+
+

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १६:१९

१३ चैत, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताएका छन् ।

आइतवार काठमाडौंमा भएको कार्यक्रममा उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन गर्दै उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए । पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ छ ।

‘कति पटकको कुनै अर्थ छैन, इतिहासमा कतिपटक एक ठाउँमा लेखिएला तर के गर्‍यो महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कुनै एकजनाले एकपटकमा राम्रो गर्‍यो भने अर्को सात-आठ चोटी निर्वाचित भएर त्यही ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ ? एकपटकको हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्‍याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।

‘चुन्ने बेलामा बेठिक चुन्छौं। भ्रमपूर्ण कुराबाट चुन्छौं । विश्लेषण गर्दैनौं अनि राम्रो होस् भनेर कहीँबाट पाउँछौं ?’, उनले भने ‘त्यसकारण हामीले विवेक पुर्‍याएर छान्नुपर्छ भन्ने कुरा सिकाउने त हामीले नै हो नि राजनीति गर्नेले । यो हिसाबले जान सकौं ।’ राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर त्यसैको आधारमा टिकट दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?