+
+

उद्यम-व्यवसाय सुरु गर्नेका लागि डा. विवेक बिन्द्राको सूत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:४७

काठमाडौं । अनिलकुमार सिंह सर्लाहीको लालबन्दीबाट काठमाडौं आए । एक रात आफन्तको डेरामा बास बसे । र, भोलिपल्ट सबेरै ललितपुरस्थित गोदावरी पुगे । उनी यत्तिका दौडधूप किन पनि गर्दै थिए भने उनलाई डा. विवेक विन्द्रासँग साक्षात्कार गर्नु थियो ।

युट्युबलगायत सामाजिक सञ्जालमा उनले प्रेरक वक्ता डा. बिन्द्रालाई पछ्याइरहेका रहेछन् । जति सुन्यो सुनिरहुँ लाग्ने डा. बिन्द्राको वाचन शैली र नयाँ–नयाँ जुक्तिले उनलाई तानेको थियो । बिन्द्राको कुरा सुनेर उनको कहिल्यै धीत मरेन । त्यसैले त महंगो शुल्क तिरेर सिंह बिन्द्रालाई प्रत्यक्ष सुन्न आए ।

नवनिर्मित सभाहल ‘गोदावरी सनराइज’मा शनिबार लगभग तीन हजार दर्शक डा. बिन्द्रालाई सुन्न आतुर थिए । कोरोना महामारीपछिको स्थितिमा कसरी आर्थिक समृद्धिको मेलो पहिल्याउने भन्ने विषयमा केन्द्रित रहेर बिन्द्राले चार घण्टा प्रेरणादायी कुरा सुनाए । उद्यम-व्यवसाय गर्न चाहने, गरिरहेका र त्यसमा असफलता झेलिरहेकाहरुका लागि डा. बिन्द्राको कुरा घतलाग्दो मात्र थिएन, उत्तिकै अनुकरणीय पनि । नवउद्यम सुरु गर्ने तरखरमा रहेकाहरु यसबाट अरु बढी लाभान्वित भएको बताइरहेका थिए ।

‘नयाँ उद्यम सुरु गर्नेका लागि निकै उपयोगी सूत्र दिएका छन्,’ सभाहलबाट बाहिरिंदै गरेका सर्लाहीका सिंह भन्छन्, ‘कुनै पनि उद्यम कसरी सुरु गर्ने, त्यसलाई कसरी स्थापित गर्ने र कसरी असफल हुनबाट जोगिने भन्ने कुरा सिकियो ।’ उनले आफ्नै उद्यम सुरु गरे, पटकपटक । तर उत्तिनै पटक त्यो असफल रह्यो । ‘म के कारणले असफल भएको रहेछु भन्ने कुरा यहाँ आएपछि स्पष्ट भएँ,’ उनी भन्छन्, ‘र मलाई आफ्नो कमजोरी महसुस भयो ।’

कोरोना महामारीपछि नेपालमा पनि स्टार्टअप व्यवसायको लहर चलेको छ । यद्यपि नयाँ उद्यमलाई कसरी प्रभावकारी रुपमा स्थापित गर्न सकिन्छ भन्ने ठोस ज्ञान र अनुभव नहुँदा यसले अपेक्षाकृत सफलता हासिल गर्न सकिरहेको छैन । शनिबार डा. बिन्द्राले असफलताको कारक औल्याउँदै त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने जुक्ति सिकाए ।

नव उद्यम-व्यवसाय गर्नेले सबैभन्दा पहिले बजारको अवस्थिति मूल्यांकन गर्नुपर्ने, उपभोक्ताको आवश्यकता जान्नुपर्ने र अरुले भन्दा भिन्न स्वरुपमा आफ्नो उत्पादन पेश गर्नुपर्ने उनको सुझाव थियो । ‘कुन वस्तु, उत्पादन वा सेवा उपयुक्त हुन्छ, जुन म मात्र गर्न सक्छु भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने रहेछ,’ सिंह भन्छन् ।

चारघण्टे प्रवचनमा सहभागी पुष्पा भट्टराईलाई डा. बिन्द्राबाट केही नयाँ जुक्ति सिकेको बोध भयो । ‘व्यवसायमुखी कार्यक्रम भएकाले हामी जस्ता युवाहरु यसबाट बढी लाभान्वित भइयो,’ उनी भन्छिन् । युवाहरु केही न केही गर्न खोजिरहेका हुन्छन् । तर त्यसलाई सही ढंगले गर्ने तौरतरिका अपनाइरहेका हुँदैनन् । आखिर उनीहरुले त्यस्तो के गल्ती, कमजोरी गर्छन् जसले गर्दा उनीहरुको उद्यम, व्यवसाय सफल हुँदैन ?

‘कुनै पनि उद्यम व्यवसाय सुरु गरेपनि त्यसलाई हामीले किन हाँक्न सक्दैनौं र टुंगोसम्म पुर्‍याउन सक्दैनौं भन्ने कुरा उनले स्पष्टसँग बताइदिए,’ भट्टराई भन्छिन् । आफू एक सेवा प्रदायक संस्थामा रहेको र ग्राहकको अनुभूति, भावनालाई अझै पनि बुझ्न नसकिरहेको उनले महसुस गरिन् ।

मनोजकुमार लाल कर्ण युनियन लाइफ इन्स्योरेन्सका सीईओ हुन् । उनी आफ्ना शाखा प्रबन्धक र बजार व्यवस्थापकहरुसँगै कार्यक्रममा सहभागी भए । ‘हामी जस्तो सेवा प्रदायकका लागि यो धेरै प्रभावकारी रह्यो,’ उनले सुनाए, ‘खासगरी ग्राहकसँग कसरी भेट्ने, कस्तो व्यवहार, कसरी समय व्यवस्थापन गर्ने, कसरी आफैंलाई अपग्रेड गर्ने भन्ने कुरा बिन्द्राले विस्तृतमा बुझाइदिएँ ।’

यो एउटा सिकाइको नियमित प्रक्रिया भएको र यस किसिमको उत्प्रेरक कुराले नयाँ जुक्ति अनि उर्जा थपिदिने उनको अनुभव छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?