+
+
भ्यालेन्टाइन डे विशेष :

‘अनस्क्रिन केमेस्ट्री’ : कुन अभिनेताको जोडी कोसँग सुहाउँछ ?

सुशील नेपाल सुशील नेपाल
२०७८ फागुन २ गते १३:०३

२ फागुन, काठमाडौं । कुन अभिनेतासँग डेट गर्न चाहनुहुन्छ ? अक्सर सोधिने यस्ता उट्पट्याङ प्रश्नमा अभिनेत्रीहरुको ठट्यौली जवाफ हुन्छ, अनमोल केसी । वास्तवमा अनमोल चाहिं कुन अभिनेत्रीसँग नजिकिन रुचाउँछन् ? यसको जवाफ शायदै फेला पर्ला । किनभने अनमोल आफ्नो निजी कुरामा पटक्कै खुल्दैनन् । निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् ।

त्यसो भए कुरा गरौं उनको अनस्क्रिन जोडीको । अनमोलको जोडी कोसँग सुहाउँछ ? साम्राज्ञी ? आना ? सुहाना वा स्वस्तिमा ?

एकछिन यो कुरा यही थाँती राखौं । किनभने यहाँ अन्य अभिनेता-अभिनेत्रीको पनि प्रसंग जोड्नुपर्ने हुन्छ । जस्तो दयाहाङ राईले कुन अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गरेको सुहाउँछ ? प्रदीप खड्का वा पल शाहको केमेस्ट्री कुन अभिनेत्रीसँग मिल्छ ?

एक समय थियो, फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडीलाई दर्शकले बढी रुचाउँथे । श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको जोडीलाई पनि रुचाइयो । निरुता र दिलीप रायमाझीको जोडीलाई पनि दर्शकले रुचाए । रमेश उप्रेती र जल शाहदेखि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई पनि दर्शकले रुचाए ।

३/४ वटा फिल्म रुचाएपछि अन्य फिल्ममा सोही जोडी देखियोस् भन्ने दर्शकहरु पनि चाहन्थे । तर पछिल्लो समय त्यो माहोल नभएको चलचित्रकर्मीहरु बताउँछन् । अहिले कुन अभिनेता-अभिनेत्रीसँग कसको जोडी फिट भन्ने अवस्था नै नरहेको उनीहरुको भनाइ छ । अभिनेता तथा लेखक दीपकराज गिरी पछिल्लो समय लभस्टोरी जनराका फिल्ममा केही कमी आएको बताउँछन् ।

त्योसँगै अभिनेता-अभिनेत्रीहरु पनि दोहोर्‍याएर, तेहर्‍याएर काम गरेको नदेखिएका कारण पहिलेजस्तो यसको जोडी योसँग सुहाउँछ भन्ने अवस्था नरहेको गिरीले बताए ।

लेखक सामीप्यराज तिमल्सेना नेपालमा ‘प्रोपर कास्टिङ’ नहुने बताउँछन् । उनी भन्छन्, ‘प्रोपर कास्टिङ नहुँदा जो नजिक हुन्छ, अथवा जोसँग पैसाको कुरा मिल्छ । निर्माता–निर्देशक जोसँग नजिक हुन्छ उसैसँग फिल्म गरेको जस्तो देखिन्छ ।’

यसको उदाहरणका रुपमा अनमोल केसी र सुहाना थापाको जोडीलाई लिन सकिने उनी बताउँछन् ।

निर्देशक दिवाकर भट्टराई पनि नेपालमा पछिल्लो समयमा अभिनेता–अभिनेत्रीको अनस्क्रिन केमेस्ट्रीलाई जज गर्ने अवस्था नरहेको बताउँछन् ।

‘एक दुईवटा फिल्म गरिसकेपछि उनीहरुको केमेस्ट्री जज गर्न मिल्यो । तर प्रत्येक अभिनेताले प्रत्येक चोटि नयाँ–नयाँ अभिनेत्रीसँग काम गर्छन्,’ उनी भन्छन्, ‘इन्डिभिजुअल हिरो-हिरोइनलाई मन पराउलान्, तर कपल मन पराउने एकदमै कम देख्छु ।’

यद्यपि दीपकराज, सामीप्यराज र दिवाकरले कुन अभिनेतासँग कसको जोडी सुहाउँला ? भन्ने विषय यसरी बताएका छन् ।

अनमोल केसीसँग

दीपकराज : अनमोलको जुन खालको डाइलग डेलिभरी छ, जुन खालको बडी ल्याङग्वेज छ त्यसअनुसार साम्राज्ञी राज्यलक्ष्मी शाह सुहाउँछ जस्तो लाग्छ ।

सामीप्यराज : अनमोलको सबैभन्दा राम्रो देखिएको साम्राज्ञीसँग नै हो । किनभने उनीहरुको हाइट पनि मिल्छ, उनिहरुको हुर्काइ–बढाइ पनि मिल्छ । उनीहरुको ‘वे अफ टकिङ’ पनि मिल्छ । अनमोलले जुन खालको फिल्म गरिरहेका छन् त्यसमा सामाज्ञी राम्रो देखिन्छ । त्यसपछि मैले अनमोलसँग राम्रो देख्ने आना शर्मा हो । ‘जेरी’मा उनीहरुको जोडी सुहाएको पनि थियो ।

दिवाकर : अनमोलको मलाई ‘जेरी’मा आना शर्मासँग सुहाएको लागेको थियो । चलचित्रमा दुवैलाई क्युट देखिएको थियो । कतिले ‘ड्रिम्स’बाट सामाज्ञीसँग सुहाएको भन्नुहुन्थ्यो । यसमा फिल्ममा साम्राज्ञीको क्यारेक्टर र अनमोलको फरक थियो । क्युटनेसका हिसाबमा आनासँग बढी राम्रो लागेको थियो ।

दयाहाङ राईसँग

दीपकराज : दयाको यो हिरोइनसँग सुहाउँछ भन्ने खालको नभएको जस्तो लाग्छ । ऊ हिरोभन्दा पनि कलाकारजस्तो लाग्छ । प्रेमजोडीको लागि बनेको कलाकार होइन जस्तो लाग्छ । त्यसमा केकी अधिकारीसँग अलि सुहाएको जस्तो लाग्छ । ब्राण्ड एम्बेसडर यताउति देखिरहेको भएर मलाई त्यस्तो लागेको होला ।

सामीप्यराज : दयाहाङको यसैसँग सुहाउँछ भन्ने मलाई लाग्दैन । ‘वीरविक्रम’मा अभिनेत्री दीया पुनसँग अलि जमेको जस्तो लागेको थियो ।

दिवाकर : उहाँको ठ्याक्कै यो भन्ने लाग्दैन मलाई । उहाँ जोसँग खेलेपनि क्यारेक्टरमा फिट हुनुहुन्छ । उहाँको सबैसँग सुहाएकै लाग्छ । त्यसमध्ये पनि ‘कबड्डी’मा रिश्मा गुरुङसँग बढी सुहाएकोजस्तो लागेको थियो ।

प्रदीप खड्कासँग

दीपकराज : प्रदीपको जसिता गुरुङसँग सुहाएको जस्तो लाग्छ । उनीहरुको जोडी अलि म्याच भएको, केमेस्ट्री मिलेको जस्तो लाग्छ ।

सामीप्यराज : प्रदीपको राम्रो लागेको जोडी जसिता गुरुङसँग हो । उनीहरुले काम गरेका दुवै फिल्ममा राम्रो सुहाएको लाग्यो । प्रदीपको चाहिं स्वस्तिमा खड्कासँग पनि सुहाउँछ जस्तो लाग्छ । किनकि दुवै अलि खिरिलो–खिरिलो ज्यानका छन् ।

दिवाकर : प्रदीपको पूजा शर्मासँगै मिलेको जस्तो लाग्यो । ‘प्रेमगीत’मा दुईको जोडी सुहाएको लागेको थियो । दुवैको सुरुको हिट फिल्म पनि सोही भयो ।

पल शाहसँग 

दीपकराज : लामो समयदेखि हेरिरहेको भएर आँचल शर्मा नै सुहाएको जस्तो लाग्छ ।

सामीप्यराज : पलको आँचलसँग जोडी राम्रै देखिएको थियो । पलको वर्षा राउतसँग पनि सुहाएकै लाग्छ । पल शाह कुनै स्पेशल विशेषता भएको हिरो होइन नि त । उसको जोसँग पनि मिल्छ जस्तो लाग्छ ।

दिवाकर : पलको सबैले आँचलसँग भन्छन् । त्यही त होला ।

धिरज मगरसँग

दीपकराज : धिरजको मैले चलचित्र हेरेको छैन । त्यसैले उहाँको नभनौं ।

सामीप्यराज : मैले देखेको चाहिं धिरज र सुहाना थापाको जोडी प्रर्फेक्ट हुन्छ ।

दिवाकर : ‘इन्टु मिन्टु लण्डनमा’मा धिरजको साम्राज्ञीसँग राम्रै देखिएको थियो ।

पुष्प खड्कासँग

दीपकराज : पुष्पको ठ्याक्कै योसँग सुहाउँछ भन्दा पनि ऊ जोसँग पनि मिक्सअप हुन सक्ने खालको इमेज भएजस्तो लाग्छ । आँचलसँग पनि ठीकजस्तो लाग्छ । सामाज्ञीसँग पनि ठीक लाग्छ ।

सामीप्यराज : पुष्पको ठ्याक्कै योसँग सुहाउँछ भन्ने लाग्दैन । उसको जोसँग पनि सुहाउँछ जस्तो लाग्छ ।

दिवाकर : पुष्प राम्रो अभिनेता हो । त्यसैले उहाँको सबैसँग मिल्छ जस्तो लाग्छ ।

आर्यन सिग्देलसँग

दीपकराज : आर्यनको त नम्रता श्रेष्ठ नै भइहाल्यो ।

सामीप्यराज : आर्यनको नम्रता श्रेष्ठ नै हो । मलाई पनि चलचित्रमा उनीहरुको जोडी राम्रो लाग्थ्यो ।

दिवाकर : आर्यनजीसँग नम्रता श्रेष्ठ हो । उहाँहरुलाई चाहिं चलचित्रमा मन पराइएको जोडीका रुपमा लिन सकिन्छ ।

विपिन कार्कीसँग

दीपकराज : विपिनको ठ्याक्कै यो अभिनेत्री भन्ने लाग्दैन । उसमा पनि लभर ब्वाइको इमेज नभएकोजस्तो लाग्छ । उसको मेनुका प्रधान जस्ता अभिनेत्रीसँग ठीक हुन्छ जस्तो लाग्छ ।

सामीप्यराज : विपिन भनेको हिरोभन्दा पनि अभिनेता हो । उनीहरु चलचित्रको मुख्य क्यारेक्टर हो, फिल्म त बोक्छ । तर हिरोइनसँग रोमान्स नगर्ने खालको । गर्‍यो भने पनि रुपको वरिपरि अथवा मुस्ताङ गएर हात नहल्लाउने, शाहरुख खानको कपी नगर्ने हिरो हो ।

ऊ जो हिरोइनसँग पनि आफूलाई क्यारेक्टर मेकिङ गर्न सक्छ । विपिनको सुहाउने जोडीकै कुरा गर्दा लक्ष्मी बर्देवासँग अलि प्रपर रुपमा आयो भने राम्रो देखिन्छ जस्तो लाग्छ ।

दिवाकर : विपिनजीको वर्षा राउतसँग एकदमै राम्रो लागेको थियो । ‘जात्रा’मा स्टोरीले क्रिएट गरेको क्यारेक्टरमा दुवै जना मिल्दो थियो ।

सौगात मल्लसँग

दीपकराज : सौगातको सृष्टि श्रेष्ठसँग नै ठीक लागिरहेको छ ।

सामीप्यराज : सौगात पनि विपिन जस्तै–जस्तै हो । सौगातले सृष्टिसँग धेरै फिल्म गरेपनि त्यति धेरै सुहाएजस्तो लाग्दैन । सौगात, विपिन, दयाहाङ चलनचल्तीमा जुन मानिन्छ त्यो खालका हिरो होइनन् नि ! सोहीकारण यिनीहरुको ठ्याक्कै योसँग सुहाउँछ भन्न गाह्रो नै हुन्छ ।

दिवाकर : राम्रो कलाकार भएकाले सौगातजीको सबैसँग सुहाउँछ । राम्रो कलाकारको सबैसँग राम्रो पेयरअप हुन्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?