+
+

शिवरात्रिमा यस्तो छ पाशुपत क्षेत्रको माहोल (फोटो फिचर)

चन्द्र आले/शंकर गिरी चन्द्र आले/शंकर गिरी
२०७८ फागुन १७ गते १०:१८

१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् ।

पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।

उनीहरूलाई सहज, छिटो र व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

हालसम्म करिब एक लाख दर्शनार्थीहरुले पशुपति मन्दिरमा पूजा गरिसकेको अनुमान गरिएको उनले बताए । यस वर्ष ६ लाख दर्शनार्थीले पशुपतिको पूजा गर्ने अनुमान गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण पनि पशुपति दर्शन गर्न गएका थिए । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति दर्शन गर्न जाने कार्यक्रम छ ।

अशक्त/अपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई भने लाइन नलागी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई स्वयंसेवामा खटिएका स्काउटका सदस्यले सिधै मन्दिर परिसरमा लैजाने व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रको भिड व्यवस्थापन गर्न र सुरक्षा प्रवन्ध मिलाउन प्रहरी, स्काउटका स्वयंसेवक, सादा पोशाकका सुरक्षाकर्मी लगायतका टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षकको कमाण्डमा ११ स्थानमा सब-कमाण्ड पोष्ट स्थापना गरी तीर्थयात्रीको सुरक्षा व्यवस्थापन मिलाइएको कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिलाई लक्षित गरी पशुपति मन्दिर क्षेत्रलाई फूलमालाले सिंगारेर आकर्षक बनाएको छ ।

देशका बिभिन्न स्थानदेखि भारतबाट समेत दर्शनार्थीहरु पशुपति आएका छन् । करिब ३५ सय साधुसन्त र नागाबाबाहरु पनि पशुपतिमा आएका कोषले जनाएको छ । पशुपतिमा आएका दर्शनार्थीहरुलाई हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाइएको छ ।

भिडभाड व्यवस्थापनका लागि पुरानो बानेश्वर, चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी साधन प्रवेश निषेध गरिएको छ ।

यसैगरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगलसम्मको बाटोबाट पनि प्रवेश निषेध गरिएको छ । धोबिखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

तस्वीर : चन्द्र आले


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?