+
+

बागलुङका किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले

रासस रासस
२०७८ फागुन २० गते १२:२७
फाइल तस्वीर

२० फागुन, काठमाडौं । बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका-१, कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्षअघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिसेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा खेतबारी बाँझै राख्न थालेको जनाएका छन् ।

‘पहिले पहिले मूलाको बीउको मूल्य पनि राम्रो थियो घरबाटै बिक्री हुन्थ्यो,’ कुश्मिसेराकी क्षमकला शर्माले भनिन्, ‘आजभोलि बिक्री हुन छोड्यो, दुःख गरेर थन्क्याएर राख्नभन्दा दुःखै नगरेको राम्रो भनेर छोडियो ।’ ६ हजार केजीसम्म बीउ फल्ने कुश्मिसेरामा अहिले ६-७ केजी पाउन पनि मुस्किल छ । धान भित्र्याएपछि लगाएको मूलाले चैतमा उत्पादन दिन्थ्यो । बीउ छिनेर मकै लगाउन सकिने भएपछि धेरै किसान मूला लगाउन हौसिन्थे ।

बीउ बेचेरै पौडेल लगायत किसानले वर्षमा पाँच लाखसम्म पनि कमाउन सकेका थिए । तर पछिल्लो समय हाइब्रिडले बजार खाएपछि किसानले बीउ लगाउन छाडेका हुन् । किसानहरुको काममा साथ दिने कृषि कार्यालयसमेत हटेपछि किसान अभिभावकविहीन भएको बताए ।

कृषि मन्त्रालयले ‘कोशी पहाडी तरकारी आयोजना’ र ‘बीउबिजन प्रवर्द्धन कार्यक्रम’मार्फत कुश्मिसेरामा मूलाको बीउ लगाउन थालेको थियो । काठमाडौं र भैरहवाका व्यापारी आएर उनीहरुको उत्पादन खरिद गरेर लैजान्थे । यसबाट किसानले राम्रो कमाइसमेत गरेका थिए । टारमा अहिले मूला देख्न छाडियो । झण्डै ८०० रोपनी जमिनमा लगाउने मूला अहिले दुईचार रोपनीमा खुम्चेको छ । त्यो पनि बिक्रीका लागि नभई एक-दुईजना किसानले घरमै प्रयोग गर्न लगाएका हुन् ।

बजारमा आएका हाइब्रिड जातका तरकारी र बीउबिजनले किसानको सपना सबै चकनाचुर पारिदिएको स्थानीयवासीले गुनासो गरे । किसानले दुःख गरेर फलाउँदा प्रतिकेजी १५० रुपैयाँ पर्ने मूलाको बीउ बजारमा १०० मै पाइन थालेको मूलाको बीउ उत्पादन गर्दै आएको अस्मिता बीउ उत्पादन समूहका अध्यक्ष मोतीप्रसाद पौडेलले बताए । हाइब्रिड लगाएपछि अर्को वर्ष बीउ लाग्दैन ।

कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत दिनेश पाठकले किसानको उत्पादनको प्रयोगशाला परीक्षण नभएको र व्यापारीसँग जोडिने अभिभावक कार्यालय नभएर सम्बन्ध टुटेको बताए । ‘बीउको गुणस्तर नाप्ने ल्याबसँग किसान जोडिन सकेनन्, कृषि कार्यालय पनि तीन-चार वर्षसम्म रहेन,’ उनले भनिन्, ‘बजारमा हाइब्रिडले डेरा जमाइसकेको छ ।’ अब फेरि अनुगमन गरेर उत्पादनमा जोड दिने योजना उनले सुनाए । पछिल्ला दुई वर्षसम्म अनुदानको कार्यक्रम भएपनि किसान र कार्यालयबीच समन्वय नभएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?