+
+

मुख्य रजिस्ट्रारलाई न्यायाधीश सिफारिसको निर्णय विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १८:२७

३० फागुन, काठमाडौं । न्यायपरिषदको २६ फागुनको बैठकले गरेको न्यायाधीश नियुक्ति सिफारिस विवादमा परेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अधयक्षतामा बसेको न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सो निर्णयको सर्वोच्च अदालतका कर्मचारीहरुले नै विरोध गरेका छन् ।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद उच्च अदालतको मुख्य न्यायाधीश सरह मानिन्छ । कामु प्रधानन्याधीश कार्कीको नेतृत्वको परिषद बैठकले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेपछि निर्णय विवादमा परेको हो ।

न्यायपरिषदका एक सदस्यले कामू प्रधानन्यायाधीश कार्कीमाथि असहयोग गरेका कारण कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको बताए ।

‘उहाँ प्रशासनको नेतृत्व गरेको मान्छे राजनीतिक रुपमा प्रस्तुत भएकाले उच्चमा सिफारिस भएको हो’ ती सदस्यले भने । उनका अनुसार, दिपायलमा दरबन्दी भई उच्च अदालत पाटनमा काजमा रहेका मुख्य न्यायाधीश नृपध्वज निरौलाको पनि काज फिर्ताको निर्णय भएको छ ।

मुख्य रजिष्ट्रार कुँवरले आफ्नो इच्छा विपरीत नाम सिफारिस भएकाले उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति नलिने अडान राखेको सर्वोच्च अदालतस्रोतले बतायो । उनी मुख्य न्यायाधीश नियुक्ति भएको अवस्था बाहेक न्यायाधीश भएर नजाने बरु मुख्य रजिष्ट्रारको रुपमा काम गर्ने अडानमा छन् । उनको पदावधि अझै दुई वर्ष बाँकी छ ।

कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्च अदालतका कर्मचारीहरुले नै कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर विरोध गरेका छन् ।

उनीहरुले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीशमा पठाएर समग्र कर्मचारीको भावनामा प्रहार गरेको भन्दै विरोध गरेका हुन् । मुख्य रजिष्ट्रार कुँवरको अनिच्छाका कारण उनको नाम सिफारिस भएपनि नियुक्ति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?