+
+

एक महिनामा विदेशी मुद्राको सञ्चिति २ अर्ब घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:३४

२८ वैशाख, काठमाडौं । सरकारले आयात निरुत्साहनका लागि अनेकौं प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति थप खिइँदै गएको देखिएको छ । चैत महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति २ अर्ब ८ करोड रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ बराबरको देखिएको छ । अघिल्लो महिना फागुनसम्म ११ खर्ब ७० अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति थियो ।

विदेशी मुद्रा पछिल्लो समय लगातार घट्दो क्रममा छ । यद्यपि, घट्ने दरमा भने केही कमी आएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा चैत्र मसान्तमा ५.१ प्रतिशतले घटेर १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?