+
+
उम्मेदवार प्रोफाइल :

कार्यकाल दोहोर्‍याउने दाउमा रेनु दाहाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २३:४१

२७ वैशाख, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालकी माहिली छोरी रेनु राजनीतिमा योगदान भएको पात्र हुन् ।

रेनु दाहालले युद्धकालमा विद्रोही नेताको सन्तानले पाउने सास्ती मात्र खेपिनन्, पार्टीले दिएको जिम्मेवारी पनि पूरा गरिन् । उनी तत्कालीन नेकपा (माओवादी)ले २०५१ फागुनमा जनयुद्ध सुरु गरेसँगै भूमिगत भएकी थिइन् ।

२६ असार २०३३ मा चितवन, शिवनगरको भीमसेन नगरमा जन्मिएकी रेनु दाहालले माओवादीको १० वर्षे जनयुद्धभर कहिले प्रवास त कहिले देशकै विकट भूभागमा विभिन्न जिम्मेवारीमा खटिइन् । पढाइमा उनले एसएलसी उत्तीर्ण गरिन् ।

माओवादी पार्टी लडाइँ छाडेर शान्ति प्रक्रियामा आएपछि उनी जेठ २०६४ देखि जेठ २०७९ सम्म संविधानसभा सदस्यको भूमिकामा रहिन् । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भइन् ।

पार्टीको पोलिटब्युरो सदस्य र महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी पूरा गरेकी उनी त्यसपछि गृहनगर भरतपुरको मेयरमा विजयी भइन् ।

अहिले उनी मेयरमा दोहोरिने चुनावी अभियानमा छिन्, सँगसँगै विवादको केन्द्रमा पनि । उनको पुनः उम्मेदवारीलाई लिएर उठेको विवादले मुलुक तताएको छ ।

रेनुको अनुकूलता र प्रतिकूलता

पाँच वर्षअघि रेनु दाहाललाई प्रचण्डको छोरीको रूपमा बढी चित्रित गरिन्थ्यो । मेयर बनेपछि आफ्नो छुट्टै व्यक्तित्व बनेको उनको अनुभव छ । राजनीतिक पहुँचबाट प्रशस्तै केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा भित्र्याएर उपयोग गरेको उनी बताउँछिन् ।

४ वर्षमा ६१० किलोमिटर सडक कालोपत्रे, ४५० किमि ग्राभेल र केन्द्रीय बसपार्कको स्तरोन्नति तथा नारायणीमा तटबन्ध र राप्ती नदी नियन्त्रण लगायत कामले भरतपुरलाई बदलेको उनले बताइन् ।

आफ्नै कामको लोकप्रियता र गठबन्धनको साझा उम्मेदवार हुनुको बलले आफू भरतपुरको मेयरमा पुनः निर्वाचित हुने उनको आशा छ ।‘दलभन्दा माथि उठेर विकासमा ध्यान दिन तपाईं फेरि एक चोटि मेयर बन्नैपर्छ भन्ने भरतपुरवासीको मत छ’ उनी भन्छिन्, ‘त्यसैले व्यक्तिगत रहरभन्दा जनचाहनाबाट फेरि उम्मेदवार बनेकी छु ।’

यसलाई प्रचण्डपुत्री रेनुको चुनावी अनुकूलता मान्दा पनि सत्ता गठबन्धनभित्रको गडबडीले उनको पुनः उम्मेदवारीलाई नै विवादास्पद बनाएको छ । आफ्ना पिता र पार्टीको पूरा साथ भए पनि गठबन्धनको नेपाली कांग्रेसका जगन्नाथ पौडेलले पार्टी निर्णय उल्लंघन गर्दै रेनुविरुद्ध उम्मेदवारी परेको छ ।

त्यसबाहेक नेकपा (एमाले) पनि भरतपुरमा बलियो मानिन्छ । गठबन्धनभित्रको प्रमुख दल कांग्रेसभित्रको तीव्र असन्तुष्टि र एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गरेको चुनावी तालमेल रेनुका लागि चुनौती बनेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?