
४ फागुन, काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा चलचित्र ‘बगान’ निर्माण भइरहेको छ । सुरेश वाग्ले र उनको आफ्नै लगानीमा यो चलचित्र निर्माण भइरहेको हो ।
‘बगान’बाट सरोजले चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । काठमाडौं र पोखरामा छायांकन गरिएको यो चलचित्रको ७० प्रतिशत काम सम्पन्न भइसकेको सरोजले अनलाइनखबरलाई बताए ।
सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र अवार्डमा सहभागिताका लागि लक्षित गरी निर्माण गरिएको र आगामी वैशाखमा सिनेमा हलमासमेत प्रदर्शन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । ‘बगान’मा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य भूमिका छ । यसमा छोटो भूमिकामा सरोज स्वयंले पनि अभिनय गरेका छन् । अभिनयमा जस्तै निर्देशनमा पनि दर्शकहरुको अपेक्षा पूरा गर्नुपर्ने चुनौती आफूले महसुस गरिररहेको सरोजले बताए ।

चलचित्रलाई गौरीशंकर धुजूले छायांकन गरेका हुन् भने ले सम्पादन गरेका छन् । चलचित्रमा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत रहेको छ । चलचित्रमा दुईवटा गीत समावेश छन् । गीतमा सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।
एकसमय चलचित्र क्षेत्रमा राम्रैसँग राज गरेका सरोज जीवन्त अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन् । केही वर्ष अमेरिका बसेर स्वदेश फर्किएका उनले चलचित्र ‘नाइँ नभन्नु ल २’बाट चलचित्र क्षेत्रमा ‘कमब्याक’ गरेका हुन् । सरोजका प्रेमपिण्ड, विजय पराजय, जन्मभूमि, जन्मजन्म, चोखो माया, पुकार, सारंगी, रगत लगायतका चलचित्र हिट छन् । चलचित्र क्षेत्रमा व्यस्त रहेको समयमा उनी अमेरिका गएका थिए ।
प्रतिक्रिया 4