
२४ फागुन, काठमाडौं । कोरोना महामारीले छायांकन प्रभावित भएको फिल्म ‘२ नम्बरी’ले कलाकार, पटकथादेखि निर्मातासम्म व्यापक हेरेफेर गर्दै पुनः छायांकन सुरु गर्ने भएको छ ।
चैत पहिलो सातादेखि कास्कीको ल्वाङघलेल गाउँबाट सुरु हुने छायांकन पोखरा आसपासमा पनि हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यसअघि ४० प्रतिशत छायांकनमा ६० लाख रुपैयाँ खर्च भइसकेको छ ।
पुनः छायांकनमा जाँदा बजेट बढेर २ करोड ५० पुग्ने निर्माता नेपालीले बताए । यति मात्र होइन, तीन वर्षअघिको कथावस्तुमा परिमार्जन गर्दै पछिल्लो समयसम्मको स्क्रिप्ट ‘अपडेट’ समेत गरिएको छ ।
जबरजस्ती करणी मुद्दामा फिल्मका मुख्य अभिनेता पल शाह प्रहरी हिरासतमा रहेको र अर्का अभिनेता जयनन्द लामाको निधन भएको अवस्थामा यी दुई कलाकारको ठाउँमा नयाँ कलाकारले स्थान पाउने भएका छन् । अन्य कलाकारलाई समेत हेरफेर गर्ने निर्माताको तयारी छ ।
‘फिल्ममा धेरै पार्ट नै पल र जयनन्दजीको थियो, तर उहाँहरु नै नरहेपछि कन्टिन्युटीमा समस्या हुने देखियो र सोही कारण पुनः छायांकन गर्नुको विकल्प रहेन,’ नेपालीले भने । केही दिनमै नयाँ कलाकार सार्वजनिक गरिने उनले जानकारी दिए ।
फिल्म छायांकन सुरु हुने भएपछि भुटानी अभिनेत्री उगेन छोदेन मंगलबार थिम्पुबाट काठमाडौंमा आइपुगेकी छन् । दीपेन्द्र लामाको निर्देशन रहने यो फिल्ममा दयाहाङ राई र वर्षा राउतको पनि मुख्य भूमिका रहनेछ ।
फिल्मको निर्माण लाइनअपमा समेत हेरफेर भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले निर्माताको रुपमा ‘२ नम्बरी’मा प्रवेश गरेका छन् ।
फिल्मको प्रस्तुतकर्ताको रुपमा किरण नेपाली तथा निर्माताहरुमा मनाङेसहित जय श्रेष्ठ र कमलादेवी राई हुनेछन् । सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
निर्देशक लामाले सामाजिक कथावस्तुमा फिल्म आधारित हुने र यसले नेपाली समाजको पछिल्लो समयको प्रवृत्तिलाई चित्रण गर्ने बताए ।
प्रतिक्रिया 4