+
+

‘हामी कहिलेसम्म भोट नचल्ने भएर बस्ने ?’

‘हाम्रो समस्या नेताहरूलाई सुनाइदिनुहोला । मैले कहिलेदेखि भोट हाल्न पाउँछु ? म नेपालमै जन्मिएकी, यहीं बस्ने मान्छे हुँ । माइती यहीं, घर पनि यहीं तर धन–सम्पत्ति छैन भनेर किन यसरी हेलाँ गरिएको होला ? कहिलेसम्म भोट नचल्ने भएर बस्ने हामी ?’

मानकीदेवी सदा मानकीदेवी सदा
२०७९ वैशाख १६ गते २०:१०

म ६२ वर्षकी भएँ । गाउँमा अहिले चुनावको माहोल छ । चुनाव सुरु भएपछि देहातमा अवस्था नै फरक हुन्छ । नेताहरूले भोट माग्न सुरु गरे । तर, मलाई भने चुनाव जति नजिक आउँछ त्यति नरमाइलो लाग्छ । त्यसको कारण हो, अहिलेसम्म मैले भोट दिन नै पाएकी छैन । कसरी भोट दिन्छन् भन्ने पनि थाहा छैन । भोट दिने कागजमा मेरो नाम नभएर भोट दिन नपाएकी हुँ । आफूले भोट दिन नपाउँदा त यो चुनाव नै नआए पनि हुन्थ्यो जस्तो लाग्छ । भोट दिन पाउनेहरूको खुसी नै फरक हुन्छ ।

मेरो घरमा श्रीमान्ले भोट दिनुहुन्छ । मैले श्रीमान्लाई पनि धेरै पटक भोट दिन मेरो पनि नाम लेखाइदिनुस् न भनें । तर नागरिकता छैन, नागरिकता नभएसम्म भोट दिन पाइँदैन भन्नुहुन्छ । उहाँको नागरिकता छ, भोट दिनुभएको छ । मेरो नागरिकता छैन ।

म नेपालमै जन्मेकी हुँ, विवाह भएर यो घरमा आएकी हुँ । मेरो किन नागरिकता बनेन ? माइतीतिरकाले बनाइदिएनन्, घरतिरकाले पनि बनाइदिएनन् । नागरिकता नभएकोले भोट हाल्न पाइँदैन भन्छन् । तर मेरो नागरिकता किन बनेन मलाई नै थाहा छैन । अनि मैले किन भोट दिन पाइनँ, म आफैंलाई थाहा छैन ।

अब त मेरो एउटा मात्रै इच्छा छ, मर्नु अघि भोट हालेर मरुँ । यत्तिका वर्षसम्म भोट दिन नपाउँदा अब त पाइन्न कि भन्ने पनि लाग्छ । भोट दिन नपाउने म मात्रै होइन, हाम्रो गाउँमा धेरै महिला दिदीबहिनी म जस्तै छन् । सबैलाई मलाई जस्तै भोट दिन पाएनौं भन्ने लाग्छ । हामी सबैले भोट दिन नपाएको नागरिकता नभएर हो । केहीको त नागरिकता पनि छ तर पनि किन हो उनीहरूले पनि भोट दिन पाएका छैनन् ।

कहिलेकाहीं त म मुसहर महिला भएर जन्मिएकै कारणले भोट दिन नपाएको हो कि जस्तो लाग्छ । किनकि म जस्ता धेरै मुसहर महिलाले भोट दिन पाएका छैनन् अनि आफैं चित्त बुझाउँछु । नाम नै नभए पनि चुनावको दिन भोट दिने ठाउँसम्म (मतदान केन्द्र) जान्छु । टाढैबाट अरूले भोट हालेको हेर्छु र फर्किन्छु । आफूले अहिलेसम्म दिन नपाए पनि भोट हालेका अरू दिदीबहिनीलाई कसरी भोट हाल्छन् भनेर सोध्छु ।

हाम्रो समाजमा मुसहर भनेपछि हेयको भावले व्यवहार गरिन्छ । अछूतको व्यवहार गरिन्छ । इनार र धारामा पानी लिन जाँदा रोक लगाइन्छ । यदि मेरो पनि भोट हाल्ने ठाउँमा नाम भएको भए त चुनावमा भोट माग्न आउनेलाई टोलमा किन विकास भएन, मुसहरका छोराछोरीले कहिले पढ्न पाउँछन् भनेर सोध्ने थिएँ जस्तो लाग्छ । तर, नाम नै नभएपछि हाम्रो कुरा पनि कसैले सुन्दोरहेनछ । नाम नहुनेहरूलाई त उनीहरूले खोज्दा पनि खोज्दैनन् ।

तर जुलुस, कार्यक्रममा जानुपर्‍यो भने हामीलाई खोज्दै आउँछन् । भोटमा हाम्रो नाम लेखाइदिन त नेताले पनि पर्ने हो नि ! भोट त उनीहरूलाई पनि चाहिने हो । त्यो चाहिं गर्दैनन् । अस्ति गाउँमा जुलुसमा जान भन्न आएका थिए । मैले हाम्रो नाम कहिले हुन्छ । भोट दिन कहिले पाइन्छ भनें । अर्को पटक गरिदिन्छौं भनेका छन् । त्यही भएर आज यो कार्यक्रममा हिंडेकी छु ।

यसरी पार्टीका कार्यक्रममा हिंड्दा एकछिन त रमाइलो लाग्छ । तर, के गर्नु नि भोट नै दिन नपाउने मान्छे कति हिंड्नु भन्ने पनि लाग्छ । तर, फेरि कतै हाम्रो नाम लेखाइदिन्छन् कि भन्ने आश पनि लाग्छ ।

भोट दिन कसरी पाइन्छ ? भोट दिने व्यवस्था मिलाइदिनुहुन्छ तपाईंहरू ? त्यसैका लागि आउनुभएको हो ? यसरी धेरै कुरा सोध्दा त तपाईंहरू पनि कतै भोट दिने व्यवस्था गरिदिन आउनुभएको हो कि भन्ने लागेको थियो ।

हाम्रो समस्या नेताहरूलाई सुनाइदिनुहोला । मैले कहिलेदेखि भोट हाल्न पाउँछु ? म नेपालमै जन्मिएकी, यहीं बस्ने मान्छे हुँ । माइती पनि यहीं, घर पनि यहीं तर धन–सम्पत्ति छैन भनेर मलाई किन यसरी हेलाँ गरिएको होला ? हामीलाई पनि भोट चल्ने बनाइदिनुपर्‍यो । कहिलेसम्म भोट नचल्ने भएर बस्ने हामी ?

(नेकपा एकीकृत समाजवादीको चुनावी कार्यक्रममा सहभागी हुन हिंडेकी सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ की ६२ वर्षीया सदासँग १८ चैत २०७८ मा पत्रकार मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?