+
+

पोखरामा एमालेको घोषणापत्र : ‘स्मार्ट सिटी’बाहेक पुरानैबाट कपिपेस्ट !

फेरि मेट्रो, मोनो रेलकै सपना !

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख १७ गते २०:०६

१७ वैशाख, पोखरा । घोषणापत्र अनुसार काम नगरेको भन्दै चर्को आलोचना खेपिरहेको नेकपा एमालेले २०७४ सालको योजना दोर्‍याउँदै पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको उपस्थितिमा पोखराका मेयरको उम्मेदवार कृष्ण थापा नेतृत्वको टिमको घोषणापत्र सार्वजनिक गरिएको हो ।

शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा अधिकांश बुँदा भने २०७४ सालको स्थानीय तह निर्वाचनकै घोषणापत्रको योजना समावेश छन् । केही बुँदामा सामान्य संशोधन गरिएको छ । मोनोरेलदेखि मेट्रोरेल योजनादेखि फ्लाईआभर ब्रिज, सुरुङ, ओभरहेड ब्रिजलगायतका योजनालाई पुनः दोहोर्‍याइएको छ । अघिल्लो पटक १५ पेजको घोषणापत्र अहिले बढाएर २० पेजको बनाइएको छ ।

अघिल्लो पटक मुख्य नारा दिएको ‘स्मार्ट सिटी’ शब्दलाई भने यसपटक दोहोर्‍याएको छैन । त्यसबाहेक अघिल्लो घोषणापत्र सार्वजनिक गर्नेबेला पोखरा महानगर ‘पोखरा लेखनाथ महानगर’ थियो । तसर्थ उक्त घोषणापत्रको कभरमा समग्र पोखराको नक्सा समावेश थियो । यसपटक भने मेयर उम्मेदवार कृष्ण थापा र उपप्रमुख उम्मेखवार मञ्जुदेवी गुरुङको तस्वीर राखिएको छ ।

फेरि मेट्रो, मोनो रेलकै सपना !

मानबहादुर जिसी नेतृत्वले अघिल्लो चुनावमा पोखरामा मोनो, मेट्रो रेलको सपना बाँडेको थियो । उक्त सपना ५ वर्षे कार्यकालसम्म सुरु नै भएन । मेयर जिसीले अनौपचारिक कार्यक्रममा उक्त योजना पूरा गर्न तत्काल सम्भव नरहेकै कारण नीति तथा कार्यक्रमबाट हटाएको बताउने गरेका थिए ।

तर, एमालेले शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा उक्त योजना फेरि अक्षरशः हुबहु दोहोर्‍याइएको छ । पूर्वाधार विकास क्षेत्रअन्तर्गत राखिएको उक्त योजनामा लेखिएको छ, ‘महानगरमा पर्ने मध्य पहाडी लोकममार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार पर्वद्धन गर्न प्रादेशिक तथा संघीय सरकारसँग सहकार्य गर्ने ।’

एमालेले अघिल्लो पटक उल्लेख गरेको मेट्रो टे«न, मोनोरेल योजना पनि पुनः दोहोर्‍याएको छ । अघिल्लो पटक ‘सञ्चालनमा ल्याइनेछ’ उल्लेख गरेको एमालेले यस पटक भने ‘सञ्चालन तथा अध्ययन गर्ने’ उल्लेख गरेको छ ।

त्यस्तै, पोखरा ३२ लामेआहालबाट ३३ को बाघमारा दोबिल्ला हुँदै विरौटासम्मको वैकल्पिक मार्ग योजनालाई पनि एमालेले दोहोर्‍याएको छ । हाल निर्माणाधीन उक्त सडकको स्तरोन्नति गर्ने र लामगदादी, पटनेरी, रिठेपानी, भेडीफारम, ढुंगेसाँघु, जोड्ने सडकलाई महानगरको गौैरवका योजना अन्तर्गत निर्माण गर्ने एमालेले घोषणा गरेको हो ।

त्यस्तै, एमालेले पोखरा महानगरमा व्यवस्थित बस बिसौनी, फ्लाई ओभर, साइकल लेन, ओभरहेड ब्रिज योजनालाई पनि दोहोर्‍याएको छ । पोखरामा विद्यमान सुकुम्बासी समस्या समाधान गर्न एकीकृत बस्ती बनाउने योजना पुनः दोहोर्‍याएको छ ।

‘घरजग्गा धनी पूर्जा अद्यावधिक गर्ने, वितरण कार्य नागरिकका घरदैलोमै पुर्‍याउनुका साथै विगतमा सुकुम्बासी आयोगबाट वितरित सेतो पूर्जालाई रातो पूर्जामा परिणत गरिनेछ’ शनिबार सार्वजनिक घोषणापत्रमा भनिएको छ ।

फेरि बिजुली तारलाई अन्डरग्राउन्ड !

मेयर मानबहादुृर जिसीको कार्यकालमा सबैभन्दा विवादित विषय पोखराका अव्यवस्थित तार अन्डरग्राउन्ड गर्ने योजना बनेको थियो । महानगरले ५ वर्षमा पोलका तार अन्डरग्राउन्ड गर्न सकेन नै अव्यवस्थित तारसमेत व्यवस्थापन गर्न नसकेपछि आलोचित बन्न पुगेको थियो ।

०७६ मंसिर २७ गते बिजुली पोलका तार हटाउने भन्दै चिप्लेढुंगास्थित एउटा पोलको तार काटेर अभियानसमेत सुरु गरे । तर, उक्त अभियान अघि बढ्न सकेन । पछि नीति तथा कार्यक्रमबाटै हटाइयो ।

अहिले एमालेले सोही योजना पुनः दोहोर्‍याएको छ । अघिल्लो पटक ‘तार अन्डरग्राउन्ड गर्ने’ योजना समावेश गरेकोमा अहिले ‘ग्राउन्डेड गर्न सुरु भएको द्रुत गतिमा अघि बढाउने’ उल्लेख गरेको छ । जबकी पोखरामा तार अन्डरग्राउन्ड गर्ने योजना सुरुसमेत गरेको छैन ।

त्यस्तै, घोषणापत्रमा सेती, हर्पन, मर्दी, काली, याम्दी, फुर्से, विजयपुर लगायत खोला, दोभान आदिमा आवश्यकताअनुसार पुल, पुलेसा र कजवे बनाउने योजना पनि हुबहु दोहोर्‍याएको छ । सोही नदीबाट साना जलविद्युत योजनापनि पुनः समावेश गरेको छ ।

एमालेले महानगरमा उच्चगतिको इन्टरनेट, स्वास्थ्य बिमा, फुटपाथ तथा साना पसल नियमन तथा व्यवस्थापन, गण्डकीका विभिन्न धर्म, संस्कृतिका लागि बहुसांस्कृतिक ग्राम निर्माण, महानगर चक्रपथ निर्माण लगायत विषयलाई पनि हुबहु दोहोर्‍याएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?