+
+

कानूनी शिक्षावारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउनू : सर्वोच्च अदालत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:०५

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेपालको कानूनको शिक्षाका वारेमा उच्चस्तरीय अध्ययन समिति गठन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

सर्वोच्चले कानूनी शिक्षाको विभिन्न पाटोमा अध्ययन गरी त्यसलाई सर्वसुलभ बनाउन महान्यायाधीवक्ताको नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । महान्यायाधीवक्ता नेपाल कानून व्यवसायी परिषदका अध्यक्ष हुन्छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयाँलको इजलासले कानूनी शिक्षाको पाठ्यक्रम, अध्ययन प्रणाली, विद्यार्थी संस्था, प्रवेश परीक्षा र भर्ना, अध्यापकलगायतको पाटोमा अध्ययन गर्न भनेको हो ।

कानून अध्ययनका लागि विश्वविद्यालयले आफू अनुकुल छुट्टाछुट्टै योग्यता तोकेको र प्रवेश परीक्षा लिने गरेको भन्दै सर्वोच्च अदालतले त्यसमा एकरुपता र गुणस्तरीयता कायम गर्न आदेश दिएको हो । अनि सबै विश्वविद्यालयमा एकात्मक प्रवेश परीक्षा प्रणालीको विकास गर्न निर्देशन दिएको छ ।

एसईई परीक्षामा सी ग्रेडभन्दा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई मात्रै कानूनमा भर्ना गर्न सुझाव दिँदै सर्वोच्च अदालतले त्यसवारेमा आवश्यक व्यवस्था गर्न उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिने निर्णय गरेको छ ।

नेपाल कानून व्यवसायी परिषद्को अहिलेको संरचनाले कानूनी शिक्षाको नियमन गर्न नसकेको भन्दै सर्वोच्च अदालतले कानून शिक्षा हेर्ने महाशाखा र त्यसको लागि उच्चस्तरको जनशक्ति र बजेटको व्यवस्था गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले सुरुवातदेखि नेपालको कानूनी शिक्षामा योगदान गरेको नेपाल ल क्याम्पसलाई कानूनी शिक्षाको लागि विशिष्टिकृत शिक्षण संस्थाको रूपमा स्थापित गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ ।

पछिल्ला केही वर्षयता नेपालमा कानून पढ्ने विद्यार्थीको संख्या अत्यधिक बढेको तर त्यस अनुसार गुणस्तर कायम हुन नसकेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । त्यही मुद्दाको सुनुवाईका क्रममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले शिक्षण संस्थाको पूर्वाधारको निर्धारण गर्न भन्दै त्यसका आधारमा विद्यार्थी भर्नाको व्यवस्था गर्न भनेको छ । अनि विद्यार्थीलाई कानूनी पाठ्यक्रमलाई अद्यावधिक गर्न र विश्वपरिवेश अनुकुलको कानूनी शिक्षा प्रदान गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?