+
+

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले फिल्म क्षेत्र उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:३३
फाइल तस्वीर

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई नेपाली फिल्म क्षेत्रका दुई संस्थाले स्वागत गरेका छन् ।

चलचित्र संघ र चलचित्र निर्माता संघले शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयलाई लामो समयदेखिको आफूहरुको माग पूरा भएको भन्दै स्वागतयोग्य भएको बताएका हुन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरुको माग पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

‘यो स्वागतयोग्य निर्णय हो । हामीले पटक-पटक सरकारलाई दबाब दिएका थियौं,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘छुट्टी नहुँदा दर्शकले मनपर्ने फिल्म पनि हेर्न पाएका थिएनन् । राम्रा फिल्म हेर्ने अवसर हो । अब शनिबार बराबरको व्यवसाय हुन्छ ।’

शनिबार व्यक्तिगत कार्य सम्पन्न हुँदा आइतबार मनोरञ्जनलाई समय दिन सकिने उनको धारणा छ । ‘अब मानिसलाई शनिबार काम सकेर आइतबार फिल्म हेर्न छुट हुन्छ,’ उनले भने ।

सिनेमा हलहरुको छाता संस्था चलचित्र संघका सदस्य नरेन्द्र महर्जन पनि सरकारी निर्णय स्वागतयोग्य भएको बताए । ‘अब शनिबारकै बराबर व्यापार हुन्छ किनभने फिल्म क्षेत्रमा बिदाको दिनको महत्व हुन्छ,’ महर्जनले भने, ‘यसअघि हामीले पर्यटन मन्त्रालयमा पनि यसबारे दबाब दिएका थियौं । खुसी लागेको छ ।’

सुरुमै आइतबार बिदाको बानी नपर्ने भएपनि क्रमशः बिदाको बानी बस्दै जाँदा हलमा दर्शक आउन सक्ने उनको भनाइ छ ।

वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएकाले कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिएनन् । वैशाख २३ गते शुक्रबार लक्का जवान, षट्कोण र डक्टर स्ट्रेन्ज २ रिलिज हुनेछन् । चुनावका कारण यी तीनैवटा फिल्मलाई दुई सप्ताहन्तको फाइदा हुनेछ ।

वैशाख ३१ गते शनिबार र जेठ १ गते आइतबार पनि सरकारी बिदा हुने भएपछि तीनैवटा फिल्मलाई फाइदा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?