+
+

वीरगञ्जका मेयर : कांग्रेसमा जान चाहन्थे, एमाले प्रवेश गरे

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १९:४७

२८ फागुन, काठमाडौं । जनप्रतिनिधिका रूपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए ।

एकातिर पार्टीले दोहोर्‍याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी यो पटक पार्टी परिर्वतन गर्न चाहन्थे । ताकि फेरि मेयर बन्न सहज होस् । सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । वीरगञ्ज पुगेका एमाले अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराए

सरावगीको चाहना नेपाली कांग्रेसमा प्रवेश गर्ने थियो । विद्यार्थी जीवनमा नेविसंघको राजनीति गरेको र शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा साथ दिएको नाता पनि थियो । त्यसैले करिब तीन महिनाअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर पार्टी प्रवेश गर्न चाहेको बताएका थिए ।

देउवाले आफू निकट केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई भेट्न सुझाए । सरावगीले पर्साका नेता रिजाललाई भेटेर कुराकानी पनि गरे । तर मेयरको टिकट पनि दिनुपर्ने भएकाले रिजालले पार्टीका अरू नेताहरुको राय बुझे ।

नेताहरुले ‘साह्रै अनपपुलर छ, उनलाई पार्टीमा ल्याएर बद्नामी बोक्नु हुँदैन, छोडिदिनुस्’ भनेपछि आफूले धेरै चासो देखाएको कांग्रेस नेता रिजाल बताउँछन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित सरावगीले १९ हजार ३९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १९ हजार १९७ मत पाएका थिए । अर्थात सरावगीसँग करिब दुई सय मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

तर उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की निर्वाचित भएकी थिइन् र उनले मेयर सरावगीले भन्दा पनि बढी मत पाएकी थिइन् । कार्कीले १९ हजार ६०७ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी तत्कालीन समाजवादी फोरमकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाएकी थिइन् ।

त्यसैले सरावगी एमालेमा जाँदा जसपाको भोट घट्ने र आफूलाई सहज हुने कांग्रेसको विश्वास छ । कांग्रेसले भाउ नदिएपछि सरावगी एमालेतिर लागे । सरावगीले पूर्वमन्त्री एवं उद्योगी मोती दुगडमार्फत् एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पार्टी प्रवेशको प्रस्ताव पुर्‍याए ।

२०७४ को स्थानीय तह चुनावमा वीरगञ्ज महानगरमा पाँचौं भएको एमालेले मेयरले नै पार्टी प्रवेश गर्छु भन्दा अस्वीकार गर्ने कुरै भएन । व्यापारी समेत रहेका सरावगीका कारण जति भोट थपिन्छ, त्यो उसका लागि लाभ नै हो ।

अघिल्लो साता काठमाडौं आउँदा आफूलाई भेटेर एमाले आउने पक्का गरेका मेयर सरावगीलाई पार्टी प्रवेश गराउन ओली शनिबार वीरगञ्ज पुगे । सरावगीले भनेका छन्, ‘म अर्कै पार्टीमा गइसकेको थिए । पूर्वमन्त्री मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो । त्यसपछि एमालेमा आएँ ।’

यद्यपि, उनी अन्तिम समयसम्म काँग्रेसमा प्रवेश गर्न प्रयासरत थिए । शुक्रबार साँझसम्म काँग्रेस महामन्त्री गगन थापासम्म आफ्नो चाहनाबारे सम्पर्क सुत्रमार्फत् कुरा पुर्‍याइरहेका थिए ।

जसपा नेताहरुलाई सरावगीले पार्टी छाड्दैछन् भन्ने थाहा नभएको होइन । तर मेयरमा निर्वाचित भएदेखि नै पार्टीलाई सहयोग नगरेको र जनप्रतिनिधिको रूपमा गरेको काम पनि सन्तोषजनक नभएकाले रोक्न प्रयास नगरेको पर्साका जसपा नेता प्रदीप यादव बताउँछन् ।

तीन ‘खेलाडी’ एमालेमा

मेयर सरावगीको प्रवेशसँगै वीरगञ्जको राजनीतिका तीन खेलाडी एमालेमा भेला भएका छन् ।

एमालेले अघिल्लो स्थानीय चुनावमा मेयरको उम्मेदवार बनाएका नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका बसरुद्दिन अन्सारी अहिले पनि पार्टीमै छन् । तत्कालीन राजपाबाट मेयरमा प्रतिस्पर्धा गरेका राजेशमान सिंह एक महिना पहिले मात्र एमालेमा प्रवेश गरेका थिए ।

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर २८ माघमा एमाले प्रवेश गरेका हुन् । उनी पनि वीरगञ्जको मेयरको उम्मेदवार बन्ने सहमतिमा एमाले प्रवेश गरेका उनी निकटहरू बताउँछन् । सरावगी थपिएपछि भने ३० वैशाखको चुनावमा अरु दलसँग लड्नुअघि टिकटकै लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमाले नेताहरू भने सिंहलाई प्रदेशसभा सदस्य र सरावगीलाई मेयरमा उम्मेदवार बनाउने विकल्प देख्छन् । उनीहरूकाअनुसार जसपामा असन्तुष्ट रहेको प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवलाई पनि पार्टी प्रवेश गराउने प्रयास भइरहेको छ । त्यसो भएमा व्यक्तिगत भोट भएका तीन नेताको बलमा वीरगञ्जको चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकिने नेताहरू बताउँछन् ।

व्यापारिक घरानामा जन्मिएका विजयी सरावगी मेयर निर्वाचित हुनु अघिसम्म वीरगञ्जमा सफल उद्योगी व्यवसायी थिए । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।

२०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । २०७४ सालको स्थानीय निर्वाचन हुनुभन्दा ६ महिनाअघि तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?