+
+

वीरगञ्ज महानगरमा आजैदेखि मतगणना सुरु हुने सम्भावना कम

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आजैदेखि सुरु हुने बताए पनि वीरगञ्ज महानगरपालिकामा शनिबारदेखि मात्रै मतगणना हुने भएको छ ।

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख ३० गते १७:३१

३० वैशाख, वीरगञ्ज । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आजैदेखि सुरु हुने बताए पनि वीरगञ्ज महानगरपालिकामा शनिबारदेखि मात्रै मतगणना हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले मतगणना आजैदेखि सुरु गर्न सक्ने स्थिति नरहेको जानकारी दिएको हो ।

वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा छन् । १ सय ४३ वटा मतदान केन्द्र तोकिएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाइन्छ । मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका सुरक्षितसँग मतगणनास्थलसम्म ल्याउनुपर्ने हुन्छ । त्यसपछि सर्वदलीय बैठक बसाएर मतगणना सुरु गराउनुपर्नेहुन्छ ।

१ सय ४३ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर आजै मतगणना गराउन सम्भव नहुने मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । ‘महानगरमा १ सय ४३ वटा मतदान केन्द्र छ है, मतपेटिका संकलन गर्दै जाँदा आजदेखि गणना गर्न सम्भावना कम देखिएको छ,’ उनले भने, ‘मतपेटिका संकलन नगरी मतगणना गर्ने कुरा भएन ।’

जनशक्ति अभावका कारण निर्वाचन गराउन खटिएका कर्मचारीहरुबाटै मतगणना समेत गराउनुपर्ने बाध्यता पनि अर्को चुनौती रहेको उनको भनाइ छ । ‘मतपेटिका संकलन गर्दा नै रातिको १२/१ बज्छ । सबै थाकेको स्थिति हुन्छ,’ उनले भने, ‘गणना गर्ने मान्छे पाउन पनि गाह्रो छ, अधिकांश कर्मचारी मतदान केन्द्रमा खटिनुभएको छ । उहाँहरुलाई नै मतगणनामा परिचालन गर्नुपर्ने हुन्छ । भोलि बिहानबाट मतगणना गर्न सकिने अवस्था छ । ’

यसपटक नृसिंह माविमा मतगणना हुने

महानगरपालिकाको मतगणना गर्ने ठाउँ भने तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा मतगणनास्थल तयार गरिएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा ठाकुुरराम बहुमुखी क्याम्पसमा मतगणना गरिएको थियो ।

मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तारजाली सहितको बार लगाइएको छ । मतगणना हुने र मतपेटिका भण्डारण गर्ने सबै कोठाहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ४ वटा कोठामा मत गणना गर्ने र ५ वटा कोठामा मतपेटिका भण्डारण गर्नेगरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

‘तारजाली लगाएर तयार मतगणना स्थल तयार पारेका छौं, सिसिटीभी क्यामेरा समेत जडान भईसकेको छ ।’ उनले भने ‘४ वटा कोठामा मतगणना गर्ने र ५ वटा कोठामा मतपत्र भण्डारण गर्नेगरि व्यवस्था मिलाइएको छ । मतगणनाका लागि आवश्यक तयारी पूरा गरिसकेका छौं ।’

मतगणनाका क्रममा कुनै अवान्छित गतिविधी, गडबडी हुन नदिन निगरानीका सिसिटिभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सिसिटिभी क्यामेराबाट मतपत्रको भण्डारण क्षेत्र, गणनास्थल, उम्मेदवारका प्रतिनिधि र गणकहरुको गतविधीहरुको निगरानी हुनेछ ।

विद्युत् आपूर्ति सेवा अवरुद्ध भएको खण्डमा बैकल्पिक ऊर्जाका लागि जेनेरेटेरको समेत व्यवस्था मिलाइएको छ । मतगणनास्थलको भौतिक व्यवस्थापन वीरगञ्ज महानगरपालिकाले गरेको हो । प्रत्येक कोठामा ६÷६ जनाको दरले कुल २४ जना गणक खटाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

मतगणनास्थलको सुरक्षाका लागि स्थानीय प्रशासनले आवश्यक सुरक्षाकर्मी परिचालन गर्नेछ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?