+
+
कभर स्टोरी :

३० लाख दूध किसानको ६ अर्ब कमाइ संकटमा 

मुलुकभरका झन्डै ३० लाख किसानले ६ महिनादेखि दूधको पैसा पाएका छैनन् । करिब ६ अर्ब रुपैयाँ भुक्तानी नपाउँदा धेरै किसानको रोजीरोटी खोसिने र उनीहरू पेशाबाटै पलायन हुने खतरा छ ।     

अमृत चिमरिया अमृत चिमरिया
२०८० चैत २३ गते २०:४०

२३ चैत, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीकी अम्बिका चौलागाईं अहिले स्थानीय साहु र सहकारीबाट ऋण लिएर घर चलाइरहेकी छिन् । सासू, श्रीमान् र दुई छोराछोरी सहितको परिवार धानिरहेकी अम्बिकाका श्रीमान् बिरामी छन् । दूध बेचेर जीवन चलाउने अम्बिकालाई अहिले भने ऋणले अत्याउन लागिसकेको छ ।

दुइटा गाईको दूध बेचेर दिनको एक हजार रुपैयाँ आम्दानी गर्ने उनले मंसिरदेखि दूधको भुक्तानी पाएकी छैनन् । ‘महिनामा ५ हजार त श्रीमानलाई उपचार खर्चै लाग्छ । दुइटा बच्चा पढाउनुपर्छ । दूधको पैसा नपाउँदा खान–लाउन नै सकस भइसक्थ्यो’, चौलागाईंले भनिन् ।

सधैं दूध लिने सेतीदेवी दुग्ध सहकारी संस्थाले अब ऋण समेत दिन नसक्ने अवस्था आएको छ । सधैं हाँस्दै दूधको क्यान बोकेर जाने अम्बिका अहिले मलिन अनुहारमा दूध सहकारीमा छोडेर आउने गरेकी छिन् । ‘सहकारीबाट ऋण लिएर घर–व्यवहार चलाइरहेका छौं । अब त्यो ऋण पनि नपाइने अवस्था आयो । हाम्रो त बिजोग नै हुनेभयो’, उनले दुःख पोखिन् ।

‘गाईलाई घाँस मात्रै खुवाएर हुँदैन ढुटो, चोक्कर पनि खुवाउनै पर्‍यो । अब उल्टै ऋण गर्नुपर्ने भयो’ उनले भनिन्, ‘बुढाको उपचार पनि अब गर्न सकिंदैन, यसरी पैसा नदिने हो भने त हामी त झुन्डिने अवस्था आउँछ ।’

यो रविओपीको ६०० भन्दा धेरै किसान घरपरिवारको कथा हो । स्थानीय किसान भगवती कोइरालाले सरकारका कारणले किसान अब पलायन हुने बताइन् । ‘लम्पी स्किनले ६ महिना अगाडि गाई मर्‍यो, अहिले सरकारले पैसा नदिएर किसान मार्न खोज्दैछ’, दूधको भुक्तानी नपाएकोमा आक्रोशित कोइरालाले भनिन् ।

‘गाईवस्तु पालेर जीवन चलाउनु साह्रै गाह्रो । आफूले गरेको दुःखको पैसा छैन । दिनमा १५–१६ लिटर दूध सहकारीमा दिन्छौं, आम्दानी छैन । ऋण मागेर कति दिन चल्ने ?’ उनले प्रश्न गरिन् ।  कोइरालाका भनाइमा ५ महिनादेखि ऋणका भरमा उनको जीवन चलिरहेको छ ।

‘अब के किसान भनेर बस्नु, घरको मान्छे विदेश जानुपर्ने भइसक्यो । घरबाट बाहिर निस्किने वित्तिकै पैसा चाहिन्छ, वल्लोपल्लो घरमा पैसा मागौं सबैको हालत उस्तै छ । खै सरकार छ कि छैन भन्ने नै थाहा छैन’, उनले अनलाइनखबरसँग दुःखेसो पोखिन् ।

एउटा गाउँकै १० करोड बक्यौता   

रविओपी दूध उत्पादक किसानहरूको गाउँ हो । गाउँका सबै किसानले सेतीदेवी दुग्ध सहकारी संस्थामा दूध संकलन गर्ने गरेका छन् । सहकारीका व्यवस्थापक हरिहर अधिकारीका अनुसार, सेतीदेवीमा रविगाउँका ६५० घरधुरीबाट १ हजार ५० किसान शेयर सदस्य छन् ।

‘यो क्षेत्रका किसानले हाम्रो सहकारीमा ल्याएर दूध बेच्छन् । हामीले चिस्यान गरेर डीडीसी (दुग्ध विकास संस्थान) र निजी डेरीहरूलाई बेच्छौं’ अधिकारीले भने । उनका भनाइमा, सहकारीमा ७ हजार ६०० लिटर दैनिक दूध संकलन हुन्छ । ५० प्रतिशत भन्दा धेरै दूध डीडीसीलाई र बाँकी निजी डेरीहरूलाई बिक्री गर्ने गरिन्छ ।

‘हामीले सबैभन्दा धेरै दूध डीडीसीलाई बेच्ने भएपछि भुक्तानी पनि डीडीसीकै बढी छ । निजी डेरीको करिब दुई महिनादेखिको भुक्तानी बाँकी छ । करिब ६ करोड रुपैयाँ जति हाम्रो सहकारीले मात्रै भुक्तानी लिन बाँकी छ’, व्यवस्थापक अधिकारीले भने ।

उनका भनाइमा केही समय अगाडिसम्म किसानलाई ऋण गरेर पैसा दिने गरिएको भए पनि अब भने नसक्ने अवस्था आएको छ । ‘डीडीसी र निजी डेरीलाई भुक्तानी दिनुपर्‍यो भनेर हामीले पैसा मागेको माग्यै छौं, तर उहाँहरूले दूधबाट उत्पादन हुने वस्तु बिक्री नभएर भुक्तानी दिन नसकेको भन्दै हुनुहुन्छ’, उनले भने ।

दूधको भुक्तानी नहुँदा यस गाउँका किसानको गुजारामा नै समस्या भइरहेको छ । त्यसमा पनि ठूलो फार्म चलाउने व्यावसायिक किसानहरूले तराईबाट पराल, भुस ल्याउनुपर्ने हुँदा चरम आर्थिक संकट परिरहेको छ ।

‘यहाँ एउटाबाट दुईवटा गाई पाल्ने क्रम बढिरहेको बेला बजारमा यो समस्या आएपछि किसानहरू पलायन हुने चिन्ता थपिएको छ’ अधिकारी भन्छन्, ‘यो क्षेत्रमा पाँच वटा भन्दा बढी गाई, भैंसी पाल्ने व्यावसायिक किसान धेरै छन् । तर अब युवाहरूमा यो पेशाप्रति आकर्षण घटेर गाई बेचेर विदेश जाने चर्चा हुन थालेको छ ।’

धुलिखेल–२ का वडाध्यक्ष अर्जुन न्यौपानेले पूरै वडा नै निराशामा रहेको बताए । ‘गाउँभरि दुग्ध किसान छन्, पैसा नपाउँदा पूरै गाउँमा तनाव छ । चाडपर्व, बिहे–ब्रतबन्ध हुन नसक्ने भइसक्यो । यत्रो दूध उत्पादन गर्ने गाउँ पैसा नभएर टाट पल्टिएको छ’, स्थानीय किसान समेत रहेका वडाअध्यक्ष न्यौपानेले भने ।

आफ्नो वडाबाट दैनिक १० हजार लिटर दूध संकलन हुने र एउटै गाउँले १० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले बताए । ‘म आफैं दैनिक २०० लिटर दूध संकलन गरेर सहकारीमा बेचिरहेको छु । मंसिरदेखि भुक्तानी पाएको छैन । महिनाको ५ लाख रुपैयाँ मैले नै भुक्तानी पाएको छैन । मेरो नै २५ लाख भन्दा बढी उठाउन बाँकी छ । गाउँभरि त्यही समस्या छ । हालत कस्तो होला अनुमान गर्नु न’, न्यौपानेले भने ।

लाखौं लगानी गरेर गाई पालेका किसान अब गाउँमा बस्न नसक्ने अवस्था आएकोले गाउँ नै रित्तिने डर भएको उनको भनाइ छ । ‘अति भयो भनेर हामीले आन्दोलन पनि गर्‍यौं । त्यसपछि २१ चैतसम्ममा भुक्तानी दिने भनेर केन्द्रीय दुग्ध सहकारी संघसँग सम्झौता भयो । अनि आन्दोलन स्थगित भयो । तर अहिलेसम्म भुक्तानी पाइएको छैन’, उनले भने ।

काभ्रेकै मण्डनदेउपुर कुन्ताबेसीको दूध संकलन गरेर बेच्ने उमादेवी दुग्ध सहकारी पनि किसानलाई पैसा दिन नसकेर समस्यामा छ । ‘किसानहरूले सहकारी घेर्न थालिसके, कात्तिक दोस्रो हप्तादेखि डीडीसीले पैसा दिएको छैन । सहकारीले ऋण खोजेर पुसको पहिलो हप्तासम्म त किसानलाई बाँड्यो । त्यसपछि दिन सकेको छैन’, व्यवस्थापक तुलाराम सापकोटाले भने ।

‘किसानहरू छटपटाएर दाना, ढुटो किन्न नसकेको भन्दै यहाँ नै आउँछन्, अब दूध बेच्ने किसान गाई–भैंसी नै पाल्न नसक्ने अवस्थामा पुगेपछि समस्या त हुने नै भइहाल्यो नि’ उनले भने, ‘हाम्रो यहींको एउटा सहकारीलाई मात्रै डीडीसीले एक करोड र निजी डेरीले ५० लाखभन्दा धेरै रकम दिन बाँकी छ ।’ सापकोटाका भनाइमा कुन्ताबेसीमा मात्रै यस्ता ६–७ वटा सहकारी छन्, सबैतिर लगभग अवस्था यही छ ।

उमादेवी दुग्ध सहकारीमा दूध बेच्ने स्थानीय किसान मुरलीप्रसाद पौडेल अब गाईवस्तु पाल्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘म दिनको १० लिटर दूध बेच्छु । पैसा नहुँदा अब धेरै दिन गाईवस्तु पाल्न सक्ने अवस्था छैन’ उनले भने, ‘गाईलाई खुवाउन दाना किन्ने पैसा पनि छैन, बारीको घाँसले मात्रै गाईको दूध आउने कुरा भएन ।’

मुरलीप्रसाद पौडेल

बनेपाको नाला घर भएका सीताराम बाला श्रेष्ठले कुन्ता बजारमा दुई वर्षदेखि ठूलो व्यावसायिक फार्म सञ्चालन गरिरहेका छन् । गाई, भैंसी, लोकल कुखुरा, माछा अनि तरकारी खेती समेत गर्दा उनले ४२ रोपनीमा खेती गरिहरहेका छन् ।

७ वर्ष बढी साउदी अरब र मलेसियामा बिताएका उनी नेपालमै केही गर्नुपर्छ भनेर फर्किए । ‘नेपाल त आएँ, अब म यहाँ बस्न नसक्ने अवस्थामा पुगिसकें । आफ्नो पुख्र्यौली सम्पत्ति भए बेचेर ऋण तिर्न हुन्थ्यो, त्यो पनि छैन’ उनी भन्छन्, ‘फार्म बेचेर साथीहरू विदेश जान खोज्दैछन्, ऋण तिर्न सकें भने म पनि बस्दिनँ होला !’

दैनिक ५५ लिटर दूध उत्पादन गरेर सहकारीमा बेचिरहेका उनले विगत ५ महिनादेखि पैसा नपाउँदा फार्ममा ठूलो असर परिरहेको बताए । ‘पहिले हप्तैपिच्छे पैसा आउँदा फार्म चलाउन सजिलो थियो । अहिले त फार्मका कर्मचारीको तलब, पशुहरू बिरामी हुँदा उपचार खर्च, बीमाको लागि पैसा पनि छैन’, श्रेष्ठ भन्छन् ।

दाना र ढुटोको लागि नै ऋण खोज्नु परिरहेको बताउँदै उनले हाल दैनिक खर्च नै ४ हजार भन्दा धेरै भएकोले उत्पादनले बजार नपाउँदा फार्म सञ्चालन गर्न गाह्रो भएको सुनाए । आफ्नो दुःख सुनाउँदै श्रेष्ठले भने, ‘गाई–भैंसी भोकै हुन थालेपछि हारगुहार गरेर ऋण खोजेर चलाएको छु । अब यो महिनापछि मेरो उठिबास हुन्छ । सरकारका कारण म भागेर हिंड्नुपर्ने भयो ।’

चितवनका किसानको मात्रै ७५ करोड बाँकी

चितवनको भरतपुर–७ प्रेमबस्तीका गाईपालक किसान आनन्द निउरेलाई बिहीबार कुखुराको मासु खान मन लाग्यो । उनले तीन केजी मासु साथीको पसल पुगेर उधारोमा किनेर ल्याए । तर, उनी यसरी उधारो मागेर खानुपर्ने बाध्यताका किसान होइनन् ।

दैनिक १५० लिटरभन्दा बढी दूध बेच्ने निउरेले गएको मंसिर महिनादेखिको झन्डै १० लाख रुपैयाँ भुक्तानी पाएका छैनन् । उनलाई अब तत्काल यो रकम पाइन्छ भन्ने विश्वास पनि लाग्न छाडेको छ । १९ वर्षदेखि प्रेमबस्तीमा व्यावसायिक गाई पाल्दै आएका निउरेसँग अहिले २५ वटा गाई छन् ।

‘वर्षमा ६/७ लाखको पराल किन्छु, अहिले पैसा छैन, पराल र गाडीको रकम तत्कालै भुक्तानी दिनुपर्छ, आफूसँग रकम छैन’ निउरेले भने, ‘जग्गा धितो राखेर बैंकबाट १ करोड ऋण लिई गाई पालेको अब बैंकको किस्ता धान्न समेत नसक्ने अवस्थामा पुगें ।’

निउरेको जस्तै समस्या छ, भरतपुर–१८ का कुलानन्द अधिकारीको । भरतपुर–१८ मा रहेको गणेश बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक १०० लिटर दूध लैजाने अधिकारीले गएको मंसिर १२ गतेदेखि डीडीसीबाट दूधको भुक्तानी पाएका छैनन् ।

‘मान्छेका कुरा छाड्नुस्, एक छाक खाएर पनि बसौंला तर गाईलाई आज नखाऊ है भन्न मिलेन, दाना चोक्कर किन्न सापटी माग्नुपर्ने अवस्था छ’ उनी भन्छन्, ‘गाईको दूध न आफू सबै खाएर सकिन्छ, न त अरू केही गर्ने उपाय नै छ, पैसा नदिए पनि आउला भन्ने आशामा डीडीसीमा पठाउने गरेको छु ।’

२०४८ सालदेखि चनौलीमा गाई पाल्दै आएका अधिकारी त्यस क्षेत्रका पुराना किसान हुन् । बेला–बेलामा सामान्य समस्या देखिए पनि अहिलेको जस्तो समस्या यसअघि कहिल्यै नपरेको अधिकारी सम्झन्छन् । अर्को महिनादेखि उनकोमा गाईको दूध १०० लिटरबाट बढेर २०० माथि पुग्दैछ । रकम भुक्तानी नपाए ती गाई पाल्ने कि बेच्ने भनेर सोच्नुपर्ने दिन आइसकेको उनी बताउँछन् ।

चितवनका अर्का किसान गोपी ढकालले डीडीसीबाट मात्रै झन्डै ७० लाख रुपैयाँ लिन बाँकी छ । निजी डेरी र अन्य सबै गरेर उनको झन्डै २ करोड रकम बजारबाट उठ्नुपर्नेछ । भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुरमा १८० जति गाई र भैंसी पालेका किसान ढकालले दैनिक ११ सय ५० लिटर दूध बिक्री गर्ने गरेका छन् ।

उनको फार्ममा १८ जनाले रोजगारी पाएका छन् । मासिक तलबमा मात्रै ४ लाख खर्च गर्ने गरेको बताउने ढकालको दैनिक खर्च नै ६० हजारभन्दा माथि छ । उनले आफ्नो मात्रै नभई अन्य सहकारीको पनि दूध उठाउने गरेका छन् । उनको आफ्नै ढकाल डेरी छ ।

‘राज्यले देशभित्र नै केही गरौं भनेर लागेका किसानलाई कहिल्यै प्रोत्साहन गरेन । दुःख पर्दा साथ पनि दिएन । यही पेशामा ३० वर्ष बिताइयो, अब के गर्ने ? जानेकै यही हो’, उनले भने ।

देशकै दूध उत्पादन गर्ने जिल्लाहरूको सूचीमा सबैभन्दा माथि रहेको चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएकोमा जिल्ला बाहिर १ लाख ५१ हजार लिटर दूध पठाउने गरिएको चितवन जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।

उनका अनुसार यहाँका किसानले पनि २०८० असोजदेखि दूधको भुक्तानी पाएका छैनन् । रकम नपाउँदा घर खर्च चलाउन र गाईलाई खुवाउने दाना, चोक्कर, पराल, औषधि खरिद गर्न नसक्ने अवस्था आएको किसानहरू बताउँछन् ।

दूध लगेर रकम नदिनेमा निजी डेरी उद्योगदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) समेत छन् । किसानको सबैभन्दा बढी रकम भुक्तानी दिन डीडीसीले बाँकी छ । जिल्लामा ११५ वटा दुग्ध सहकारी उद्योगमा झन्डै ४० हजार दूध किसान आबद्ध छन् ।

दूधको बिक्री सहज नभएपछि यहाँका किसानले ६ फागुन २०८० मा केन्द्रीय बस टर्मिनल हाकिमचोकमा दूध पोखेर आन्दोलन पनि गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेर ८० लिटर दूध सडकमा पोखेका थिए ।

बाँकेका किसानको हालत पनि उस्तै

बाँके डुडुवाका किसान कृपाराम यादवले १५ वटा भैंसी पालेका छन् । दैनिक १० लिटर दूध गाउँकै अगुवा किसान राम सोहन यादवको जय श्रीराम दूध डेरी यादव चिस्यान केन्द्रमा बिक्री गर्दै आएका छन् ।

१५ असोज २०८० यता दूध बिक्री गरेको पैसा पाएका छैनन् । यादव परिवारको आम्दानीको मुख्य स्रोत नै दूध बिक्रीबाट आउने पैसा हो । त्यही पैसा लामो समयदेखि रोकिएपछि भैंसीका लागि दाना किन्न र आठ जनाको घर खर्च चलाउन उनलाई हम्मेहम्मे परेको छ ।

बाँके डुडुवाका किसान कृपाराम यादव । फोटो : कृष्ण अधिकारी

उनले डेरीबाट झन्डै २ लाख ५० हजार रुपैयाँ लिन बाँकी छ । ‘आज भोलि गर्दागर्दै ६ महिना बितिसक्यो । गाउँकै बोर्डिङमा पढ्ने ३ जना छोराछोरीको फि समेत तिर्न सकेको छैन’ उनले भने, ‘बच्चाको फि नै करिब ५० हजार बाँकी छ । आम्दानीको अन्य उपाय छैन । अब घरमा भएको मसुरो र गहुँ बेचेर फि बुझाउने तयारी गरिरहेको छु ।’

बाँके डुडुवा–४ का रफी खाँले पनि ६ वटा भैंसी पालेका छन् । उनी दैनिक ८ लिटर दूध बेच्छन् । उनले पनि १५ असोजयता दूधको पैसा पाएका छैनन् । मुस्लिम धर्मावलम्बीहरूको रमजान ब्रत चलिरहेको छ । दूध बिक्री गरेको करिब ७० हजार रुपैयाँ नपाएका कारण चाडपर्व पनि खल्लो भएको उनको भनाइ छ ।

बाँके डुडुवाकै स्थानीय स्वामी दयाल यादवले १८ वटा भैंसी पालेका छन् । उनी दैनिक ५० लिटर दूध गाउँकै अगुवा किसान राम सोहन यादवको जय श्रीराम दूध डेरी यादव चिस्यान केन्द्रमा बिक्री गर्दै आएका छन् । झन्डै ६ महिनायता दूध बिक्री गरेको करिब ७ लाख रुपैयाँ नपाउँदा भैंसीका लागि दाना किन्न र आठ जनाको घर खर्च चलाउन मुस्किल भएको उनी बताउँछन् ।

बाँकेको डुडुवा ३ हल्कारापुरका राम समुच यादवले ७ वटा मुर्रा भैंसी पालेका छन् । घरको २० लिटर र गाउँ छिमेका अन्य ५६ जना किसानको दूध संकलन गरेर उनी राम सोहन यादवको जय श्रीराम दूध डेरी यादव चिस्यान केन्द्रमा दैनिक ४८० देखि ५०० लिटर दूध बिक्री गर्दै आएका छन ।

यादवले पनि ६ महिनादेखि पैसा पाएका छैनन् । उनले करिब ३२ लाख रुपैयाँ लिन बाँकी छ । गाउँका स–साना किसान परिवारको दूध संकलन गरेर बिक्री गर्दै आएका राम समुच पछिल्ला दिनहरूमा निकै तनावमा छन ।

सहमति भयो, भुक्तानी भएन 

दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरका अनुसार देशभरि गरेर १ हजार ८५७ दुग्ध उत्पादक सहकारी छन् । ‘सहकारीले किसानको दूध किनेर डीडीसी, डेरी उद्योगहरूलाई दिएको हुन्छ तर त्यसरी दिएको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । झन्डै साढे ६ अर्ब रुपैयाँ भुक्तानी हुनसकेको छैन’ कुँवरले भने, ‘किसानले घरमा पालेको गाईभैंसीलाई ढुटो, चोक्कर, घाँस खुवाउन नसक्ने अवस्था आइसकेको छ ।’

कुँवरका अनुसार डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई भुक्तानी दिन बाँकी छ । ‘हामीसँग किनेको दूधको उत्पादन बिक्री नभएको भन्दै किसानलाई भुक्तानी नदिंदा समस्या भइरहेको हो’, कुँवरले भने ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले फरक–फरक ठाउँको भुक्तानी माग फरक हुँदा यति नै रकम दिन बाँकी छ भन्न सकिने अवस्था नभएको बताए । ‘किसान, दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भन्छन् तर हामीले सरोकारवालासँग छलफल गर्दा ५ अर्ब जति भुक्तानी दिन बाँकी रहेको अनुमान गरेका छौं’, यादवले अनलाइनखबरसँग भने । दुग्ध विकास बोर्डका अनुसार, मुलुकभर ३० लाख किसान दूध उत्पादनमा संलग्न छन् ।

नेपाल डेरी एशोसिएसनले  दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोचोटि यति ठूलो समस्याका रूपमा देखिएको बताउँदै आएको छ । एशोसिएसन अध्यक्ष प्रह्लाद दाहाल भन्छन्, ‘हाल ५ अर्बभन्दा धेरैको सामान स्टक रहेका कारण डेरीले किसानलाई पैसा दिन नसकेका हौं ।’

एशोसिएसनका अनुसार दूध उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारण छन् । नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिएर पनि नेपाली दूधको बजार घटेको हो ।

एशोसिएसनका अनुसार अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ । तर, त्यसको पनि खपत नभएपछि डेरी उद्योगहरूले किसानलाई सहकारी मार्फत उठाएको दूधको भुक्तानी गर्न सकेका छैनन् ।

डीडीसीले बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको बताउँदै आएको छ । डीडीसीका एक कर्मचारीका अनुसार करिब १ अर्ब २२ करोड मूल्य बराबरको दूध उत्पादन स्टक भएर बसेको छ । ‘किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा पठाएको वस्तु बिक्री नहुँदा हाम्रो पूँजी त्यहीं रोकिएको छ, त्यसैले गर्दा किसानलाई दिने भुक्तानी रकम रोकिएको हो’, ती कर्मचारीले भने ।

दुग्ध उत्पादक किसान र डेरी उद्योगका प्रतिनिधिहरूसँग २१ चैत २०८० सम्म किसानको दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने पाँचबुँदे लिखित सहमति गरे पनि दुग्ध विकास संस्थानले रकम भुक्तानी नगर्दा किसानहरू समस्यामा परेका हुन् ।

कृषि मन्त्रालयले २१ चैतमा पुस मसान्तसम्मको दूधको रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि रकम भुक्तानी नभएको बाँकेको कम्दीस्थित जय श्रीराम डेरीका सञ्चालक राम सुहावन यादव बताउँछन् । यादवले दूध बिक्री गरेको करिब १ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

देशैभरका दुग्ध उत्पादक किसानहरूले १५ असोज २०८० देखि संस्थानबाट दूधको भुक्तानी पाएका छैनन् । ६ महिनादेखि भुक्तानी नपाएका किसानहरूलाई २१ चैतमा पैसा आउँछ भनेर डेरी सञ्चालकहरूले आश्वासन दिंदै आएका थिए । तर २१ चैतमा पनि पैसा नआएपछि डेरी सञ्चालक र किसानहरू तनावमा छन् ।

६ महिनादेखि किसानको रकम भुक्तानी गर्न नसकेका संस्थानका महाप्रबन्धक संजिव झाको कार्यकाल १३ चैतमा सकिएको छ । २२ चैतमा नयाँ महाप्रबन्धकमा कृषि मन्त्रालयका सहसचिव सूर्य पौडेल नियुक्त भएका छन् ।

१९ फागुन २०८० मा तात्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसाल समेतको उपस्थितिमा कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी) का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले २१ चैत २०८० सम्म दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि अहिलेसम्म कृषकले भुक्तानी पाउन सकेका छैनन् ।

(चितवनबाट सुवास पण्डित र नेपालगञ्जबाट कृष्ण अधिकारीको सहयोगमा ।)

फोटो/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

कभर स्टोरी
लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?