
काठमाडौं । ‘बाहुबली’ फेम्ड एसएस राजमौली निर्देशित नयाँ फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा उछाल ल्याउने संकेत देखिएको छ ।
बिहीबार मध्यान्हसम्म मुलुकका ठूला मल्टिप्लेक्समा शनिबारसम्मका लागि ७० देखि ८० प्रतिशत टिकट बिक्री भइसकेको छ । क्यूएफएक्सले त बुकिङ बन्द गरेर टिकट बिक्री गरिरहेको छ ।
यसअघि यस्तो ट्रेन्ड हलिउड फिल्म ‘स्पाइडरम्यानः नो वे होम’मा देखिएको थियो । स्पाइडरम्यानको ट्रेन्डलाई पछ्याउँदै आरआरआरले ‘सोल्डआउट’मा आफूलाई बलियो तुल्याएको हो ।
क्यूएफएक्सले शुक्रबार र शनिबार फिल्मलाई ३२ शो दिएको छ जसमा ७० देखि ८० प्रतिशत टिकट बिक्री भइसकेको छ । ‘फेक बुकिङ हुनसक्ने कारणले हामीले बुकिङ बन्द गरेका छौं र टिकट बिक्री मात्र गरेका छौं,’ क्यूएफएक्स सीईओ रोशन अडिगाले भने ।
बानेश्वरस्थित वान सिनेमाजको पनि शनिबारसम्म झन्डै ९० प्रतिशत टिकट बिक्री भइसकेको निर्देशक प्रज्वल राणाले अनलाइनखबरलाई बताए । ‘बाँकी १० प्रतिशत टिकट पनि बिहीबार बेलुकासम्म सोल्डआउट हुने देखिएको छ,’ राणाले भने ।
बिग मुभिजमा पनि शनिबारसम्मको ५० प्रतिशत टिकट अग्रिम बिक्री भइसकेको छ भने १० प्रतिशत एड्भान्स बुकिङ छ । ‘राजमौलीको क्रेज आरआरआरमा देखिएको छ,’ बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले भने, ‘बुकिङ र सोल्डको क्रेज आज बेलुकासम्म निकै बढ्नेछ ।’
बाहुबली र राजमौलीको क्रेज तथा मिडिया हाइपको कारण पनि आरआरआरमा यस्तो क्रेज देखिएको बिग मुभिजका व्यवस्थापक शर्माले बताए । ‘हाइप र क्रेज निकै उच्च छ । पहिलो सप्ताहन्तमा टिकट पाउन मुस्किल हुने देखिएको छ,’ शर्माले भने ।
वितरक मनोज राठीले सुरुवाती एक सातासम्म फिल्मले सशक्त ओपनिङ गर्न सक्ने आशा व्यक्त गरे । रञ्जना, गोपीकृष्ण र बुटवलमा आईएनआईको नयाँ हल पनि सञ्चालनमा आउँदा त्यसले थप ‘फुटफल’ सिर्जना गर्न सक्ने उनले जनाए ।
उनका अनुसार नेपालका १५० पर्दाबाट फिल्म रिलिज हुने तयारीमा छ । ३ घण्टा १ मिनेट लामो फिल्मको नेपाल सेन्सर बिहीबार हुने तयारीमा छ । एनटीआर जुनियर, रामचरण र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म विश्वभर ८ हजार पर्दाबाट रिलिज हुने जनाइएको छ ।
फिल्मको पहिलो हाफ मात्र १ घण्टा ३८ मिनेट लामो छ ।
प्रतिक्रिया 4