+
+

बीआरआईमा कम्युनिष्टको चासो, कांग्रेसको बेवास्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते २०:२०

१३ चैत, काठमाडौं । चिनियाँ परियोजना बिआरआई कार्यान्वयनमा नेपालका प्रमुख राजनीतिक दलहरुबीच मत बाझिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा कम्युनिष्ट नेताहरुले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गतका परियोजना अघि बढाउन जोड दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले त्यसबारेमा उल्लेख समेत गरेनन् ।

स्टेट काउन्सिलर समेत रहेका वाङले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्वपिक्षीय वार्ता गरेका थिए भने साझँ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका थिए । स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री देउवाले चीनले दिने अरु सहयोगका बिषयमा छलफल गरेपनि बीआरआई परियोजनाबारे चासो देखाएनन् ।

वाङ नेपाल आउनुअघि नै कांग्रेस नेताहरुले बीआरआई अन्तर्गतका परियोजना पनि एमसीसीझैं अनुदानमा दिने भए सहयोग लिन सकिने बताएका थिए । पार्टीका नेताहरुसँग भएको छलफलमा पनि देउवाले बीआरआईबारे अहिले धेरै चासो नदेखाउने बताएका थिए । अहिले नेपालले ऋण लिन नसक्ने भन्दै उनले आगामी दिनमा अनुदानका लागि छलफल गर्न सकिने बताएका थिए ।

नेपाल र चीनको प्रतिनिधिमण्डल स्तरमा भएको वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि बीआरआईबारे उल्लेख नै गरिएको छैन ।

आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने चिनियाँ विदेशमन्त्री वाङलाई बिआरआई परियोजना छिटो अघि बढाउन आग्रह गरेका छन् ।

तीन दिने नेपाल भ्रमण पुरा गरी फर्किनुअघि विदेशमन्त्री वाङले एमाले र माओवादी नेताहरुलाई छुट्टाछुट्टै भेटेका थिए । दुबै दलका नेताहरुलाईे विदेशमन्त्री वाङले मेरियट होटलमा भेटवार्ता गरेका हुन् ।

एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईलाई मेरियट होटल पुगेका थिए । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । ‘पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरु अघि बढाउनुप¥यो भनेर शुरु गरेका छौँ, त्यसलाई निरन्तरता दिनुपर्छ । छिटोभन्दा छिटो कम्प्लिट गर्नुपर्छ भन्नुभयो,’ भेटपछि ट्टराईले सञ्चारकर्मीहरुसँग भने ।

बीआरआई अन्तरगत रोड, रेल्वे, सिंचाई, जलविद्युत, नाकाहरु लगायतका योजना अघि बढाउने भनिएको छ । भट्टराईका अनुसार चिनियाँ विदेशमन्त्रीले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिवद्धताअनुसार अघि बढाउने बताएका छन् ।

एमाले नेताहरुलाई भेटे लगतै चिनियाँ विदेशमन्त्री वाङले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरे । माओवादी अध्यक्ष प्रचण्ड नेताद्धय नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतलाई लिएर पुगेका थिए ।

भेटमा प्रचण्डले पनि बीआरआई कार्यान्वयनका निम्ति आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् । भेटपछि नेता बस्नेतले भने, बीआरआई लगायतका जो परियोजनाहरु छन्, त्यसको कार्यान्वयनका निम्ति आवश्यक पहल बढाउनको निम्ति लिने पहलकदमीको बारेमा चर्चा भयो ।’

बीआरआई सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको भएता पनि त्यसअन्तर्गतका एउटा पनि परियोजना अघि बढ्न सकेका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?