+
+
माओवादी केन्द्रीय समिति :

छोरी ज्वाइँ अटाउँदा चित्रबहादुरहरु अटेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते २२:४७

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरे । उनले पढेको सूचीको ३२ औं नम्बरमा छोरी गंगा दाहाल र ५३ औं नम्बरमा ज्वाइँ जीवन आचार्यको नाम थियो ।

त्यसपछि उनले ल्याउनैपर्ने लागेको भन्दै केही केन्द्रीय प्रतिनिधिको नाम पढेर सुनाए । उनले लिएका ४७ नाममध्ये ४३औं नम्बरमा चित्रबहादुर श्रेष्ठको नाम थियो । वैकल्पिक केन्द्रीय सदस्य बनाउने त्यो सूचीमा अरु पनि सिनियर नेता थिए । कतिपय त त्यसमा पनि अटाएनन् ।

त्यही कारण सोमबार प्रचण्ड आफैं प्रस्ताव अनुमोदन गराउन असफल भएका छन् । नेताहरुका अनुसार प्रस्ताव नामबारे नेताहरुको राय माग्दा उनले चर्कै विरोधको सामना गर्नुपर्‍यो । सुरुमा नेतृ शशि श्रेष्ठले बोलिन् । पार्टीमा विधि बनाउनुपर्ने र सिनियरहरुलाई छुटाउन नहुने उनले बताइन् । त्यसपछि एकपछि अर्को नेताहरुले सिनियर जुनियर नमिलेको बताए ।

बोल्नेहरुले प्रचण्डका छोरी र ज्वाइँ गंगा र जीवनको नाम लिएर किन केन्द्रीय सदस्य बनाएको भनेर प्रश्न त गरेनन्, तर फलानो फलानो सिनियर नेताहरु किन परेनन् भनेर सोधेका छन् । एक केन्द्रीय सदस्य भन्छन्, ‘चित्रबहादुर श्रेष्ठ जस्तो सिनियरलाई छुटाउनै हुन्नथ्यो । अहिले प्रतिनिधि वा वैकल्पिक भन्न मिल्दैन । यस्तो धेरै नाम फ्लोरबाट आएको छ ।’

राष्ट्रियसभा उपाध्यक्षबाट विदा भएकी शशिकला दाहाललाई समितिमा नै राखिएको छैन । अर्की सिनियर नेता सरस्वती पोखरेललाई वैकल्पिकमा प्रस्ताव गरिएको छ । नेताहरुले एकपछि अर्का सिनियर नेताहरु नाम लिंदै उनीहरु किन छुटे भनेर प्रश्न उठेपछि प्रचण्डले ‘तपाईंहरु खाजा खानुस्, हामी सिनियर नेताहरु छलफल गर्छौं’ भनेर बैठक रोके ।

त्यहाँ पनि प्रचण्डले छोरी र ज्वाइँलाई केन्द्रीय समितिमा प्रस्ताव गरेकामा नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रचण्डले भने नेताहरुले डेलिगेसन आएर नै जीवनको नाम प्रस्ताव गरेको बताएका छन् । यद्यपि फेरि हलमा नाम लैजाँदा विरोध हुने बुझेपछि आफ्नो प्रस्तावमा एक कदम पछाडि हटेका छन् ।

महाधिवेशनका बेला केन्द्रीय प्रतिनिधिमा रहेका ३७ जना, मधेश प्रदेशको समावेशी समूहबाट सर्वसम्मत रुपमा आएका ९ र दलित समूहबाट ४ जना केन्द्रीय समिति सदस्य भएको प्रचण्डले नेताहरुलाई बताएका स्रोतको भनाइ छ । प्रस्ताव गरेका ९७ जनामध्ये बाँकी ४७ जनाबारे निर्णय भएन ।

साथै प्रचण्डले आगामी राष्ट्रिय सम्मेलनलाई समेत हेरेर वैकल्पिक केन्द्रीय सदस्य मनोनित गर्ने बताए । त्यसो हुँदा माओवादीको केन्द्रीय समिति २९९ पूर्ण सदस्यसहित र वैकल्पिकसहित ३४४ सदस्यीय हुनेछ । कार्यालयको विस्तारित बैठकमा छलफल गरेर पूर्ण र वैकल्पिक केन्द्रीय सदस्यहरु टुंगो लगाइने एक नेताले बताए । यद्यपि प्रचण्डले सोमबार प्रस्तुत गरेको नममा धेरै हेरफेर हुने सम्भावना कम रहेको एक शीर्ष नेताले सुनाए ।

एक परिवारका ६ जना

पुसमा भएको महाधिवेशनबाट घोषित केन्द्रीय समितिमा प्रचण्ड, छोरी रेनु दाहाल, बुहारी विना मगर र भाइ नारायण दाहाल थिए । अहिले छोरी गंगा र ज्वाइँ जीवन थपिने हो भने एकै परिवारका ६ जना हुनेछन् ।

माओवादी नेता वर्षमान पुन भने परिवारको सदस्यका रुपमा मात्र हेर्न नहुने बताउँछन् ।

युद्धको बेलामा जोजो हिंड्न सक्ने हिंड्ने र संगठन गर्ने काम गरेको भन्दै उनले भने, ‘लडेका त्याग गरेका साथीहरु छन्, आज उनीहरुमाथि पनि अन्याय गर्नु भएन ।’

शान्ति प्रक्रियापछि धेरै नयाँ कार्यकर्ता पनि केन्द्रीय नेतृत्वमा आउन थालेको नेता पुनले बताए । उनले अघि भने, ‘यसको विकास हुन अलिकति समय त लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?