+
+

फिलिपिन्सविरुद्ध विशाल जितमा नेपालले बनाएको कीर्तिमान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ७ गते १९:४०

७ फागुन, काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ ।

कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर

फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेले । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो नेपाली क्रिकेटर बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए ।

गत वर्ष नेपालमै भएको त्रिकोणात्मक श्रृङ्खलाबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले सोही प्रतियोगितामा चार अर्धशतक प्रहार गरेका थिए । उनले शतक र अर्धशतकमा पूर्वकप्तान पारसको कीर्तिमान बराबर गरेका हुन् ।

कुशलले टी–२० अन्तर्राष्ट्रियको ७ इनिङ्समा ४०२ रन पूरा गरेका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । पारास खड्काले ३३ खेलबाट ७९९ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले ३७ खेलमा ७२८ र दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ७१३ रन जोडेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी

फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो नेपालको टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी हो । यसअघि सन् २०१९ मा पारस र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको १४५ रनको साझेदारी कुशल र दीपेन्द्रले तोडेका हुन् । उनीहरुले गरेको यो साझेदारी तेस्रो विकेटका लागि टी–२० अन्तर्रायिष्ट्रय क्रिकेटमै तेस्रो सर्वाधिक हो ।

४.२ ओभरमा कुशल मल्ल आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले कुशल भुर्तेलसँग ८८ बलमा १७१ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र १८.५ ओभरमा ८३ रनको स्कोरमा आउट भएका थिए ।

दीपेन्द्रको यो टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । टी–२० मा उनको यो तेस्रो अर्धशतक पनि हो । दीपेन्द्रले ग्लोबल क्वालिफायरअघि ओमानमै भएको चारदेशीय श्रृङ्खलामा ओमानविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा तेस्रो सर्वाधिक योगफल

ओमानको अल अमेरात रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रनको योगफल बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको तेस्रो सर्वाधिक योगफल हो ।

यसअघि गत वैशाखमा नेपालमै भएको त्रिकोणात्मक श्रृङ्खलाका क्रममा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको योगफल बनाएको थियो । सन् २०१९ मा आयोजित १३औं दक्षिण एसियाली खेलकुदका क्रममा भुटानविरुद्ध २३६ रनको योगफल बनाएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफल बनाउनेमा फिलिपिन्सविरुद्ध नेपालको इनिङ्स १४औं नम्बरमा छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?