+
+

अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ८:०१

२० माघ, काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ ।

युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको थियो ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै, अमेरिकाले जबरजस्ती युद्धमा धकेल्न खोजेको बताउँदै आएको छ । यद्यपि रुसले युक्रेनको सीमा क्षेत्रमा करीब एक लाख सैनिक तैनाथ गरेको छ । युक्रेनले भने आक्रमणको आतंकले अर्थव्यवस्था चौपट हुनसक्ने भन्दै डर नदेखाउन पश्चिमा देशहरुलाई आग्रह गर्दै आएको छ ।

रुसले युक्रेनको दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेको आठ वर्षपछि पछिल्लो संकट सिर्जना भएको छ ।

रुसले युक्रेनमाथि पूर्वमा शान्ति कायम गर्न भएको अन्तर्राष्ट्रिय सम्झौता लागू गर्न विफल भएको आरोप लगाउँदै आएको छ ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन सहभागी नहोस् भन्ने रुस चाहन्छ । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सक्रिय सरकार विरोधी समूहलाई साथ पनि दिंदै आएको छ ।

रुस समर्थित विद्रोही समूहको युक्रेनको पूर्वी क्षेत्रमा वर्चस्व छ । सन् २०१४ देखि हालसम्म त्यहाँ भएको आक्रमणबाट करीब १४ हजार जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?