+
+

विमानस्थलबाट श्रम डेस्क हट्यो, श्रमिकले छुट्टै लाइन बस्नु नपर्ने

पीसीआर हटाउन मन्त्रीको पहल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते २१:०८

२५ फागुन, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाएको छ । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाएका हुन् ।  अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृतिको जाँच गर्नेछन् ।

वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थानद्धारलाई सीमित गरिएका कारण प्रवेश गर्न समेत श्रमिकले घन्टौं लाइन बस्नु पर्ने बाध्यता थियो ।

सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानविन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो ब्यापक  थियो । विमानस्थलमा श्रमिकहरूलाई  पर्ने समस्या समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाए ।

श्रम डेस्कमा लागेको लाइन (फाइल तस्वीर)

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्वारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोनाको पीसीआर परीक्षण चेकजाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् ।

यसअघि वैदेशिक रोजगारीमा जाने र विदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सही छाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अव श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् । विमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।

श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको डेस्क अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको थियो । तर, श्रमिकलाई डेस्कले अनेक बाहाना बनाएर दुःख दिने गरेको थियो ।

वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परिक्षणका लागि छुट्टै लाइनमा घन्टौं बस्नुपर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजारभन्दा धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । दैनिक करिब २ हजार श्रमिकले सास्ती बेहोर्दै आएकोमा अब समस्या नहुने मन्त्रालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?