+
+

जसपाद्वारा सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्षलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते ९:५४

१७ चैत, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साले सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरी (थरुइन)लाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको नीति र सिद्धान्तविपरीत काम गरेको भन्दै उनलाई जसपाबाट निष्कासन गरेको हो ।

उपाध्यक्ष चौधरीलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्सा अध्यक्ष राम नरेश यादवले जानकारी दिए । ‘उपाध्यक्षको पछिल्ला गतिविधि पार्टी हितविपरीत देखियो । अन्य पार्टीसँग साँठगाँठ पनि बढेको छ,’ उनले भने ।

काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेर पार्टी प्रवेश गरेको चर्चा चले पनि उपाध्यक्ष थरुइनले भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेकी थिइन् ।

उनका श्रीमान् शिवनाथ थारु नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष छन् । थारु सखुवा प्रसौनीस्थित दिपनारायण आदर्श माविका प्रधानाध्यापक हुन् ।

पछिल्लो पटक गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवाललाई दुव्र्यवहार गरेको र पार्टीको केन्द्रीय अध्यक्ष आएको कार्यक्रममा जानुको साटो आफैं गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास गरेपछि पार्टीमा उनीप्रति असन्तुष्टि बढेको थियो ।

उपाध्यक्ष थरुइनले गत फागुन २२ गते अध्यक्ष जयसवालले आफूमाथि हातपात गरेको अरोप लगाएकी थिइन् । तर पछि उनले नै हातपात गरेको भिडियो बाहिरिएको थियो ।

अध्यक्ष जयसवालले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीसमेत दिएका थिए । पछि उपाध्यक्ष थरुइन पनि जाहेरी लिएर गएकी थिइन् । प्रहरीले एउटै मुद्दामा दोहोरो जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयबाट जाहेरी दर्ता गराएकी थिइन् ।

दुवैजना तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएपनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच सुरुदेखि नै विवाद छ । उपाध्यक्ष थरुइनले भने स्पष्टीकरणको समेत मौका नदिइ पार्टीले कारबाही गर्नु न्यायोचित नभएको बताइन् ।

‘पार्टीमा एक जनाले जे भन्यो, त्यही हुने कुरा हुँदैन । स्पष्टीकरण त लिनुपर्छ नी । दुवै जनालाई सोध्नुपर्छ । जिल्ला अध्यक्षले फोन समेत उठाइरहनुभएको छैन’ उनले भनिन्, ‘पार्टीमा संघर्ष गर्ने वा अर्को पार्टीमा जाने अहिले निर्णय गरिसकेको छैन ।’

जसपाले मातहतका समितिलाई चैत २० गतेसम्म वडा तथा पालिकाहरुको उम्मेदवार छनौट गरेर जसपा जिल्ला समन्वय समितिमा पठाउन निर्देशन पनि दिएको छ ।

वडा कमिटीको उम्मेदवार वडा समितिले नै सर्वसम्मतले निर्णय गर्न सक्ने र सर्वसम्मती हुन नसके पालिकालाई सिफारिस गर्ने, पालिकाले पनि सर्वसम्मत निर्णयमा उम्मेदवार छान्ने त्यसो हुन नसके जिल्ला समन्वय समितिलाई पठाउनुपर्ने व्यवस्था जसपाले गरेको छ ।

बुधबारको बैठकले जिल्ला अध्यक्ष यादवको नेतृत्मा जिल्ला पदाधिकारी, सदस्य, पालिका सदस्य, क्षेत्रीय सदस्य, वडा सदस्य रहने गरी ५०१ सदस्यीय स्थानीय निर्वाचन मूल परिचालन कमिटी, सचिव तबरेज अहमदको नेतृत्वमा २०१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?