर्ब’सम्म गर्न सकिन्छ, निर्देशित गर्न सकिंदैन । उदाहरणको लागि, झिंगाको बीजबाट हात्ती वा हात्तीको बीजबाट झिंगा पैदा गराउन सकिंदैन । क्रमशः फरक फरक प्रजातिको झिंगा वा हात्ती मात्र पैदा गराउन सकिन्छ ।

आधुनिक मनोविज्ञान भन्छ– चेतनाका यी दुई आयाम परिपूरक हुन्छन् । कुनै एक आयामको अनुपस्थितिमा जीवन नै असम्भव हुन्छ । यी दुई आयामको संयुक्त नाम नै चेतना हो । यी दुई आयामलाई टुक्रा गर्नु नै गलत हो ।

दोस्रो कुरा चेतनाको कुनै ‘स्टेशन’ हुँदैन । मस्तिष्क, चेतनाको सामाजिक आयामको केन्द्र अवश्य हो, तर सम्पूर्ण चेतना आफैंमा निरपेक्ष तत्व हो । यो ब्रह्माण्डीय प्रक्रिया हो । जसको कुनै ‘स्थानीय स्टेशन’ हुँदैन ।

तेस्रो कुरा, गुण–धर्म अनुसारको कर्मले मात्र मनुष्य सन्तुष्ट बन्न सक्छ । त्यसैले, मनुष्यको लागि भौतिक सुखको खोज ‘साधन’ मात्र हो, आत्मिक सुखको खोज नै उसको ‘लक्ष्य’ हो ।

आधुनिक मनोविज्ञानका यस्ता मान्यता पनि हाम्रो बुद्धिका लागि अनौठा र अर्थहीन लाग्न सक्छन् । कारण, यी निष्कर्ष पनि तर्क र बुद्धिको सहारामा आएका होइनन्, बोधज्ञानको सहारामा आएका हुन् । त्यसैले अब आधुनिक मनोविज्ञान बुझ्न पनि तर्क र बहस होइन, बिम्व, प्रतीक र कथा सहितको बोधज्ञान जरूरी भएको छ ।

समाजशास्त्र/राजनीति

समाजको आधारभूत तत्व के हो ? सामाजिक गतिमा कुन चिजले मूल भूमिका निभाउँछ ? समाजको इतिहास कस्तो थियो ? भविष्य कस्तो रहन्छ ? समाजशास्त्रमा आजसम्म यिनै विषयमा बहस भइरहेको छ । यसमा मूलतः चार वटा धाराहरू बीच बहस छ । पहिलो, व्यक्तिलाई आधारभूत तत्व मान्ने धारा, दोस्रो, वर्गलाई, तेस्रो वंशलाई र चौथो, नेतृत्वलाई ।

यी चार खाले धाराबीच केही कुरामा समानता पनि छ । जस्तो कि, इतिहासमा राज्यविहीन ‘आदिम समाज’ थियो । त्यसैको निरन्तरतामा विभिन्न चरण हुँदै आजको ‘आधुनिक समाज’ बनेको हो । समाज गतिशील ‘यन्त्र’ जस्तै हो । मानिसले आफ्नो बुद्धि र गणित अनुसार सामाजिक भविष्यको प्रक्षेपण गर्न सक्छ ।

माथिका मूलभूत निष्कर्ष सबैको साझा हुन् । यही साझा निष्कर्षभित्र क्रमशः उदारवादी/लोकतन्त्रवादी, समाजवादी/साम्यवादी, पहिचानवादी/राष्ट्रवादी र सुशासनवादी/कल्याणवादी विचारधारा पैदा भएका छन् ।

विगत २०० वर्ष यता राजनीतिक/सामाजिक आन्दोलनमा यिनै चार धाराको वरिपरि बहस भइरहेको छ । तर आधुनिक समाजशास्त्रमा माथिका साझा निष्कर्ष खण्डित भएका छन् । चारै खाले विचारधारा पनि खण्डित भएका छन् । परिणामतः माथिको विचारधारात्मक विभाजन र बहस नै निरर्थक देखिन थालेको छ ।

आधुनिक समाजशास्त्र भन्दछ; व्यक्ति, वर्ग, जाति र नेतृत्वमध्ये कुनै मूल तत्व र कुनै सहायक तत्व हुनै सक्दैनन् । यिनीहरू परिपूरक छन् । यी चार तत्वको संयोग नै समाज हो । समाजलाई हेर्ने यान्त्रिक बिम्व नै गलत हो ।

समाज भन्नु नै द्वैतता हो । इतिहासमा आदिम समाजको (एकत्वको) चरण नै थिएन । उद्विकासको प्रक्रियामा ‘जंगल युग’ बाट व्यक्ति, वर्ग, वंश र नेतृत्व एकैचोटि संयुक्त पैदा भएका हुन् । भविष्यमा पनि यो समाजवादी वा साम्यवादी एकत्वमा कहिल्यै जाँदैन ।

समाज ‘बहुलवादी’ पनि हुन सक्दैन । सामाजिक इकाईहरू स्वायत्त र परिपूरक त छन् तर समाज विभाजनमा बाँच्नै सक्दैन । समाज भन्नु नै एकता र सहकार्य हो । त्यसैले भविष्यमा पनि यस प्रकारको विभाजनमुखी समाज पैदा हुँदैन ।

उदारवाद वा साम्यवाद वा राष्ट्रवाद वा कल्याणवाद; यी सबै यान्त्रिक बुद्धिले निकालेको निष्कर्ष हो । जुन प्राकृतिक नै छैन । समाजको गति गणितीय हुँदैन । यही कारण भविष्यमा कहिल्यै यस्तो समाज बन्ने छैन । चार तत्वको गतिशील सन्तुलन भएको ‘जैविक समाज’ मात्र भविष्यको प्राकृतिक गन्तव्य हुन सक्छ ।

आधुनिक समाजशास्त्रका यस्ता मान्यता पनि हाम्रो बुद्धिका लागि अनौठा र अर्थहीन लाग्न सक्छन् । यस्ता कुरा बुझ्न मानिसले अब बुद्धि वा बहस होइन, बोध जगाउनु जरूरी भएको छ ।

अब हामीलाई गणित–ज्ञान र बोध–ज्ञान जरूरी छ, बहस जरूरी छैन । त्यसैले आउनुहोस्, बहस छोडौं, बोध जगाऔं ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?