+
+

हामीले जितेको ठाउँलाई नमुना बनाउछौं : रवीन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते २०:०७

१९ वैशाख, विराटनगर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले जितेको क्षेत्रलाई नमुना बनाउने बताएका छन् ।

सोमबार विराटनगर महानगरपालिकाको प्रतिज्ञा पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले आफ्नो दलले जितेको पालिकालाई पाँच वर्षमा नमुना बनाउने बताएका हुन् ।

‘गएको पाँच वर्षमा स्थानीय तहमा कुनै पनि क्षेत्र देशकै नमुना क्षेत्रको रुपमा विकास भएको तपाईले देख्नुभएन, तुलनात्मक रुपमा केहीले राम्रो काम गरे, तर देशकै नमुना क्षेत्रको रुपमा विकास भएको तपाईंले देख्नुभएन,’ उनले भने, ‘हामीले जितेको क्षेत्रलाई नमुनाको रुपमा विकास गर्छाैं ।’

मिश्रले नमुना क्षेत्रको रुपमा विकास गर्न नसके अर्काे पटक भोट नहाल्न आग्रह गरे । उनले आफ्नो पार्टीले जितेमा विज्ञहरुको टोली गठन गरेर काम गर्ने बताए ।

२०७४ सालको निर्वाचनमा देशको पाँचौं ठूलो पार्टी विवेकशील साझा बनेको बताउँदै उनले विवेकशील पार्टीले जित्न नहुने कारण के भन्दै प्रश्न गरे । ‘हामी सफल हुने नै हो, यो पटक बढी आशावादी छौं’, उनले भने, ‘हामीलाई सहयोग हुन्छ ।’

परिवर्तनका लागि राजनीतिक पार्टी चाहिन्छ

अध्यक्ष मिश्रले परिवर्तनका लागि राजनीतिक दलको नेतृत्व नै आवश्यक पर्ने बताए । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति लक्षित गर्दै उनले एक जना व्यक्तिले मात्रै परिवर्तन ल्याउन नसक्ने बताए ।

‘एक जना व्यक्तिले ल्याउने तदर्थ परिवर्तनले देश रुपान्तरण हुँदैन,’ उनले भने, ‘देशको दिगो र संस्थागत परिवर्तनका लागि राजनीतिक पार्टी नै चाहिन्छ ।’

विराटनगरको एजेन्डा विद्यार्थी सञ्चय कोष

विवेकशील साझा पार्टीबाट विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवार अमलेश कर्ण र उपप्रमुखको उम्मेदवार श्रृजु पराजुलीले विद्यार्थी सञ्चय कोषको अवधारणासहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । उनीहरुले सोमबार २५ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।

पढ्दै कमाउने वातावरण सिर्जना गर्ने, युवाहरूलाई स्टार्टअप बिजनेसका लागि १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने, ज्येष्ठ नागरिकका लागि अनुभव संरक्षण शाखा बनाउने, नगरबस सञ्चालन गर्ने, चक्रपथ निर्माण गर्ने, करको दायरालाई बढाउने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, साइकलमैत्री सहर बनाउने, रात्रीकालीन व्यवसाय सञ्चालनको वातावरण सञ्चालन गर्ने विवेकशील साझाको प्रतीज्ञा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?