+
+

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १५:४३

२३ चैत, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे सम्झौता भएको छ ।

समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले बुधबार हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् । सो अनुसार आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडी/एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् ।

यो सम्झौताले विरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए । ‘खासगरी शल्यक्रियाका लागि पालो कुरेर बसेका विरामीले छिटै पालो पाउने छन्’ डा. ढकालले भने ।

सम्झौतापछि लुम्बिनी प्रादेशिक अस्पताल शैक्षिक गतिविधिमा आवद्ध हुने र चिकित्सकहरुलाई प्रक्रिया पुर्‍याएर शिक्षक बनाउन सकिने ढकालले बताए । कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले प्रतिष्ठानमा विरामीको चाप कम हुने तर विद्यार्थी धेरै भएकाले बिरामीको चाप धेरै भएको लुम्बिनी प्रादेशिक अस्पतालसंग सहकार्य गरेको बताए । भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने डा. थापाले बताए ।

कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक दशकको अवधिमै अब्बल सावित गरेको उल्लेख गर्दै अन्य प्रदेशका अस्पतालसंग पनि यस्तै सम्झौता गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?