+
+

काठमाडौंको सडकमै फेरि थुप्रिन थाल्यो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १९:५३
फाइल तस्वीर

१८ चैत, काठमाडौं । फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीन पिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै शुक्रबार फोहोर बोकेर गएका गाडी फिर्ता पठाएका छन् ।

फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउन काम रोकिएको थियो । उठाउन बाँकी रहेको फोहोर व्यवस्थापन गर्न नपाउँदै फेरि फोहोर बिर्सजनमा तीन पिप्लेका स्थानीयले अवरोध गरेका हुन् । नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट जाने सडकमा भएको यो अवरोध डेढ महिनाभित्रको तेस्रोपटक हो ।

८ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको सडक अहिलेसम्म बनेको छैन । ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम भएको छ । ठेकदार शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् ।

गत १ फागुनदेखि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए । फेरि फगुनको अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए ।

फोहोर उठ्न नसकेपछि अहिले पनि काठमाडौंको धेरै ठाउँमा फोहोरको थुप्रो लागेका छन् । महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राई सडकमा अवरोध भएकोबारे सडक विभागमा जानकारी गराइएको बताउँछिन् । उनका अनुसार शुक्रबार करिब २०० सवारी फोहोर नफाली बाटैबाट फर्किएका छन् ।

हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट जाने गरेको छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

तर, अव सडक अवरुद्ध भएपछि फोहोर उठाउने काम पूर्ण रुपमा बन्द भएको छ । टेकुको फोहोर ट्रान्सफर स्टेसनमा पनि स्थानीयले फोहोर जम्म गर्न दिंदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?