+
+
अन्तर्वार्ता :

दोहोरिने होइन, अघि बढ्ने हो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १४:४८

२ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ३० वैशाखमा हुने स्थानीय चुनावमा मेयरमा आकाँंक्षा राखेकी छन् । २०७४ को निर्वाचनमा भण्डारी उपमेयर जित्दा नेकपा एमालेकै नेता तारा सुब्बा मेयर निर्वाचित भएका थिए । सुब्बाको निधन भइसकेको छ ।

सुब्बाको निधनपछि उपनिर्वाचनबाट नयाँ मेयर नआएसम्म धरान महानगरको कार्यवाहक प्रमुख रहेकी भण्डारी आफूलाई सफल भन्छिन् । उनी आफूसँगै देशभरका उपमेयरहरुलाई मेयरमा प्रतिस्पर्धा गर्ने बातावरण बन्नेमा विश्वस्त छन् । ‘नेतृत्वसँग विश्वास छ, देशभर उपप्रमुखहरुलाई नै प्रमुखका रुपमा अगाडि बढाइनेछ’, भण्डारी भन्छिन् ।

स्थानीय चुनाव, पाँच वर्षे स्थानीय सरकारको अनुभव र जनताको सरोकारका विषयमा उपमेयर भण्डारीसँग अनलाइनकर्मी लिलु डुम्रे र हरि अधिकारीले कुराकानी गरेका छन् । प्रस्तुत छ, भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

केही समय धरान उपमहानगरपालिकाको कार्यवाहक नेतृत्व लिनुभयो । कार्यवाहक मेयरसहितको यो कार्यकाललाई कसरी सम्झनुहुन्छ ?

आफूलाई सफल उपमेयरका रुपमा दावी गर्छु । किनकी उपमेयरलाई दिइएको भूमिकामा उत्कृष्ट छु । सबै काममा शतप्रतिशत नतिजा ल्याएका छौं । न्यायिक समितिको काममा सफल छु । यातायात व्यवस्थापनदेखि मूल्यवृद्धि नियन्त्रण गर्दै जनजीविकालाई सहजीकरण गर्ने भूमिका निर्वाह गरेका छौं ।

योजना अनुगमनका क्रममा गुणस्तरमा कमी हुन नदिने गरी काम गरेका छौं । कमजोरी भए सुधार गर्न लगाएका छौं । उपभोक्ता समिति, निर्माण व्यावसायीलाई गुणस्तरीय काम गर्न लगायौं । बजेट तर्जुमा समितिका संयोजकको भूमिका उपमेयरले निर्वाह गर्नुपर्छ । त्यो समितिको भूमिका महत्वपूर्ण ढंगले पुरा गरें ।

बजेटको सिलिङ पाएपछि सबै विषयगत समितिका संयोजकसँग छलफल गरे, सबैसँग छलफल गरेर समन्वयात्मक र कार्यान्वयनमुखी बजेट बनायौं । म देशको उत्कृष्ट पाँच उपमेयरमा पर्छु ।

उपनिर्वाचनपछि फरक दलबाट मेयर आउनुभयो । समन्वय कस्तो रह्यो ?

असहयोग भएको मैले थाहा पाइनँ । परामर्श नहुँदा केही कन्फ्युजन हुन्छन् । तर, उपमेयरलाई ऐनले छुट्टै परिभाषित जिम्मेवारी दिएको छ । आफ्नो काम गर्न कसले रोक्छ भन्या ! म संविधान पढेर उपमेयर भएको हुँ ।

स्थानीय सरकार सञ्चालन ऐन पढेर आएको हो । ऐन पढेर आएको कारण मलाई मेरो क्षेत्राधिकार प्रयोग गर्नबाट कसैले रोक्न सकेन । हस्तक्षेप पनि गरेनन् । कसैले हस्तक्षेत्र गर्न खोज्छ भने तपाईंको क्षेत्राधारको विषय हो यो भनेर प्रतिप्रश्न गर्नु सक्नुपर्छ । हस्तक्षेप गर्ने ठाउँ दिन पनि भएन ।

तर ऐन, कानुन र कार्यविधि पढिएन भने घुमाउन सक्छन् । नत्र अरुले घुमाउन सक्दैनन् । यद्यपि केही केही कुरामा असन्तुलन हुनसक्छ । क्षेत्राधिकारका विषयमा सहकार्य र समन्वय भएन भने विवाद हुन्छ । स्थानीय सरकार भनेको समन्वय र सहकार्य गर्ने ठाउँ हो । मेयरले उपमेयरलाई गर्नुपर्ने समन्वयन गरेन भने विवाद हुन्छ । तर मेयर र उपमेयरको आ–आफ्नै क्षेत्राधिकार छ ।

यसको अर्थ फरक–फरक दलबाट मेयर र उपमेयर आउँदा पनि फरक नपर्ने रहेछ ?

फरक पर्दैन । तर एउटै पार्टीको आए पार्टीको निर्णय कार्यान्वयन गर्न सहज हुन्छ । पार्टीको निर्देशन हुन्छ । पार्टीको संसदीय दलको बैठक हुन्छ । बैठकमा छलफल हुन्छ । विवाद भए त्यही छलफलमा राखिन्छ ।

बाहिर छरपष्ट पारेर, पत्रिकामा रुँदै हिड्नुको अर्थ हुदैन् । जहाँ समस्या छ, त्यहीँ समाधान खोज्ने हो । पहिला आफ्नै पार्टीको मेयर हुँदा डटेर कुरा राख्थे । विपक्षी पार्टीको मेयरसँग पनि डटेर कुरा राखेँ ।

विधि भन्दा बाहिरको कुरा राखिँदैन । जनताको मुद्दा राखिन्छ । जनताको मुद्दामा कसैले नाइँ भन्न पाउँदैन । हुँदैन भन्न पाउँदैन । मलाई जनताले जति मत दिएका छन्, मेयरलाई पनि उति नै मत दिएका छन् ।

मेयर जनताको मतबाट आएको, उपमेयर पनि जनताको मतबाट आएका हुन् । एकअर्कालाई इग्नोर गर्नुपर्ने जरुरी छैन । एकले अर्कालाई रेक्सपेक्ट गरेर जाने हो ।

फरक फरक दलबाट निर्वाचित हुँदा घोषणा–पत्र कार्यान्यनमा समस्या देखिएला नि ?

विकास सबै दलको एउटै मुद्दा हो । धरानको हकमा खानेपानीको सबै जनताको मुद्दा हो । बसपार्कको मुद्दा सबै जनताको हो । भौतिक विकास सबै राजनीतिक दलको मुद्दा हो । कुन वडालाई प्राथमिकता दिने भन्ने विषय रहला ।

तर, बजेट भनेको सुत्रमा हाल्नुपर्छ । पार्टीले जितेको वडामा मात्रै बजेट हाल्छु भन्न त मिल्दैन । बजेट वितरण गर्दा सुत्रमा हालेर गरिन्छ । सुत्रमा हाल्दा समन्यवयको सिद्धान्तमा गरिन्छ । त्यहाँ भूगोल, जनसंख्या, गरिबीको अवस्था हेरिन्छ ।

तपाईं निर्वाचित हुँदै गर्दा सुकुम्बासी, खानेपानी र बसपार्कको समस्या समाधान गर्ने भन्नुभएको थियो । ती समस्या त अहिले पनि उस्तै छ नि ?

२०औं वर्ष विवादमा रहेको बसपार्क निर्माण गरिरहेका छौं । जग्गाधनीका समस्या समाधान गरेर स्मार्ट बसपार्क धमाधम बन्दैछ । त्यो कार्यक्रमको नेतृत्व मैले गरें भनेर गर्वका साथ भन्छु ।

खानेपानी आयोजना सम्पन्न भयो । तर वितरणमा मिलेन । वितरण प्रणाली मिलाउने खानेपानी बोर्डले हो । बोर्डको अध्यक्ष मेयर हुन्छ । तर बोर्डका अध्यक्षले समस्याबारे स्वेतपत्र जारी गर्नुपर्दैन ? खानेपानीबारे जनताले प्रश्न गरिरहेका छन् ।

यति ठूलो नयाँ प्रोजेक्ट आउदा पनि बोर्डका अध्यक्षले स्वेतपत्र जारी गर्नुपर्छ । बोर्डमा उपमेयर आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ । तर बोर्डको बैठक एक वर्षदेखि राखिएको छैन । बैठक राख्नुहोस् भन्दा मान्नु हुन्न । अनि कहाँबाट जनताले खानेपानी पाउँछन् ?

पानीको उत्पादनमा समस्या छैन । वितरणमा समस्या छ । म सुन्दैछु – वितरणमा मेयरका नातागोता र आफन्त नियुक्त भएका छन् । त्यहाँ तिघ्रा र मसल भएका मान्छे नियुक्त भएका छन् । नियुक्ति हुनुपर्ने त प्लम्बर हो । प्लम्बर नियुक्त गर्ने कि आफन्त ? यदि धरानबासीलाई सहज रुपमा पानी खुवाउने हो भने व्यवस्थापकको जिम्मा मलाई दिनुहोस् । मसँग वितरण गर्न सक्ने हिम्मत छ ।

अव्यवस्थित भूमिहीन सुकुम्बासी समिति गठन गरेर काम गरेका छौं । घर नम्बरिङ गर्ने, डकुमेन्ट तयार गर्ने काम गरिरहेका छौं । नम्बर प्राप्त गर्ने व्यक्तिलाई आयोगले अर्काे फारम नभराई लालपूर्जा दिन मिन्छ भनेर नगरपालिकाले डकुमेन्ट तयार गरेको छ । जग्गा वितरण गर्ने तयारी गरेका थियौं । तर, सरकार परिवर्तन भएका कारण लापूर्जा वितरण गर्न सकिएन् । उपमहानगरको तथ्याङ्कमा १३ हजार ५ सय सुकुम्बासी छन् ।

जनताको आँगनमा सिंहदरबार पुगेको रुपमा बुझिएको स्थानीय सरकारले संघको विकृति धेरै सिके भन्ने आलोचनाबारे केही भन्नु हुन्छ ?

त्यस्तो लाग्दैन् । स्थानीय सरकारको यो पहिलो अभ्यास हो । अझै कतिपय पालिका संरचना विहीन छन् । भाडामा बसेर सेवा दिइरहेका छन् । तर धरानमा सवै वडा कार्यालय बनेको छ । वडाबाटै सेवासुविधा दिन्छौं । वडाबाटै योजनाको सम्झौता हुन्छ र वडाबाटै भुक्तानी हुन्छ ।

जनताले घरमा बसेरै अनलाइनबाट ट्याक्स तिर्न सक्छन् । धराने जनता देशविदेशमा छन् । उनीहरुले विदेशबाटै कर तिर्न सक्छन् । यो सेवा हामीले जनतालाई दिएका छौं । जनतालाई आधारभूत सुविधा वडामा दिएका छौं । संघीयताको जग बसाएका छौं । विकृति स्थानीय सरकारमा नभएर माथि नै छ, खोज्नुपर्छ ।

तपाईंले आफूलाई उत्कृष्ट उपमेयरका रुपमा दावी गर्नुभयो । फेरि दोहोरिने हो ?

होइन । उपमेयरका रुपमा मैले काम गरिसकेँ । अब अगाडि बढ्ने हो ।

तर तपाईंकै पार्टी एमालेले पनि अघोषित नीतिकै रुपमा महिला भनेपछि उपमेयर र उपप्रमुखको उम्मेद्वार भन्ने स्थापित गरेको छ नि ?

अघिल्लो पटक धेरै त्यस्तो भयो । तर यसपटक नेतृत्वसँग विश्वास छ । देशभर उपप्रमुखहरुलाई नै प्रमुखका रुपमा अगाडि बढाइनेछ । पाँच वर्षे अनुभवले पनि स्थानीय सरकारको नेतृत्व गर्न योग्य र सक्षम छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?