+
+

नेपालको राम्रो क्षण आउन बाँकी छ : सन्दीप लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते २१:११

९ फागुन, काठमाडौं । क्यानडालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को सेमिफाइनल पुगेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको सबैभन्दा राम्रो क्षण आउन बाँकी रहेको बताएका छन् ।

ओमानमा भइरहेको क्वालिफायरको समूह ए मा नेपाल लगातार तीन खेल जितेर शत प्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको थियो ।

खेलपछि पोष्ट म्याच कन्फरेन्समा सन्दीपले अझै राम्रो क्षण आउन बाँकी रहेको बताएका हुन् । ‘नेपालको सबैभन्दा राम्रो आउन बाँकी छ । जीत र सबैले आफ्नो क्यारेक्टर देखाउने तरिकाबाट पूर्ण रूपमा रोमाञ्चित छौँ’ सन्दीपले भने, ‘क्यानाडाले पावरप्लेको सुरुवातका केही ओभरहरूमा साँच्चै राम्रो खेलिरहेको थियो । यसको श्रेय सबै फास्ट बलरहरूलाई जान्छ जसले सबै सही क्षेत्रमा बलिङ गरे ।’

सन्दीपले सबै बलरहरु सही फर्ममा हुनु टिमका लागि राम्रो रहेको बताए । ‘सबै बलरहरू राम्रो अवस्थामा रहेको देख्दा साँच्चै राम्रो लाग्छ । कप्तानको हैसियतले भन्दा उनीहरुले विकेट लिएपछि सजिलो हुन्छ ।’ क्यानडाविरुद्ध ४ ओभरमा १२ रन खर्चेका सन्दीपले म्यान अफ दि म्याचको अवार्डसमेत पाएका थिए ।

ओमान टुरअघि कप्तान नियुक्त भएका सन्दीपले कप्तान बनेपछि पहिलो पटक म्यान अफ दि म्याच अवार्ड प्राप्त गरेका हुन् ।

यस्तै अविनाश बोहरा र कमल सिंह ऐरीले २-२ तथा कुशल मल्लले १ विकेट लिएपछि नेपालले क्यानडाला२ १५ ओभरमै ८० रनमा अलआउट गरेको थियो । जवाफमा ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गरेपछि नेपालले ३५ बल अगावै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालले अब मंगलबारै युएईसंग सेमिफाइनल खेल्नेछ । उक्त खेल जितेमा नेपाल दोस्रो पटक टी-२० विश्वकपमा पुग्नेछन् । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको थियो ।

कप्तान सन्दीपले सेमिफाइनल पुग्न धेरै मिहिनेत गरेको र भोलिको खेलका लागि प्रतीक्षामा रहेको समेत बताए । ‘हामीले यो क्षण (सेमिफाइनलमा पुग्न) को लागि धेरै मेहनत गरिरहेका छौं । अहिलेसम्मको यो यात्रा उत्कृष्ट छ र हामी सबै भोलिको खेलको प्रतीक्षामा छौं ।’

नेपालसंग पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि क्यानडाका कप्तान नभनित धलीवालले आजको दिनमा केही राम्रो नभएको प्रतिक्रिया दिए । ‘यो तीन दिनहरुमध्ये एक हो जहाँ हाम्रा लागि केही राम्रो भएन । रनआउटले हामीलाई कुनै पनि बेला मौका दिएन र त्यसले नै खेलको रंग बदलिदियो ।’

मंगलबारै आयरल्याण्ड र ओमानबीच पनि सेमिफाइनल हुनेछ । दुवै खेल नेपाली समयअनुसार पौने चार बजे सुरु हुनेछ । दुवै खेलको विजेता फाइनल पुग्दै अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?