+
+

सखुवा प्रसौनी गाउँपालिकाको एउटै भवन दुई ठाउँमा शिलान्यास !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २०:५९

१४ चैत, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको दुई ठाउँमा शिलान्यास गरिएको छ । अध्यक्ष प्रदीप कुमार जयसवाल र उपाध्यक्ष फूलमती देवी थरुइनले छुट्टाछुट्टै स्थानमा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

अध्यक्ष जयसवालले सखुवाप्रसौनी– २ पंचगावा बजार नजिकैको ९ कट्ठा २ धुर जग्गामा र उपाध्यक्ष थरुइनले सखुवाप्रसौनी–२ औराहा पँचगावास्थित पुरानो आर्मी बेस क्याम्प भएको स्थानमा भूमि पुजन गरेर भवनको शिलान्यास गरेका हुन् ।

अध्यक्ष जयसवालले जनता समाजपादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हातबाट भवन शिलान्यास गराएका थिए । उनले पार्टीको जिल्लास्थित सांसद तथा नेताहरुलाई समेत कार्यक्रममा सहभगी गराएका थिए । उपाध्यक्ष थरुइनले भने आफैंले भवनको शिलान्यस गरेकी थिइन् ।

अध्यक्ष जयसवालले बुवा आमाको स्मृतिमा आफूले खरिद गरेको ३ विघा जग्गा मध्येबाट गाउँपालिकाको भवन बनाउन ९ कठ्ठा २ धुर जग्गा दान गरेको बताएका छन् । तर उपाध्यक्ष थरुइनले गाउँपालिका अध्यक्ष जयसवालले जनचाहना विपरीत भवन शिलान्यास गरेको आरोप लगाएकी छन् । ‘जनताको चित्त जहाँ बुझ्छ त्यहीँ कार्यालय भवन बन्नुपर्छ’ उनले भनिन् ‘सडक सुविधा भएको र जनताको चित्त बुझ्ने ठाउँमा हामीले भवन शिलान्यास गरेका छौं ।’

भाउ बढाउने उद्देश्यले गाउँपालिका अध्यक्ष जयसवालले गाउँपालिका कार्यालय आफ्नो जग्गामा लगेको उनको आरोप छ । ‘साढे ४ वर्ष कहाँ हुनुहुन्थ्यो ? सबैतिर कार्यालय भवन बन्दा उहाँ किन चुप हुनुहुन्थ्यो’ उनले भनिन्, ‘चुनावको मुखमा जग्गा दान गरेर जनताको आँखामा पट्टी बाँध्न खोजिएको छ । जनतालाई सब थाहा छ अध्यक्षले आफ्नो जग्गाको भाउ बढाउन नै त्यसो गरेका हुन् । भवन बनाउन लागिएको जग्गासम्म जाने बाटो पनि छैन ।’

भवन शिलान्यास गराउन गाउँपालिकाका अन्य राजनीतिक दलले पनि आफूलाई समर्थन गरेको उनले बताइन् । सोमबार ८ वटा राजनीतिक दलले विभिन्न माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष जयसवालले भने भवन बनाउन गाउँपालिका कार्यालयको नाममा जग्गा आवश्यक पर्ने भएकोले आफूले जग्गा दान गरेको बताएका छन् ।

‘गाउँपालिकाको नाममा जग्गा भए ७/८ करोड रुपैयाँ भवन बनाउन दिने संघीय मामिला मन्त्रालयबाट आश्वासन पाएको थिएँ । त्यसैले बुवाआमाको स्मृतिमा ९ कठ्ठा २ धुर जमिन गाउँपालिकालाई दिएको हुँ’ उनले भने, ‘आफ्नो जग्गाको भाउ बढाउन खोजेको भन्ने आरोप सरासर गलत छ । स्थानीय तहको चुनावपछि स्वयं म त्यहीँ गएर बस्ने योजनामा छु । गाउँपालिकासम्म जान २० फिटको बाटो पनि दिन्छु ।’

भवन बनाउने स्थानबारे निर्णय हुँदा उपाध्यक्ष थरुइनले समेतले हस्ताक्षर गरेको उनले बताए । ‘भवन बनाउने स्थान बारेको निर्णयमा १४ जना पालिका सदस्यले नै हस्ताक्षर गरेका छन्’ उनले भने, ‘अहिले अस्पतालको नाममा भएको जग्गामा भवन शिलान्यास गरेर नाटक मात्रै गरेका हुन् ।’

भवनको डीपीआर तयार भइसकेको बताउँदै उनले आफूले शिलान्यास गराएको स्थानमा नै कार्यालय भवन बन्ने दावी गरे । अध्यक्ष र उपाध्यक्ष तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएपनि उनीहरुबीच शुरुदेखि नै विवाद चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?