+
+

गोरखाको मेयरमा कांग्रेसबाट श्रेष्ठको टिकट खोसियो, पन्त बने उम्मेदवार

विकास मरहट्टा विकास मरहट्टा
२०७९ वैशाख १२ गते १७:४८
उम्मेदवारी दर्ता गराउन जाँदै मेयरका उम्मेदवार राजनराज पन्त र उपमेयर मसलीमाया थोकर ।

१२ वैशाख, गोरखा । गोरखा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट विश्वदेव श्रेष्ठले पाएको टिकट राजनराज पन्तलाई दिइएको छ ।

कांग्रेस पार्टीको गण्डकी प्रदेश समितिले गरेको निर्णयलाई उल्ट्याउदै सोमबार केन्द्रीय समितिले पन्तलाई टिकट दिने निर्णय गरेको कांग्रेसका एक जिल्ला नेताले बताए ।

आइतबार साँझ गण्डकी प्रदेश समितिले श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रदेश समितिले मेयरको उम्मेदवार श्रेष्ठ र उपमेयरको उम्मेदवार मसलीमाया थोकरलाई बनाउने निर्णय गरेको प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठले अनलाइनखबरसँग बताएका थिए ।

तर उक्त निर्णय प्रति असन्तुष्टी जनाउँदै जिल्लाका केही कार्यकर्ताहरुले सोमबार बिहान तीनधारे स्थित पार्टी कार्यालयको मूल गेटमा ताला लगाउदै नगर समिति कार्यालयमा धर्ना समेत दिएका थिए ।

उक्त समूहले मेयरको उम्मेदवार श्रेष्ठमाथि हातपात समेत गरे । मेयरको उम्मेदवारका लागि पार्टीले दिएको पत्र लिएर पोखराबाट फर्कदै गरेका श्रेष्ठ फोटो खिच्नका लागि सदरमुकामस्थित एक फोटो स्टुडियो पसेका बेला स्टुडियो भित्रै गएर केही युवाहरुले उनी माथि हातपात गरेका हुन् ।

असन्तुष्ट पक्षले प्रदेशले गरेको निर्णय मान्य नहुने भन्दै परिवर्तन गर्न माग राख्दै आएको थियो । पन्तलाई टिकट दिन भन्दै जिल्लाका केही नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय नेताहरुलाई समेत हारगुहार गरेका थिए ।

मनोनयनको अन्तिम समयमा केन्द्रीय समितिले पन्तलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि बाजागाजा सहित पन्त मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय गएका छन् । उपमेयरको उम्मेदवार भने थोकर नै बनेकी छन् ।

के भन्छन् श्रेष्ठ ?

केन्द्रमा गलत ब्रिफिङ गराएर सुनियोजित तवरबाट आफूले पाएको टिकट खोएिको श्रेष्ठले बताएका छन् । आफ्नो टिकट खोस्न केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे नै लागेको उनले आरोप लगाए ।

‘केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे मार्फत जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी छ, सबै बाटो छेकेर उम्मेदवारी दर्ता गर्न पनि नदिने भनेर बसेका छन् भनेर केन्द्रमा गलत ब्रिफिङ गराएर मेरो टिकट खोसे,’ उनले भने ।

आफूमाथि हातपात गर्नेहरुले ‘राजन पन्तको टिकट किन खोसिस्’ भन्दै हातपात गरेको बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?